close

किन हरायो एकताकाको विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड ‘फिलिप्स’ ?

टेकपाना टेकपाना

चैत २२, २०७९ १४:२२

किन हरायो एकताकाको विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड ‘फिलिप्स’ ?

काठमाडौं । ‘पहिलेका रेडियो, टेप वा अन्य विद्युतीय उपकरण त कति टिकाउ हुने हगि ?’ हामीमध्ये धेरैले यो भनाइ त सुनेका नै छौं होला । अहिलेका आधुनिक उपकरणहरू त्यति टिकाउ र भरपर्दो हुँदैनन्, जति पहिलेका थिए । हो, त्यही समयमा प्रविधिको क्षेत्रमा राज गर्ने कम्पनी थियो, फिलिप्स ।

फिलिप्सले सन् १९७० को दशकतिर निर्माण गरेका रेडियो, टेलिभिजन, आइरन, टेप रेकर्डर, क्यासेट हामी वा हामीभन्दा अघिल्लो पुस्ताले पक्कै प्रयोग गरेकाे छ । कतिपयले त फिलिप्सका डिभाइसबाहेक अन्य खरिद गर्दै नगर्ने सोच बनाएका हुनसक्छन् । तर, यो कम्पनी अबको एक दशकमा कङ्गाल हुने अवस्थामा छ ।

अहिले बजारमा जति पनि फिलिप्सका उत्पादन छन्, सबै कम्पनी आफैंले निर्माण गरेको नै होइन । यसो त सन् २०१० मा फिलिप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एल्विन डी भल्कले मिडियामा आफ्नो कम्पनी अब उप्रान्त हाइ-टेक (उच्च प्रविधि) कम्पनी नभएको घोषणा गरेका थिए ।

केही दशकअघि विश्वकै ठूलो प्रविधि कम्पनीका रूपमा रहेको फिलिप्सका शीर्ष व्यक्तिले त्यस्तो मन्तव्य दिनुमा गलत छ भन्ने धेरैलाई लागेको थियो । कुनै समय सामसङ, सोनी र एलजीजस्ता कम्पनी फिलिप्सको पछिपछि थिए ।

यही कम्पनीले तयार पारेको जस्तै विद्युतीय उपकरण बजारमा ल्याउँथे । तर, पनि फिलिप्सलाई पछि पार्न सकेका थिएनन् । एक हिसाबले भन्नुपर्दा फिलिप्सले प्रविधिका हरेक क्षेत्रमा राज गर्न सफल भएको थियो । यो कम्पनी यति ठूलो थियो कि, सन् १९८० काे दशकमा यस कम्पनीले विश्वभरका तीन लाख ५० हजार बढीलाई रोजगारी दिएको थियो ।  

विद्युतीय बल्बदेखि रेडियो डिभाइस निर्माणमा विश्वभर राज गरेको यस कम्पनीले अधिकांश प्रविधिका क्षेत्रमा हात हालेको थियो । विशेषगरी क्यासेट, रेडियो, सीडी, डीभीडी जस्ता उपकरणको व्यावसायिक निर्माण गर्ने यो कम्पनी अहिलेका सेमिकन्डक्टर चिप निर्माता कम्पनी एसएमएल र टीएसएमसीकी जन्मदाता पनि हो ।

अहिले पनि फिलिप्सका थुप्रै विद्युतीय उकरण बजारमा पाइन्छन् । तर, जति यो ब्रान्डका डिभाइस छन्, ती उत्पादन फिलिप्सका होइनन् । यसका पछाडिको कारण तल खुलाइएको छ ।

अहिले पनि आइरन, कफी मसिन, रेजर, भ्याकुम क्लिनर जस्ता घरायसी प्रयोजनका लागि प्रयोग हुने डिभाइसमा फिलिप्सको ब्रान्डिङ देख्न सकिन्छ । यसका लागि कम्पनीले अरुले निर्माण गरेका डिभाइसमा आफ्नो ब्रान्डिङ मात्र राखेको हो ।

