close

साढे २ लाख रुपैयाँमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै एफडी मोटर्स

टेकपाना टेकपाना

चैत ११, २०७९ २०:५०

साढे २ लाख रुपैयाँमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै एफडी मोटर्स

काठमाडौं । एफडी मोटर्स नेपालले दुई मोडेलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो वैशाख दोस्रो सातादेखि 'एफ फाइभ' र 'एफ फाइभ ए' मोडेलका दुई इलेक्ट्रिक स्कुटर बिक्री गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले नेपाली बजारका लागि आफ्नै पहलमा स्कुटर एसेम्बल गरी बिक्री गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्कुटरमा प्रयोग भएका ब्याट्री, मोटर, टायर तथा अन्य पार्टहरू उत्कृष्ट निर्माताहरूबाट खरिद गरिएको बताउँदै उनले स्कुटरका हरेक पक्ष बलियाे रहेको दाबी गरे । साथै राष्ट्रिय आविष्कार केन्द्रका अटोमोबाइल र इलेक्ट्रिकल इन्जिनियरहरूसँग स्कुटरका लागि सहकार्य गरिएको उनले बताए ।

आगामी दिनमा भैरहवामा पूर्ण क्षमताको एसेम्बल प्लान्ट खोल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । साथै आफ्नो इलेक्ट्रिक स्कुटर बजारका अन्य कम्पनीको भन्दा निकै सस्तो र गुणस्तरीय हुने सीईओ ढुंगेलको दाबी छ ।

''हामीले स्कुटरमा बेस्ट म्यानुफ्याक्चरको बेस्ट कम्पोनेन्ट राखेका छौँ,'' उनले भने, ''हामी आफैंले एसेम्बल गर्ने र सिधै बजारमा पठाउने भएकाले मूल्य कम राखेका हौँ ।'' प्रशासनिक, शोरुम र अन्य खर्च कम हुने भएकाले लागतभन्दा धेरै नाफा लिएर स्कुटर बिक्री नगर्ने उनको भनाइ छ ।

''हामीलाई ठूला कम्पनीहरूले सस्तो मूल्यमा स्कुटर नबेच्न दबाब दिइरहेका छन् । तर हामीले सामान्य नेपालीले पनि राम्रो ईभी चढ्न पाउनुपर्छ भनेर थोरै मूल्य राख्ने निधो गरेका छौँ,'' उनले भने ।

ढुंगेलका अनुसार 'एफ फाइभ' को मूल्य साढे दुई लाख र 'एफ फाइभ ए' को मूल्य दुई लाख ९० हजारको हारहारीमा हुनेछ ।

''हामीले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिन्छ । राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको छ, उनले दाबी गर्दै भने ।

यी स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको र अधिकतम ११० किलोमिटरसम्म रेन्ज दिने उनको भनाइ छ । त्यस्तै ब्याट्री र मोटरमा तीन वर्ष वारेन्टी पाइने उनले बताए ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १२:३१