close

नेपाली कम्पनीले ल्यायो बालबालिकालाई गेम खेल्दै पढ्न सिकाउने प्लेटफर्म

टेकपाना टेकपाना

चैत १२, २०७९ १३:१

नेपाली कम्पनीले ल्यायो बालबालिकालाई गेम खेल्दै पढ्न सिकाउने प्लेटफर्म

काठमाडौं । एडटेक (शिक्षा सम्बन्धी प्राविधिक क्षेत्र) कम्पनी चिम्पभाइनले बालबालिकाहरूको लागि ई-लर्निङ प्लेटफर्म सार्वजनिक गरेको छ । शनिबार सफ्ट लन्च भएको 'चिम्पभाइन' प्लेटफर्ममा बालबालिकाले अनलाइन गेम खेल्दै आफ्नो पाठ्यक्रममा भएका सामग्री पढ्न र सिक्न सक्नेछन् ।

यो प्लेटफर्ममा सहज युजर इन्टरफेसमार्फत नर्सरीदेखि कक्षा आठसम्म नेपाली पाठ्यक्रममा आधारित मुख्य विषयहरू अध्ययन गर्न सकिनेछ ।

पछिल्लो समय बालबालिकाको आकर्षण अनलाइन गेम तथा इन्टरनेटमा बढी भएकाले यो शैली अपनाएको कम्पनीकी कार्यकारी निर्देशक साश्या पौडेलले बताइन् । "अनलाइन गेमले बालबालिकालाई बढी रचनात्मक बनाउँछ," उनले भनिन्, "त्यसैले अनलाइन गेमलाई शिक्षामा कसरी जोड्न सकिन्छ भन्ने सोच सहित हामीले यस्तो ई-लर्निङ प्लेटफर्मको अवधारणा ल्याएका हौँ ।

कम्पनीले यस प्लेटफर्ममा भएका विभिन्न गेमहरू नेपाली पाठ्यक्रममा आधारित भएको जनाएको छ । विशेषगरी अङ्ग्रेजी, गणित, सामाजिक शिक्षा, विज्ञान जस्ता प्रमुख विषय समेटिएका छन् । 

हालको लागि भने यि गेमहरू निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, चैत २२ गतेपछि भने सामान्य कोर्स बाहेक अन्य सबै कोर्स तथा फिचरमा एक्सेस पाउन शुल्क तिर्नुपर्ने हुन्छ । 

यस प्लेटफर्ममा भएका सबै फिचर प्रयोग गर्नका लागि 'एड्भान्स लेभल'को सब्स्क्रिप्सन लिनुपर्ने कम्पनीको भनाइ छ । जसका लागि मासिक दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । 

त्यस्तै 'बेसिक लेभल'को कोर्सको एक्सेस पाउन मासिक एक सय ५० रुपैयाँ शुल्क लाग्ने कम्पनीकी एसोसियट ब्रान्ड मेनेजर सोफिया गहतराजले बताएकी छिन् । 

''यो प्लेटफर्म निशुल्क प्रयोग गर्न चाहने प्रयोगकर्ताले केही सीमित फिचरमा मात्र पहुँच पाउनुहुन्छ," उनी भन्छिन्, "सामान्य भन्दा थप फिचरहरूका लागि 'बेसिक लेभल' को सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ भने सबै कोर्स तथा फिचरमा पहुँच पाउनका लागि 'एड्भान्स लेभल'को सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ ।"

यसरी गेम खेल्दै अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपको दायरा बढाउनुका साथै रचनात्मक काममा बढी सक्रिय हुने उनको भनाइ छ ।

सिकाइलाई अझै उपलब्धि मूलक बनाउन प्लेटफर्ममा गेमसँगै क्विज र फ्ल्याश कार्डहरू पनि समावेश गरिएको उनले बताइन् ।

गेम खेल्दै अध्ययन गर्नका लागि यहाँ क्लिक गरेर चिम्पभाइनको साइटमा जानुहोस् । आफ्नो अकाउन्ट बनाएर लगइन गरिसकेपछि विभिन्न क्लासको कोर्समा रहेका भिडिओ गेम खेल्न सकिन्छ । 

परीक्षण चरणमा भएकाले अहिले वेबसाइटबाटै गेम खेल्नुपर्ने हुन्छ । पूर्ण रूपमा यो प्लेटफर्म सार्वजनिक भएपछि मोबाइल एप्लिकेसन पनि ल्याउने कम्पनीको योजना छ ।  

 

 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १४:१