कुनै समय इलेक्ट्रोनिक्स इन्टस्ट्रिमा राज गरेको यो कम्पनीले टाँट पल्टिने अवस्था आएपछि आफ्नो प्रमुख व्यवसाय 'विद्युतीय सामग्री निर्माण' नै बिक्री गरेको छ । त्यति मात्र नभई कम्पनीले आफ्ना जे-जस्ता व्यवसाय सुरु गरेको थियो, सबै आफ्ना 'प्रतिद्वन्द्वी'लाई बिक्री गरिसकेको छ ।

कम्पनी अहिले आफैंले विद्युतीय रेजर र विद्युतीय टुथ ब्रश मात्र उत्पादन गर्छ । जसले कम्पनीको व्यवसायमा १५ प्रतिशत मात्र योगदान दिएको छ । यो रकमले कम्पनीको बजार मूल्यमा यति कम योगदान दिएको छ कि, सन् २०२३ मा सामसङको बजार मूल्य २१८ अर्ब युरो पुग्दा फिलिप्स १५ अर्ब युरोमा सीमित छ । 

विद्युतीय उत्पादनलाई प्रभावकारी रूपमा बजारमा ल्याउन चुकेपछि कम्पनीले सन् २०१३ मा आफ्नो नामबाट नै 'इलेक्ट्रोनिक्स' शब्द हटाएको थियो । भन्नलाई कम्पनीले आफ्नो व्यवसाय स्वास्थ्य क्षेत्र र विद्युतीय उपकरण निर्माण क्षेत्रमा सक्रिय भएकाले उक्त शब्द हटाइएको बताएको छ । तर, भित्री राज भने फरक छ । 

कम्पनीले सुरु गरेको सेमिकन्डटरको व्यवसाय पनि पूर्ण रूपमा असफल भइसकेको छ, जसले गर्दा कम्पनीका सीईओले दिएको मन्तव्य सान्दर्भिक नै लाग्छ । 

प्रविधिका हरेक क्षेत्रमा राज गरेको यो कम्पनी नै विद्युतीय रेजर (हेयर ट्रिमर) तयार पार्ने पहिलो कम्पनी हो । अहिले यो कम्पनीले यति दयनीय अवस्थामा पुगेको छ कि, केही वर्षपछि कम्पनी कङ्गाल भएको समाचार बाहिर आउनेछ । 

१३० वर्षको विरासत भएको कम्पनी कसरी यस्तो अवस्थामा पुग्यो ?

कम्पनीले कस्ता रणनीति अपनाएको थियो, जसले यस कम्पनीलाई कङ्गाल हुने अवस्थासम्म पुर्‍यायो ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ ।

वास्तवमा प्रयोगकर्ताको मागअनुसार चल्न नसक्नु र अव्यवस्थित ढङ्गले कम्पनी सञ्चालन हुनुले कम्पनी यस्तो अवस्था आएको हो । यसको विस्तृत घटना बुझ्न हामी सन् १८९१ को दशकमा फर्किनुपर्छ ।    

सन् १८९१ मा गेरार्ड फिलिप्स र उनका बाबु फेड्रिक फिलिप्सले एउटा यस्तो कम्पनी सञ्चालन निर्णय गरे, जो साना लाइट बल्ब बनाउने कार्यमा केन्द्रित होस् । उनीहरूले विभिन्न खोज तथा अध्ययन गरेर बल्बमा केन्द्रित कम्पनी स्थापना गरे ।

उनीहरूले आफ्नो कम्पनीको लोगोमा पनि बल्बको चिन्ह राखेर व्यवसाय बल्बबाट सुरु भएको सङ्केत दिएका छन् । पछि कम्पनीको व्यवसाय बढ्दै गएपछि त्यस लोगोमा रेडियो वेभको सङ्केत पनि समावेश गरियो ।

कम्पनीले बल्ब बनाउँदा त्यसको गुणस्तरलाई बढी प्राथमिकता दिएको थियो । जसले गर्दा बल्बको बजारमा फिलिप्सको नाम अगाडि आउन थाल्यो । फिलिप्सले तयार पारेको बल्बको आयु धेरै थियो । यसले बजारमा आएका अन्य कम्पनीलाई मारमा पारिरहेको थियो ।  

त्यस बखतको चर्चित कम्पनी फोइबस कार्टेल, टङ्ग्सराम, जेनेरल इलेक्ट्रिक, ओएस र्‍यामले फिलिप्ससँग सहकार्य गरेर बल्बको आयु घटाउने र मूल्य बढाउने सहमति जनाए । यसअन्तर्गत बल्बको आयु हजार घण्टामा सीमित पारियो । यसबाट अन्य व्यवसायीलाई फाइदा पुग्नुपर्ने, तर पनि यहाँ फिलिप्सलाई नै बढी फाइदा भयो । 

