close

कोभिडमा उदाएको क्लबहाउस दयनीय अवस्थामा

टेकपाना टेकपाना

बैशाख १६, २०८० ९:४८

कोभिडमा उदाएको क्लबहाउस दयनीय अवस्थामा

काठमाडौं । कोभिड-१९ महामारीमा चर्चा पाएको अडियो प्लेटफर्म क्लबहाउस अहिले दयनीय अवस्थाको सामना गरिरहेको  छ । ५० प्रतिशत कर्मचारी कटौती गर्ने कम्पनीकाे पछिल्लाे घोषणाले क्लबहाउस आफ्नो अस्तित्व टिकाउन संघर्ष गरिरहेको थप पुष्टि हुन्छ ।

सन् २०१९ को अन्त्यतिर सुरु भएको कोभिड महामारीले सिङ्गो विश्व नै ठप्प पारेको थियो । भौतिक व्यापार व्यवसाय बन्द भएका थिए । कोभिडबाट संक्रमित एवं मृत्यु हुनेकाे संख्या बढ्दो थियाे । त्यस्तो अवस्थामा मनोरञ्जन र भर्चुअल गफगाफकाे गतिलाे विकल्प आवश्यक थियो ।

हरेक क्षेत्रका मानिस रमाइला कुराहरू सुन्न पर्खिरहेका थिए । त्यस्तै लगानीकर्ता पनि यस्तो प्लेटफर्मको खोजी गरिरहेका थिए, जसले मानिसहरूको चिन्तालाई कम गर्न सकोस् । वा भनौं मनोरञ्जन दिन सकोस् ।

त्यो समयले पनि एउटा यस्तै सामाजिक सञ्जालको खोजी गरेको थियो । जसले मानिसहरूलाई ज्ञान, मनोरञ्जन दिएर चिन्ताबाट मुक्त बनाओस् । त्यही बेला क्लबहाउसको उदय भयो ।

यो एउटा त्यस्तो प्लेटफर्म बन्यो, जसले मानिसहरूलाई विभिन्न शीर्षक जस्तै खेलकूद, प्रविधि, विज्ञान, फेसन तथा अन्य विभिन्न प्रविधिसँग सम्बन्धित विषयमा भएको छलफल सुन्ने अनुमति दियो । आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका मानिसहरूले अनुभव साट्ने प्लेटफर्म भए ।

जोकोहीले आफ्नो रुचिको क्षेत्रबारे तमाम् कुराहरू बुझ्ने अवसर पाए । हरेक वर्ग तथा मानिसहरूमा यो एपको लोकप्रियता बढ्दै गएको थियो । यो प्लेटफर्म यति चर्चित बन्यो कि, सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग लगायत दिग्गज कम्पनीका संस्थापक तथा कर्मचारीहरू पनि त्यसमा जोडिए ।

पछि  क्लबहाउसको फिचरलाई आत्मासात गर्दै ट्वीटरले पनि ‘स्पेस’ नामको फिचर सार्वजनिक गरेको थियो । अप्रिल २०२० मा सार्वजनिक भएको क्लबहाउसले सुरुवाती समयबाट बजारमा राम्रो प्रभाव पारिरहेको थियो ।

एक हिसाबले भन्नुपर्दा क्लबहाउस कोभिड महामारीको भाइरल एप नै थियो । जनवरी २०२१ मा एन्ड्रिसेन भेन्चर फर्मका संस्थापक एन्ड्रेसेन होरिविट्जले सो प्लेफर्मको भ्यालुएसन एक अर्ब डलर बनाउन १० करोड डलर लगानी गरे ।

२०२१ को मध्य अप्रिलमा क्लबहाउको डाउनलोड १४.२ मिलियन पुगेको थियो । २०२१ को अन्त्यतिर कोभिडको महामारी कम हुँदै गयो । विभिन्न क्षेत्रमा ठप्प रहेको अर्थतन्त्र पनि चलायमान हुन थाल्यो । त्यसपछि सबै कुराहरू पहिलेकै अवस्थामा आए ।

कोभिड महामारीमा शेयर मूल्य आकासिएका प्लेटफर्म जस्तै जुम र पेलोटन (Peloton) को मूल्य पनि घट्दै गयो । यस्तोमा स्वाभाविक रूपमा पनि क्लबहाउको शेयर मूल्य पनि घट्दै गयो ।

छोटो समयमै सम्पूर्ण हिसाबले शिखर चुमेको क्लबहाउसको अस्तित्व धराशयी बन्दै गयो । कम्पनीका सह-संस्थापकले बिहीबार एक ब्लग सार्वजनिक गरेका छन्, जसमा कम्पनीले साङ्केतिक रूपमा आफूलाई पहिलेकै अवस्थामा लैजान कर्मचारी कटौती गर्नुपरेकाे बताएका छन् ।

"कोभिडपछिको संसार खुलेको छ । प्रायः मानिसहरूलाई क्लबहाउसमा आफ्ना साथी भेट्टाउन र लामो कुराकानी गर्न गाह्रो भएको छ," सह-संस्थापक पल डेभिसन र रोहन सेठले लेखेका छन्, "संसारमा यसको भूमिका पत्ता लगाउन, उत्पादन विकास गर्न आवश्यक छ । यसका लागि परिवर्तनको अवधि चाहिन्छ ।"

