close

अमेरिकामा सार्वजनिक चार्जिङ स्टेसनमा फोन चार्ज नगर्न चेतावनी

टेकपाना टेकपाना

चैत २८, २०७९ ९:१५

अमेरिकामा सार्वजनिक चार्जिङ स्टेसनमा फोन चार्ज नगर्न चेतावनी

काठमाडौं । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले सर्वसाधारणलाई सार्वजनिक स्थलमा आफ्नो फोन चार्ज नगर्न चेतावनी दिएको छ ।   

केही गलत नियत भएका व्यक्तिहरूले सार्वजनिक स्थलबाट मालवेयर फैलाउने काम गरिरहेकाले एफबीआईले हालै उपभोक्ताहरूलाई निशुल्क सार्वजनिक चार्जिङ स्टेसनहरू प्रयोग नगर्न चेतावनी दिएको हो । 

अहिले ह्याकरहरूले सार्वजनिक चार्जिङ स्टेसनलाई संक्रमित गरी प्रयोगकर्ताको फोन, ट्याब्लेट वा कम्प्युटरमा मालवेयर इन्स्टल गर्ने गतिविधि बढ्दै गएको कारण एफबीआईले यस्तो चेतावनी दिएको जनाएको छ ।  

"विमानस्थल, होटल वा बजारहरूमा उपलब्ध निशुल्क चार्जिङ स्टेसनहरू प्रयोग नगर्नुहोस्," एफबीआईको डेनभर फिल्ड अफिसले पोस्ट गरेको ट्वीटमा उल्लेख छ,  "खराब नियत भएका केही व्यक्तिहरूले डिभाइसमा मालवेयर र निगरानी राख्न सकिने सफ्टवेयर इन्स्टल गर्नको लागि सार्वजनिक यूएसबी पोर्टहरू प्रयोग गर्ने तरिका पत्ता लगाएका छन् । तपाईँको आफ्नै चार्जर वा यूएसबी कर्ड प्रयोग गर्नुहोस् ।"

पछिल्लो समयमा नेपालमा पनि सार्वजनिक चार्जिङ स्टेसनको अभ्यास बढ्दै गइरहेको छ । यद्यपि यसको प्रभावकारितासँगै आउने जोखिमको विषयमा भने खास केही अध्ययन हुन सकेको छैन । समय-समयमा यस्ता विषयहरूमा छलफल हुने गरे पनि नीतिगत तहबाट भने कुनै कदम चालिएको छैन । 
 

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ ९:१५