यही सफलताले गर्दा कम्पनी त्यस समयमा विश्वकै सर्वाधिक बढी बल्ब निर्माण गर्ने कम्पनी बन्यो । बल्बको व्यवसायले कम्पनीलाई यति फाइदा दियो कि, फिलिप्सले अन्य विद्युतीय उपकरण निर्माण गर्न सुरु गर्‍याे ।

केही वर्ष फिलिप्सको व्यापार राम्रै भइरहेको थियो । तर, त्यही समयमा कैयौं कम्पनी फिलिप्सको जस्तै बल्ब बनाउन थाले । जसले गर्दा १८९५ मा कम्पनीको बल्बको बिक्री कम हुन थाल्यो । र, कम्पनी घाटामा गयो ।

कम्पनीलाई फाइदामा ल्याउन गेरार्डले आफ्ना भाइलाई पनि व्यवसायमा आबद्ध बनाए । त्यसपछि सन् १९२० मा दुई भाइले कम्पनीलाई बहुराष्ट्रिय प्रविधि कम्पनीका रूपमा स्थापित गरे । त्यस समयमा उनीहरूले भ्याकुम ट्युब जस्ता कैयौं डिभाइसहरू बनाएका थिए ।

भ्याकुम ट्युबलाई अझ स्तरीय बनाउन उक्त कम्पनीले 'मुलार्ड' र 'भल्भो' जस्ता कम्पनीलाई अधिग्रहण गर्‍यो । त्यसपछि कम्पनीले पुनः बजारमा आफ्नो प्रभुत्व जमाउन थाल्यो ।

फाइदा हुँदै गएपछि सन् १९२७ मा कम्पनीले धेरै टाढाको दूरीसम्म सिग्नल प्रसारण गर्ने आफ्नै शर्ट वेभ रेडियो स्टेसन निर्माण गर्‍यो । यसबाट अन्तर्राष्ट्रिय कार्यक्रमहरू प्रसारण हुन थाले । त्यही समयमा उक्त रेडियोबाट आउने कार्यक्रम 'ह्याप्पी स्टेसन' निकै चर्चित बन्यो । यसले गर्दा कम्पनीले सन् १९३० मा बजारमा आफ्नै रेडियो डिभाइस सार्वजनिक गर्‍यो ।

फिलिप्सको यही डिभाइसले पनि चर्चा पाउन थाल्यो । यो व्यवसाय राम्रो हुँदै गएपछि त्यसको तीन वर्ष अर्थात् सन् १९३३ मा उक्त कम्पनी सर्वाधिक बढी रेडियो डिभाइस निर्माण गर्ने कम्पनी बन्यो । 

यसरी कम्पनीले बजारमा नयाँ-नयाँ उत्पादन ल्याएर आफ्नो व्यवसाय विस्तार गरिरेको थियो । त्यही बेला (सन् १९३९) दोस्रो विश्वयुद्ध सुरु भयो । फिलिप्स रहेको देश नेदरल्यान्डमा एडल्फ हिट्लरले प्रमाणु बम विस्पोट गराउने खबर बाहिरिएपछि फिलिप्सलाई बचाउन नेदरल्यान्ड छोडेर कम्पनी अन्यत्रै सार्नुपर्ने थियो । 

यसअन्तर्गत कम्पनीलाई नेदरल्यान्डबाट दक्षिण अमेरिकामा सारियो । विश्व युद्ध सकिएपछि कम्पनी पुनः नेदरल्यान्डमै ल्याइयो र सन् १९५० मा कम्पनीले फिलिप्स रेकर्ड डिभाइस बजारमा ल्यायो । यो डिभाइस सीडीको एक ठूलो रूप थियो । त्यसबेला यो डिभाइस नयाँ भएकाले बजारमा राम्रै प्रभाव पर्‍याे । 

