काठमाडौं । मान्नुस् तपाईंले कुनै एउटा माछाको बारेमा सोच्नुभयो । अब, आर्टिफिसियल इन्टेलिजेन्सले तपाईंले सोचेको जस्तै फोटो तयार पार्यो भने के होला ? यो कुरा कल्पना वा साइन्स फिक्सनमा मात्र सम्भव हुन्छ जस्तो लाग्न सक्छ ।
तर, हालै प्रिप्रिन्टले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा एआईको यस्तो क्षमताले तयार पारेको तस्वीर सार्वजनिक गरिएको छ । यस कार्यमा सबैभन्दा पहिले मानिसलाई कुनै जनावर वा अन्य वस्तुको तस्वीर देखाइएको छ ।
त्यसपछि उक्त तस्वीर कल्पना गर्दा मानिसहरूको मष्तिष्कले के-कस्ताे गतिविधि गर्छ भन्ने कुराको डेटा रेकर्ड गरिएको छ । र, त्यही डेटाका आधारमा एआईले मानिसको मष्तिष्कमा तयार भएका तस्वीर सिर्जना गरेको अध्ययनले देखाएको छ ।
एआईले मानिसहरूको सोचाइलाई तस्वीरको रूपमा यसरी उतारेको देख्न सकिन्छ । यो सर्वेक्षण गर्न अनुसन्धानकर्तालाई केही वर्ष लागेको छ ।
अनुसन्धानकर्ताको उक्त समूहले मानिसहरूलाई विभिन्न फोटो देखाउँछ । त्यसपछि त्यही तस्वीरलाई कल्पना गर्न भनिन्छ । मानिसहरूले कल्पना गरेका तस्वीरलाई एआईले तयार पारेको छ ।
एआईलाई मानिसले सम्झेका कुराको फोटो तयार पार्न कसरी सम्भव भयाे त ?
बिजनेस इन्साइडरले एआईमार्फत अनुसन्धानकर्ताले मानिसको मष्तिष्कमा भएका कुरालाई फोटोमा कसरी उतारे भन्ने कुराको रिपोर्ट सार्वजनिक गरेको छ । त्यसैका आधारमा हामीले उक्त परीक्षण कसरी गरियो भन्ने विषयमा जानकारी दिएका छौँ ।
सिङ्गापुरको विश्वविद्यालय स्ट्यान्डफोर्ड युनिभर्सिटी र हङकङको चाइनिज युनिभर्सिटीका खोजकर्ता यस काममा संलग्न छन् ।
परीक्षणका क्रममा खोजकर्ताले सहभागीलाई तस्वीर देखाउँदा उनीहरूको मष्तिष्कले के-कस्ता क्रियाकलाप गर्छ भन्ने कुराको डेटा सङ्कलन गरिएको छ । सहभागीबाट स्याम्पल (नमूना) सङ्कलन गरिसकेपछि उक्त टिमले एआईबाट तयार पारिएको फोटो सार्वजनिक गरेको छ ।
समग्रमा एआईले मानिसको मष्तिष्कमा भएका कुरालाई ८४ प्रतिशतसम्म बाहिर ल्याउन सकिएको एनबीसीले उल्लेख गरेको छ ।
फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एफएमआरआई) मसिनमार्फत प्राप्त मानिसहरूको मष्तिष्कको डेटा एआईलाई उपलब्ध गराएपछि यस्तो तस्वीर बाहिर ल्याउन सम्भव भएको बताइएको छ ।
अनुसन्धानकर्ताको उक्त टिम मानव मष्तिष्क स्क्यान गर्दा आएको डेटालाई बुझ्ने कार्यमा केन्द्रित थिए । यस्ता डेटालाई 'डिकोड' गरेर मानिसले के सोचिरहेको छ भन्ने कुरा पहिचान गरे ।
सोही डेटाको सहयताले तस्वीर तयार पार्ने काम क्षणभरमै सम्भव हुनेवाला थिएन । त्यसका लागि एआई टुललाई घन्टौंसम्म तालिम दिन आवश्यक थियो ।
