close

एसईईका विद्यार्थीलाई डेटा र भ्वाइससहित टेलिकमको निःशुल्क सिम

टेकपाना टेकपाना

चैत २३, २०७९ १३:५१

एसईईका विद्यार्थीलाई डेटा र भ्वाइससहित टेलिकमको निःशुल्क सिम

काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि लक्षित गर्दै 'एसईई २०७९ अफर' ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिमका साथ 'बोनस अन रिचार्ज प्याक' उपलब्ध गराउने छ ।

 चैत २४ शुक्रबारदेखि उपलब्ध हुने यो अफर तीन महिनासम्म सञ्चालन हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । यस्ताे सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुने बताइएको छ ।

सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु. १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् ।

साथै एक महिनासम्म जम्मा ४० मिनेट अन-नेट कल गर्न, ६० एमबी डेटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी 
डेटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डेटा, ६०० मिनेट टकटाइम र ३०० ओटा एसएमएसको सुविधा प्राप्त हुनेछ । 
 
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १३:५१