यो डिभाइसबाट फाइदा भएपछि त्यसको केही समयपछि फिलिप्सले आफ्नै टीभी फ्याक्ट्रीको स्थापना गरेको थियो । यससँगै कम्पनीले घरायसी उपकरणहरू पनि निर्माण गर्न थाल्यो । फिलिप्सले जेजस्ता डिभाइस बजारमा ल्यायो त्यो सबै बजारमा निकै रुचाइयो । 

सन् १९९५ मा कम्पनीले सेमिकन्डक्टरको नयाँ व्यवसाय सुरु गर्‍यो । तर, सुरुवातमै कम्पनीको यो व्यवसाय बजारमा असफल साबित भयो । किनभने फिलिप्सले जति पनि सेमिकन्डक्टर बजारमा ल्याएको थियो, त्यसमध्ये अधिकांशले राम्रोसँग काम गरेका थिएनन् ।

यसरी बजारबाट नकारात्मक प्रतिक्रिया आउन थालेपछि कम्पनीले आफ्ना सबै सेमिकन्डक्टर फिर्ता ल्यायो । यसबाट कम्पनीलाई ठूलो मात्रामा घाटा बेहोर्नुपर्‍यो ।

यो समस्यालाई कम्पनीले जसोतसो व्यवस्थापन गरेको थियो । पछि सन् १९६३ मा कम्पनीले टेप रेकर्डरको निर्माण सुरु गर्‍यो । कम्पनीले बजारमा थुप्रै किसिमका क्यासेट तथा टेप रेकर्डर डिभाइसहरू ल्यायो । ती डिभाइस सुरुवातमा राम्रै चलेपनि विस्तारै यसको व्यवसाय ठप्प हुँदै गयो ।

किनभने १९६० मा एलजी र १९६९ मा सामसङ बजारमा आइसकेका थिए । यी कम्पनीले फिलिप्सको घरायसी डिभाइसको व्यवसायलाई विस्तारै कब्जा गर्न थालेका थिए । दुवै कोरियन कम्पनीले ग्राहकलाई सस्तो मूल्यमा अत्याधुनिक प्रविधिबाट निर्माण भएका डिभाइसहरू उपलब्ध गराउन थाले ।

त्यसबाहेक पनि यी दुई कम्पनीको बजारी रणनीति भिन्नै थियो । उनीहरूले आफ्ना डिभाइस नयाँ पुस्तालाई लक्षित गरेर ल्याइरहेका थिए ।

यसरी बजारमा आएका नयाँ प्रतिद्वन्द्वीले भिन्नै किसिमको रणनीति अपनाउन थालेपछि कम्पनीले आफ्नो व्यवसायलाई नयाँ तरिकाले अघि बढाउने योजना बनायो ।

फिलिप्सले अन्य विभिन्न उत्पादन बजारमा ल्याइसकेको थियो, ब्रान्डको प्रभाव पनि राम्रै थियो । यसले गर्दा सन् १९७० देखि १९८० सम्म कम्पनीले आफ्नो प्रभुत्व कायम नै राखेको थियो ।

यही अवधिमा कम्पनीले पीसी (पर्सनल कम्प्युटर) प्रयोग गर्ने प्रयोगकर्ताका लागि सी-क्यासेट ल्याउन थाल्यो । यस्ता क्यासेटलाई मानिसहरूको आवश्यकता अनुसार घटाउन वा बढाउन सकिन्थ्यो ।

पहिले ठूलो स्वरुपमा रहेका क्यासेटलाई विस्तारै मिनी र पछि माइक्रो क्यासेटका रूपमा बजारमा ल्याइयो । यस्ता क्यासेटले धेरै डेटा भण्डारण गर्न सक्थे । विशेषगरी ठूला कार्यक्रममा भिडिओ रेकर्ड गर्न यस्ता क्यासेटको प्रयोग गरिन्थ्यो ।

तर, फिलिप्सको यो व्यवसाय पनि त्यति राम्रो भइरहेको थिएन । आफ्नो व्यवसायलाई अझ विस्तार गर्न कम्पनीले स्वास्थ्यसँग सम्बन्धित डिभाइस निर्माण गर्ने उद्योग स्थापना गर्‍यो । र, डिभाइसहरू निर्माण गर्न थाल्यो ।

