काठमाडौं । विद्युतीय खरिद प्रणालीमा प्राविधि समस्या आउँदा बोलपत्र नै रद्द गर्नुपर्ने अवस्था रहेको पाइएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औँ प्रतिवेदनको सारांशले यस्तो समस्या औँल्याएको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ मा एउटा मात्र पोर्टल रहने गरी विद्युतीय खरिद प्रणाली स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था छ । उक्त प्रयोजनका लागि विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ समेत कार्यान्वयनमा छ ।
तर २०७८/७९ मा कूल बोलपत्र सङ्ख्या २४ हजार ९४४ मध्ये ९२६ बोलपत्र रद्द भएको उल्लेख छ । हालसम्म विद्युतीय प्रणालीबाट प्रकाशित ८४ हजार ६९८ बोलपत्र मध्ये तीन हजार ४३७ बोलपत्र रद्द भएका छन् ।
विद्युतीय खरिद प्रणालीमा समस्या आउँदा प्रयोगकर्ताको पहुँचमा अवरोध आउने गरेको छ । जसले गर्दा बोलपत्रको म्याद थप गर्नुका साथै रद्द गर्नुपर्ने अवस्था समेत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसबाट खरिद कारबाहीमा ढिलाइ हुने गरेको छ ।