close

किन आयो ट्वीटरको लोगोमा चराको साटो कुकुर ?

टेकपाना टेकपाना

चैत २१, २०७९ ९:३३

किन आयो ट्वीटरको लोगोमा चराको साटो कुकुर ?

काठमाडौं । यदि तपाईँ ट्वीटरको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने आज केही परिवर्तन देख्नु भएको छ होला । ट्वीटरको लोगोमा निलो चरा हुने ठाउँमा आज बिहानबाट डजक्वाइनको लोगो देखिएको छ । 

कतै ट्वीटरको लोगो नै त ह्याक भएको हो कि भन्ने तपाईँलाई लागिरहेको छ भने तपाईँ गलत हुनुहुन्छ । कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगोमा चराको साटो डजक्वाइनको लोगो कुकुर राखेको हो । 

कम्पनीले आधिकारिक रुपमा नै कम्पनीको लोगो परिवर्तन गरेको हो वा डजक्वाइनको प्रचार गर्न यस्तो गरिएको हो भन्ने विषयमा केही जानकारी बाहिर आइसकेको छैन । यद्यपि एलनमस्कले भने एकजना व्यक्तिसँगको पुरानो कुराकानीको स्क्रिनसट शेयर गरेका छन् ।

चेयरम्यान ट्वीटर ह्यान्डल रहेका व्यक्तिले उनको एक ट्वीटको रिप्लाइमा 'जस्ट बाइ ट्वीटर एन्ड चेन्ज द बर्ड लोगो टु अ डज' अर्थात ट्वीटर खरिद गरेर ट्वीटरको लोगो डजसँग परिवर्तन गर्नको लागि आग्रह गरेका छन् । 
उक्त कुराकानीको स्क्रिनसट शेयर गर्दै उनले आफूले गरेको बाचा पुरा गरेको उल्लेख गरेका छन् ।

ट्वीटरको मोबाइल एप र ब्लग देखि अन्य आधिकारिक साइटहरूमा भने ट्वीटरकै लोगो देखिन्छ । डजक्वाइनको लोगो भने ट्वीटरको वेबसाइटमा मात्र देखिन्छ । यसले गर्दा पनि यो लोगो अस्थायी रुपमा मात्र राखिएको बुझ्न सकिन्छ ।

हुन त डजक्वाइन जस्ता क्रिप्टोकरेन्सीप्रति एलन मस्कको सकारात्मक धारणा रहेको आएको छ । उनले क्रिप्टोकरेन्सीलाई प्रचार पनि गर्ने गरेका छन् । तर यो पटक भने ट्वीटरको लोगोसँग उनले किन साटे डजक्वाइनको लोगो भन्ने विषयमा कुनै स्पष्ट जानकारी भने छैन ।      

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ ९:३३