कम्पनीमा अहिले स्वास्थ्य सेवासँग सम्बन्धित उपकरण निर्माण गर्ने उद्योगका रूपमा मात्र अगाडि छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा प्रयोग हुने डाइबिटिज नाप्ने मसिनदेखि एमआरआई गर्ने मेसिनमा फिलिप्सकै प्रभुत्व छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित डिभाइसहरू निर्माण गर्न थालेसँगै कम्पनीले 'फिलिप्स एन १५०० क्यासेट रेकर्डर बजारमा ल्यायो । यसका माध्यमबाट एक पटकमा ३० देखि ४० मिनेटसम्मको रेकर्ड गर्न सकिन्थ्याे ।

पछि सोनीले 'सोनी बेटाम्याक्स' नामक क्यासेट रेकर्डर सार्वजनिक गर्‍यो । यसले फिलिप्सको डिभाइसलाई पछाडि पार्‍यो । त्यसपछि योसँग प्रतिस्पर्धा गर्न फिलिप्सले 'फिलिप्स एन १७००' सार्वजनिक गर्‍याे, जसले दुई घण्टासम्मको भिडिओ रेकर्ड गर्न सक्थ्यो ।

तर, यस्ता डिभाइसले बजारमा राम्रो प्रभाव पार्न सकेनन् । किनभने त्यस समयमा यस्ता क्यासेटको माग घट्न थालेको थियो ।

कम्पनीले यति धेरै क्षेत्रमा लगानी गर्नका लागि बाहिरबाट ऋण लिएको थियो । जसबाट सुरुवातमा व्यवसाय राम्रै भइरहे पनि पछि व्यवसाय खस्किँदै गयो । कम्पनीले एकातर्फ आफूले लिएको ऋण तिर्न सकिरहेको थिएन भने अर्कोतर्फ ब्याज पनि बढिरहेको थियो ।

यस्तो अवस्था आउँदा कम्पनीले आफ्नो व्यवसाय बेच्नुपर्ने बाध्यता आइलाग्यो । कम्पनीले जति व्यवसायमा लगानी गरेको भएपनि 'लाइटिङ' र 'हेल्थ केयर डिभाइस'को व्यवसायबाहेक अरु ठप्प थिए । त्यसपछि कम्पनीले यी दुई व्यवसाय आफूसँग राखेर अन्य व्यवसाय बिक्री गर्ने निर्णय गर्‍यो । 

कम्पनीले सन् २००६ मा आफ्नो सेमिकन्डक्टरको व्यवसाय 'एनएक्सपी' कम्पनीलाई बिक्री गर्‍यो । त्यसपछि सन् २०११ मा फिलिप्सले हङकङमा अवस्थित टीपीभी टेक्नोलोजीसँग सहकार्य गरेर नेदरल्यान्डमा टिभी उत्पादन गर्न जोइन्ट भेन्चर सुरु गर्‍याे, जसको नाम 'टिपी भिजन' राखियो ।

यसमा फिलिप्सको ३० प्रतिशट शेयर थियो भने ७० प्रतिशत टीभीपी टेक्नोलोजीको शेयर थियो । तर, पछि सन् २०१४ मा कम्पनीले बाँकी ३० प्रतिशत शेयर पनि टीपीभी कम्पनीलाई बिक्री गर्‍यो ।

यसबाट कम्पनीले आफ्नो टेलिभिजनको व्यवसाय सबै गुमायो । कम्पनीले सन् २०१३ मा अडियो भिजुअल व्यवसाय 'Funai' नामको जापानी कम्पनीलाई २० करोड युरोमा बिक्री गर्‍यो, जसमा उक्त कम्पनीले आगामी पाँच वर्षसम्म फिलिप्सकै ब्रान्डिङ गरेर सामग्री बिक्री गर्नुपर्ने थियो ।

त्यस्तै सन् २०१८ मा कम्पनीले आफ्नो लाइटिङको व्यवसायलाई घरायसी उपकरणको व्यवसायबाट छुट्यायो र दुई फरक व्यवसायमा परिणत गर्‍यो ।

यसमा कम्पनीले आफ्नो लाइटिङ व्यवसायलाई फिलिप्स इलेक्ट्रोनिक्सबाट बदलेर 'सिग्निफाइ एनभी' राख्यो । अहिले सिग्निफाइकै नामबाट कम्पनीले बल्ब बिक्री गरिरहेको छ ।  