माइन्ड-भाइस (Mind-Vis) नामक एआई मोडेललाई सुरुवाती चरणमा एक लाख ६० हजारभन्दा बढी मष्तिष्क स्क्यानको डेटासेटबाट तालिम दिइयो ।
दोस्रो चरणमा एफएमआरआई मसिनले रेकर्ड गरेको मष्तिष्कको क्रियाकलापको डेटा राखेर एआईलाई तालिम दिइयो ।
यसबाट एआई मोडेलले मष्तिष्क क्रियाकलापलाई भिजुअल इमेज फिचर (जस्तै रङ, आकार, टेक्स्चर) सँग लिङ्क गर्न सिक्यो । एनबीसीका अनुसार एआई मोडेललाई तालिम दिन प्रत्येक सहभागीको मष्तिष्क गतिविधि २० घण्टासम्म मापन गर्नुपर्ने थियो ।
मानिसको मष्तिष्कको गतिविधि अध्ययन गर्न सहभागीलाई एफएमआरआई मसिनमा राखिसकेपछि केही फोटोहरू देखाइयो । उक्त तस्वीर देखिसकेपछि उनीहरूको मष्तिष्कले के काम गर्यो भन्ने कुरालाई रेकर्ड गरियो । यति गरेपछि एआईले सहभागीको मष्तिष्कमा चलेका तस्वीरहरू तयार पार्न सकेको हो ।
यो सयौं व्यक्तिको मष्तिष्क अध्ययन गरी गरिएको परीक्षण हो । जसका लागि अनुसन्धानकर्ताले केही वर्षदेखि लगातार परीक्षण गरिरहेका थिए ।
सन् २०१९ मा फ्युचरिजमले रुसी अनुसन्धानकर्ताले गरेको परीक्षण सार्वजनिक गरेको थियो । जहाँ सहभागीलाई 'इलेक्ट्रोड क्याप' लगाउन दिइन्थ्यो । र, कुनै बस्तुको तस्बिर देखाइन्थ्यो । त्यसपछि एआफले मानिसले त्यस समयमा के देखेको छ भन्ने कुराको तस्बिर तयार पारेको थियो ।
यो प्रविधिले मानिसले सोचेका तस्बिरभन्दा निर्माण गरेका अपूर्ण छन् । त्यसैले मानिसको मष्तिष्कमा आएका तस्वीर दुरुस्तै निकाल्न अझै विकास हुनुपर्ने उक्त टिमका एक अनुसन्धानकर्ता जिजाओ चेन (Zijiao Chen)ले इन्साइडरलाई इमेलमा भनेका छन् ।
उनका अनुसार यो एआई टुललाई थप विकास गर्न सकियो भने साइकोलोजओ, न्यूरो साइन्स जस्ता मेडिकल सेक्टरमा प्रयोग गर्न सकिनेछ ।
विशेषगरी न्यूरोलोजिकल डिसअर्डर भएका व्यक्तिहरूको उपचार सम्भावित रूपमा यस प्रविधिको प्रयोग गर्न सकिनेछ । उदाहरणका लागि मौखिक रूपमा संवाद गर्न नसक्ने व्यक्तिहरूले कुराकानी गर्न सक्नेछन् ।
चेनले यही प्रविधिको प्रयोग गरी कम्प्युटरलाई सोझै सोचेको भरमा नियन्त्रण गर्न सम्भव हुने अपेक्षा गरेका छन् । यसका लागि प्रविधि थप परिस्कृत हुनुपर्नेछ । त्यसपछि मानिसहरूको माग बढ्दै जाँदा सञ्चार गर्न पनि मानिसलाई फोन वा टेलिफोन आवस्यक पर्ने छैन । मानिसले सोचेकै भरमा अन्य व्यक्तिसँग सञ्चार गर्न सक्ने उनको निष्कर्ष छ ।
यहाँ दायाँपट्टि भएका तस्वीर मानिसहरूलाई देखाइएका तस्वीर हुन् भने बायाँपट्टि भएका तस्वीर मानिसले कल्पना गरेका हुन् । यहाँ भएका तस्वीरहरूले के देखाउँछन् भने एआईले मानिसको मष्तिष्कको क्रियाकलापलाई अध्ययन गरेर फोटो तयार पार्नसक्ने भएपनि ती तस्वीर पूर्ण भने छैनन् ।