काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई र लोकप्रिय मेसेजिङ एप टेलिग्रामबिच एक महत्त्वपूर्ण साझेदारी भएको छ । यो साझेदारी अन्तर्गत एक्सएआईले आफ्नो च्याटबट ग्रोकलाई टेलिग्रामको प्लेटफर्ममा एक वर्षसम्मका लागि एकीकृत गर्नेछ ।
यस सम्झौताका लागि एक्स एआईले टेलिग्रामलाई ३०० मिलियन डलर अर्थात् करिब ४१ अर्ब रुपैयाँ नगद र इक्विटी (शेयर) को रूपमा भुक्तानी गर्नेछ । टेलिग्रामका सीईओ पावेल दुरोभले मङ्गलबार यो जानकारी दिएका हुन् ।
सम्झौताअनुसार टेलिग्रामले आफ्नो एपमार्फत् खरिद गरिएका एक्सएआई सब्सक्रिप्सनहरूबाट प्राप्त हुने आम्दानीको ५०% हिस्सा पनि पाउनेछ । यसअघि, ग्रोक च्याटबट टेलिग्रामका प्रिमियम प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो । अब, यो सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने सम्भावना छ ।
दुरोभले पोस्ट गरेको एक भिडिओ अनुसार ग्रोकलाई टेलिग्रामका च्याटहरूको माथि पिन गर्न सकिनेछ । प्रयोगकर्ताहरूले सर्च बारबाट पनि सिधै ग्रोकलाई प्रश्न सोध्न सक्नेछन् । मेटाले पनि इन्स्टाग्राम र ह्वाट्सएपमा मेटा एआईलाई सर्च बारमा एकीकृत गरेको छ । टेलिग्राममा ग्रोकलाई पनि त्यसैगरी प्रयोग गरिनेछ ।
ग्रोकले टेलिग्रामभित्र विभिन्न कामहरू गर्न सघाउने छ । यसले लेख्नका लागि सुझाव दिने, च्याट, लिंक र डकुमेन्टको सारांश बनाउने तथा स्टिकर बनाउने काममा सहयोग गर्नेछ । यसका साथै, ग्रोकले बिजनेसहरूलाई प्रश्नहरूको जवाफ दिन र प्लेटफर्ममा मोडरेसनमा पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
यो साझेदारीले टेलिग्राम प्रयोगकर्ताहरूलाई सिधा एप भित्रै एक्सएआईको ग्रोक च्याटबटका एड्भान्स फिचरहरूमा पहुँच प्रदान गर्नेछ ।