त्यस्तै सन् २०२१ मा कम्पनीले आफ्नो घरायसी उपकरणको व्यवसाय हिल हाउस कम्पनीलाई बिक्री गर्‍यो । यहाँ 'फिलिप्स डाेमेस्टिक'को नाम बदलेर 'भर्सुनी' राखियो ।

अहिले बजारमा पाइने अधिकांश फिलिप्सका घरायसी उपकरण हिलहाउस नै निर्माण गर्छ । तर, ब्रान्डका लागि भने फिलिप्सले कम्पनी बिक्री गर्दा आगामी १५ वर्षसम्म फिलिप्सकै नाम राखेर सामग्री बिक्री गर्नुपर्ने सर्त राखेको थियो, जसले गर्दा अहिले पनि बजारमा फिलिप्सका घरायसी उपकरणहरू खरिद गर्न सकिन्छ ।

कम्पनीले अहिले आफूले धानिरहेको भनेको मेडिकल लाइनमा उपयोग गरिने उपकरणको व्यवसाय मात्र हो । यसमा पनि कम्पनीलाई खासै फाइदा भइरहेको छैन । यसको प्रत्यक्ष असर कम्पनीको शेयरमा परेको छ ।

सन् २०२१ मा कम्पनीको प्रति शेयर मूल्य ५०.८३ युरो थियो भने अहिले घटेर (५ अप्रिल २०२३ सम्म ) घटेर १६.७९ युरो पुगेको छ ।

कम्पनी २०२१ मा फाइदामा जानुको पछाडि कोभिडको हात थियो । कम्पनीको अधिकांश लगानी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपकरणमा थियो र त्यस समयमा मानिसहरू कोभिडबाट सङ्क्रमित बनेका थिए । तर, कोभिडको महामारी कम भएसँगै कम्पनीको आम्दानी पनि कम हुँदै गएको छ ।

यसरी फिलिप्स पछाडि पर्नुको कारण कम्पनीले नयाँ प्रविधि आत्मसात् नगर्नु रहेको बताइएको छ । जुन समयमा आईफोन र आईपड बजारमा आएका थिए, त्यही समयमा फिलिप्स परम्परागत डिभाइस निर्माण गर्ने काममा केन्द्रित थियो । उसलाई बजारमा नयाँ के आइरहेका छ वा बजारले नयाँ के मागेको छ भन्ने कुराको केही चासो थिएन ।

बरु कम्पनी आफ्नै ध्यानमा सीडी क्यासेट निर्माण गर्न अर्बौं डलर खर्चिरहेको थियो । बारम्बार गलत ठाउँमा अर्बौँ लगानी गर्दा कम्पनी आफ्ना फाइदा हुने व्यवसाय गुमाइरहेको थियो ।  

अन्य ब्रान्डहरू बजारमा नयाँ नयाँ किसिमका स्मार्टफोन तथा स्मार्ट डिभाइस ल्याउन सङ्घर्ष गरिरहेका थिए । यता फिलिप्सलाई स्मार्टफोनको वास्ता नै थिएन । 

फिलिप्स पूर्ण रूपमा असफल साबित हुनुका पछाडि यी प्रमुख कारणहरू रहेको मानिन्छ:

-   आफ्ना उत्पादनलाई छुट्टै पहिचान दिन नसक्नु,

फिलिप्स असफल हुनुको प्रमुख कारण हो, आफ्ना उत्पादनलाई छुट्टै पहिचान दिन नसक्नु । उदाहरणका लागि फिलिप्सले निर्माण गरेको आइरन र भ्याकुम क्लिनर जस्ता डिभाइस सिङ्गापुरमा चर्चित थिए ।

कम्पनीले यी दुई उत्पादनलाई बढी प्राथमिकता नदिएर टेलिभिजन, टेप रेकर्डर आदिमा ध्यान दियाे । यी उत्पादनबाट सुरुवातमा केही फाइदा भएपनि कम्पनीलाई पछि भने घाटा लाग्दै गयो । त्यसैले आफ्नो कुनै एक उत्पादनलाई गुणस्तरीय बनाउन नसक्दा कम्पनी असफल बन्न पुग्याे । 

