close

अब ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता ओटीटी अनिवार्य नेपालमा दर्ता हुनुपर्ने, यस्तो बन्यो कार्यविधि मस्यौदा

टेकपाना टेकपाना

बैशाख ११, २०८० १८:४७

अब ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता ओटीटी अनिवार्य नेपालमा दर्ता हुनुपर्ने, यस्तो बन्यो कार्यविधि मस्यौदा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता ओभर द टप (ओटीटी) सेवाहरूलाई नियमनमा ल्याउने तयारी थालेको छ । प्रविधिको विकाससँगै लोकप्रिय बन्दै गएका यस्ता एपलाई कानूनी दायरामा ल्याउन प्राधिकरणले ओटीटी कार्यविधि मस्यौदा तयार पारेको हो ।

नयाँ कार्यविधिले कुनै पनि ओटीटी सेवाप्रदायकको कम्पनी नेपालमा नै दर्ता हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै विदेशी कम्पनीको हकमा भने नेपालमा शाखा कार्यालय खोल्नुपर्ने अथवा कुनै मध्यस्थ कम्पनीलाई सेवा प्रवाहको अनुमति दिनुपर्ने नियम प्रस्तावित गरिएको छ ।

यस्तै कनेक्टिभिटी र सेवाहरूबीचको अन्तरनिर्भरतालाई बढावा दिँदै सकेसम्म ओटीटी प्रदायक र दूरसञ्चार सेवा प्रदायकहरू सहकार्य गर्ने व्यापारिक मोडेल अवलम्बन गर्न पनि यो कार्यविधिले छुट दिएको छ ।

उपभोक्ता संरक्षणको हकमा भने सेवाप्रदायकले ग्राहकको सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै नेटवर्क सुरक्षा र डेटा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने कार्यविधि मस्यौदामा उल्लेख छ ।

त्यस्तै सेवाप्रदायकले ग्राहक संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्नुपर्ने र छिटो अनि सुरक्षित सेवा प्रवाहका लागि नेपालभित्रै कन्टेन्ट डेलिभरी नेटवर्क खोल्नुपर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।

साथै सेवाप्रदायकले आफ्ना ग्राहकसँग सम्बन्धित सूचनाहरू भने आधिकारिक निकायलाई दिनुपर्ने नियम पनि मस्यौदामा उल्लेख छ । प्रविधिको विकाससँगै उपलब्ध नयाँ-नयाँ सेवाहरू खपत गर्न पाउनु उपभोक्ताको अधिकार हो ।

नयाँ सेवासँगै नियामक असन्तुलन, सुरक्षा खतरा, सरकारी कर, दूरसञ्चार सेवाप्रदायकको आम्दानी लगायतका विषयहरूको कुरा पनि उठ्ने गर्छ । यही कुरालाई सम्बोधन गर्न प्राधिकरणले ओटीटी नियमन कार्यविधिको मस्यौदा तयार पारेको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै सरोकारवालाहरूबाट मस्यौदा उपर १५ दिनभित्र राय तथा सुझावहरू माग गरेको छ । तपाईंले पनि [email protected] वा [email protected] मा ईमेल गरी अथवा प्राधिकरणमा फोन तथा फ्याक्स मार्फत मस्यौदामाथि आफ्ना सुझाव दिन सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १५:३५