पछिल्लो समय प्रविधि कम्पनीले कर्मचारी कटौती गर्ने समाचार नौलो कुरा होइन । बजारको अर्थतन्त्र अनुसार आफ्नो कम्पनीलाई अस्तित्वमा राख्नई-कमर्श, सफ्टवेयर तथा सामाजिक सञ्जालका कम्पनीले कर्मचारी कटौती गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीका अनुसार २०२१ मा ६०० बढी प्रविधि कम्पनीले एक लाख ८४ हजार बढी कर्मचारीलाई रोजगारीबाट निकालेका थिए । त्यस्तै सन् २०२२ मा एक हजार बढी कम्पनीले एक लाख ६५ हजार रोजगारी कटौती गरेको तथ्याङ्क छ ।

विभिन्न प्लेटफर्मभन्दा क्लबहाउसको अवस्था अनिश्चित बनेको थियो । बजार तातेको बेला २०२१ को अन्तिमतिर कम्पनीको शेयरमूल्यले उकालो लागे पनि कोभिड महामारी कम हुँदै जाँदा कम्पनीको मूल्य लगातार खस्किँदै गएको छ ।

त्यसबेला क्लबहाउस मात्र नभई ठूला कम्पनी जस्तै; स्ट्राइप र क्यान्भाको शेयरमूल्यमा पनि ठूलो गिरावट आएको थियो । यी कम्पनीहरूको शेयर मूल्यमा ह्रास आए पनि आर्टिफिसियल इन्टेलिजेन्सलाई आत्मसात् गर्ने कम्पनी जस्तै; ओपनएआईको च्याटजीपीटीले बजारमा राम्रै प्रभाव पारिरहेको छ । बजारमा क्लबहाउस विलीन हुँदै गइरहेको भएपनि कम्पनीलाई चलायमान राख्न पर्याप्त पुँजी भएको संस्थापकको दाबी छ । 

“सानो टिम भयो भने कम्पनी आफ्नो प्रमुख काममा केन्द्रित हुने र कामको गति बढ्ने कुरामा हामी विश्वस्त छौं,” ब्लगपोस्टमा लेखिएको छ, “यसले हामीलाई छिट्टै नै उत्पादनको अर्को विकास सुरु गर्न मद्दत गर्नेछ ।” 

कामबाट निकालिएका कर्मचारीलाई कम्पनीले अगस्ट अन्तिमसम्म तलब र स्वास्थ्य सुविधा उपलब्ध गराउने बताएको छ । कम्पनीमै रहने कर्मचारीका लागि पनि यो परिस्थिति कठिन हुने कम्पनीले उल्लेख गरेको छ ।

“तपाईंहरू आफूसँगै काम गर्ने कर्मचारीलाई बिदाइ मात्र गरिरहनु भएको छैन । कम्पनीमा आफ्नो भविष्य पनि अनिश्चित भएको अनुभव गरिरहनु भएको हुनसक्छ । हामी तपाईंहरूको भविष्य सुनिश्चित गर्नका लागि परिवर्तन गर्न खोजिरहेका छौं,” कम्पनीले आफ्ना कर्मचारीलाई सम्बोधन गर्दै ब्लगपोस्टमा लेखेको छ । 

कम्पनीका सह-संस्थापक डेभिसन र सेठका अनुसार उनीहरू क्लबहाउस २.० परियोजनामा काम गरिरहेका छन् । उक्त प्लेटफर्म आफ्ना साथी तथा परिवारको आवाज सुन्न र एक आपसमा महत्त्वपूर्ण कुरा गर्नका लागि उपयुक्त बाटो बन्ने उनीहरूको भनाइ छ । 

सबैभन्दा पहिले सफल हुन, यस्ता कम्पनीले भविष्यमा आउने बाधाहरूलाई नजरअन्दाज गरेका हुन्छन् । विभिन्न सेवा दिएर पहिले विशाल दर्शकहरूलाई आकर्षित गर्छन् । यसपछि विज्ञापन, सदस्यता वा भर्चुअल सामानहरूको संयोजनमार्फत आम्दानीका आधारहरू तयार पार्छन् ।

यस्तोमा प्रयोगकर्तालाई उनीहरूको सेवा अपरिहार्य नहुन सक्छ । जसले गर्दा कम्पनीका रणनीति असफल हुन्छन् । त्यस्तै बजारमा उदाएका ट्वीटर, लिङ्क्डइन र स्पोटिफाईका अडियो एपका कारण पनि क्लबहाउसको अवस्था दयनीय भएको विश्लेषण गरिएकाे छ ।

क्लबहाउसको उतारचढावले के सन्देश दिन्छ भने भाइरल एप सीमित अवधिका लागि मात्र तातिन्छन् । त्यसपछि विस्तारै सेलाउँदै जान्छन् । यस्तोमा कि अरूले उनीहरूको शैली कपी गर्छन् वा सधैं लोकप्रिय रहिरहन सक्दैनन् । जसले गर्दा उनीहरूको व्यवसाय धरापमा पर्ने गर्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० १०:१८