-     उपभोक्तालाई पछ्याउन नसक्नु

कम्पनीले आफ्नो उत्पादनलाई बजारमा टिकाइराख्न उपभोक्ताको रुचिलाई पनि आत्मसात् गर्नुपर्छ । कुनै समय सही ढङ्गले चलिरहेको व्यवसाय छ भने पनि उपभोक्ताको रोजाइ वा मागलाई बुझ्न ढिलाइ गरियो भने कम्पनी आफ्ना ग्राहक गुमाउँदै जान्छ । यो ठ्याक्क फिलिप्ससँग मिल्दोजुल्दो छ ।

जुन समयमा मनोरञ्जनका क्षेत्रमा ग्राहकलाई सहज, गुणस्तरीय र स्मार्ट डिभाइस आवश्यक परेको थियो, त्यो समयमा कम्पनी आफ्नै परम्परागत डिभाइसमा लगानी गरिरह्यो ।

उपभोक्तालाई नयाँ के चाहिन्छ भन्नेमा कामै नगरेको भन्ने पनि होइन । तर, नयाँ काम गर्दा पनि बजारमा भइरहेको भन्दा तल्लो स्तरको उत्पादन ल्याउँदा व्यवसाय चलायमान हुन सकेन ।

त्यसभन्दा पनि उपभोक्तालाई के चाहिन्छ भन्ने कुराभन्दा पनि कस्तो चाहिन्छ भन्नेमा कम्पनी केन्द्रित हुन नसक्दा यस्तो अवस्था आएको देखिन्छ ।

यसमा उदाहरण दिएरै हेरौं, जब फिलिप्सले बजारमा क्यासेट ल्याएको थियो, त्यस समयमा सोनीले सीडी ल्याइसकेको थियो । क्यासेटको तुलनामा सीडीमा आकारमा सानो थियो र त्यसमा बढी डेटा स्टोर गर्न सकिन्थ्यो । त्यसैले पनि सोनीको सीडी बढी रुचाइयो ।

त्यस्तै फिलिप्सले धेरैपछि मात्र बजारमा एलसीडी टिभी ल्याएको थियो । बजारमा अरुले ल्याएको भन्दा पृथक उत्पादन ल्याउन नसक्दा कम्पनी यस्तो अवस्थामा पुगेको हो । 

-   नवीनतम प्रविधि प्रयोगको अभाव

प्रविधिलाई समयमै आत्मसात् गर्न नसक्नु पनि फिलिप्सको कमजोरी थियो । जस्तै बजारमा सीआरटी टेलिभिजन माग बढेकाे बेला एलजीले सस्तो मूल्यमा स्तरीय फोटो क्वालिटी भएको सीआरटी टेलिभिजन ल्याइसकेको थियो ।

त्यही समयमा एलजी एलसीडीमा पनि काम गर्न थालिसकेको थियो । यहाँ फिलिप्स एलसीडीमा काम अगाडि नबढाएर सीआरटीमै बढी केन्द्रित थियो । यसले गर्दा कम्पनीले आफ्नो टिभीको व्यवसाय अगाडि बढाउन सकेन ।

पछि अडियो तथा भिडिओ स्मार्टफोनमै भण्डारण गर्न सकिने भयो । त्यसबेला पनि कम्पनी एसडी कार्ड बनाउनुभन्दा सीडी र डीभीडीमै बढी केन्द्रित थियो । यसरी समयको माग अनुरूप अगाडि बढ्न नसक्दा कम्पनी असफल बन्याे । 

-   नयाँ डिजाइनलाई लागू गर्न नसक्नु

मानिसलाई हरेक पटक नयाँ केही अनुभव गर्ने चाहना हुन्छ । त्यसैले मानिस नयाँ कुराहरू खोजिरहेको हुन्छ । सोनी र एलजी बजारमा आएको बेला नयाँनयाँ डिजाइन ल्याएर युवालाई आकर्षण गरिरहेका थिए ।

यस्ता डिजाइनका सामग्री फिलिप्सको तुलनामा बढी आकर्षक देखिन्थे । फिलिप्स भने सधैं उही किसिमको डिजाइनमा केन्द्रित थियो ।

फिलिप्सले आफ्ना उत्पादनको डिजाइनमा परिवर्तन ल्याउन नसक्दा कम्पनीका प्रमुख डिजाइनर सिन कार्नीले राजीनामा दिएका थिए । 

