close

ट्वीटरका कर्मचारीलाई कम्पनीको शेयर आधा सस्तोमा दिँदै एलन मस्क

टेकपाना टेकपाना

चैत १३, २०७९ १७:५१

ट्वीटरका कर्मचारीलाई कम्पनीको शेयर आधा सस्तोमा दिँदै एलन मस्क

काठमाडौं । पाँच महिनाअघि ४४ अर्ब डलरमा ट्वीटर किनेका एलन मस्कले कम्पनीको मूल्य २० अर्ब डलर कायम गरेका छन् । शुक्रबार कम्पनीका कर्मचारीलाई ईमेल पठाउँदै ट्वीटरको मूल्य २० अर्ब डलर भएको र सोही मूल्याङ्कनमा कर्मचारीलाई स्टक अनुदान दिन चाहेको उनले उल्लेख गरेका छन् ।

मस्कका अनुसार कर्मचारीले खरिद गरेको कम्पनीको स्टक हरेक छ महिनामा बिक्री गर्न सकिनेछ । यो नीति अहिले स्पेसएक्समा लागू भइसकेको छ ।

पछिल्लो समय ट्वीटरले आम्दानी गुमाउँदै गएको छ । सन् २०२३ को सुरुवातमा कम्पनीको दैनिक आम्दानी गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको थियो । ट्वीटरका शीर्ष ५०० विज्ञापनदाताले याे प्लेटफर्मबाट विज्ञापन गराउन छाेडेपछि ट्वीटरको यस्तो अवस्था आएको हो । ट्वीटरमा जोसुकैले ब्लु टिक खरिद गर्नसक्ने भएपछि विज्ञापनदाता पछि हटेका हुन् ।

आधिकारिक अकाउन्टको नक्कल गर्दै नक्कली पेजले ट्रोल गर्न थालेपछि त्यस्ता कम्पनीको शेयरमा गिरावट आएको थियो । जसले गर्दा विज्ञापनदातालाई उक्त प्लेटफर्ममाथि विश्वास गर्न सकस परेको हो ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १७:५१