मार्केटिङ गर्ने क्षमताको अभाव

नाम बनाउने बित्तिकै उत्पादन आफैं बिक्री हुन्छ भन्ने भ्रम भएको फिलिप्सले मार्केटिङमा त्यति काम गरेन । सुरुवातमा फिलिप्स मात्र हुँदा यो भ्रम केही हदसम्म ठीकै थियो ।

तर, बजारमा सामसङ, एलजी जस्ता प्रतिद्वन्द्वी आइसकेपछि कम्पनीको यो रणनीतिले काम गरेन । सामसङ र एलजीको मार्केटिङको तरिका निकै आकर्षक र समयानुकूल थियो । जसले युवालाई बढी केन्द्रित गरेको थियो ।

यसरी नवीनतम प्रविधिको प्रयोग गरी आफ्ना उत्पादनलाई बजारमा ल्याउनाले सामसङ, एलजी, साेनीजस्ता कम्पनी बजार कब्जा गर्न सफल भए ।

 एउटा प्रमुख उत्पादनमा केन्द्रित हुन नसक्नु

फिलिप्सले अनेकौं क्षेत्रमा हात हाल्दा उसको सबै व्यवसाय धराशयी स्थितिमा पुगेको मानिन्छ । जुन समयमा फिलिप्स बल्ब मात्र उत्पादन गरेर बिक्री गरिरहेको थियो, त्यो समयमा फाइदामा थियो । बजारमा नयाँ-नयाँ उत्पादन ल्याइरहने, तर नयाँ उत्पादनलाई त्यसभन्दा पछि परिमार्जन वा नयाँ स्वरूप ​नदिनाले कम्पनीको सबैजसो व्यवसाय धरापमा परे ।

आफूले पहिले नै बजारमा ल्याएका प्रविधिलाई अत्याधुनिक वा भनौं स्मार्ट बनाउनुको सट्‍टा फिलिप्स नयाँ उत्पादनको भार थपिरह्यो । यसले गर्दा फिलिप्स यो उत्पादनका लागि परिचित भएन । अहिले पनि फिलिप्स कुनै पनि उत्पादनको 'मार्केट लिडर' बन्न सकेको छैन ।

 कमजोर रणनीति

फिलिप्सका सीईओ आफ्ना सबै व्यवसाय एकै ठाउँमा ल्याउन चाहन्थे । जसले गर्दा निर्णय लिने सवालमा केही समस्या नहोस् । र, व्यवसायलाई सही ढङ्गले चलायमान बनाउन सकियोस् ।

किनभने फिलिप्समा हरेक वर्गका उत्पादनका लागि छुट्‍टै व्यवसाय थियो । र निर्णय लिने कुरा पनि छुट्‍टै किसिमले निर्णय लिइन्थ्यो ।

यस्तो हुँदा कम्पनीभित्र आपसी प्रतिस्पर्धा हुन थाल्यो । यसरी फिलिप्स कैयौं कर्मचारी हुँदा पनि विभिन्न भागमा विभाजन भयो । विभाजन हुँदा फिलिप्स बाँकी कम्पनीहरूलाई टक्कर दिन असफल भयो ।

असक्षम टिम

फिलिप्समा हरेक वर्गका उत्पादनका लागि छुट्टाछुट्टै व्यवसाय थियो । यस्तो हुँदा निर्णय लिने काम पनि अलग रूपले हुन थाल्यो । यसमा फरक फरक व्यक्तिहरू संलग्न हुन्थे । यो अवस्थामा कर्मचारी धेरै हुँदा पनि सही ढङ्गले निर्णय लिन कम्पनी चुकिरहेको थियो ।

तर, यता सोनीसँग फिलिप्सभन्दा कम कर्मचारी थिए । कम कर्मचारी हुँदा पनि निर्णय लिने काममा ऐक्यबद्धता हुँदा सोनी सफल हुन पुग्यो ।

यसरी पटक पटक असफल हुँदा कुनै समय संसार नै राज गर्ने अवस्थामा पुगेको कम्पनी दयनीय अवस्थामा पुगेको छ । स्टाटिकाका अनुसार कुनै समय चार लाख बढी कर्मचारी रहेको कम्पनीमा २०२२ मा ७७ हजार २३३ जना कर्मचारी थिए ।

 

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ १४:२२