close

ट्वीटरमा लेख पढ्न अब शुल्क तिर्नुपर्ने

टेकपाना टेकपाना

बैशाख १८, २०८० १७:३३

ट्वीटरमा लेख पढ्न अब शुल्क तिर्नुपर्ने

काठमाडौं । ट्वीटरले आफ्नो प्लेटफर्ममा आर्टिकल वा समाचार राख्ने संस्था वा व्यक्तिले आम्दानी गर्न सक्ने फिचर ल्याउँदैछ । 

ट्वीटरका मालिक एलन मस्कले एक ट्वीट गर्दै आगामी महिना यो फिचर सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

यो फिचर अन्तर्गत ट्वीटरमा आर्टिकल (लेख) प्रकाशन गर्ने व्यक्ति वा मिडियाले प्रयोगकर्ताबाट हरेक क्लिक बापत सीमित शुल्क लिएर आम्दानी गर्न सक्नेछन् । 

विशेषगरी वेबसाइटमा राखिएका लेखको लिङ्क ट्वीटरमा शेयर गरेपछि उक्त लिङ्क क्लिक गरे बापत प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ । 

यसमा प्रत्येक लेख अनुसार छुट्टै शुल्क तिर्नुपर्ने वा मासिक सब्स्क्रिप्सन लिएर लेखहरू पढ्न सकिने व्यवस्था हुने मस्कले बताएका छन् ।  

कुनै व्यक्ति वा मिडियाले राखेका लेख सधैं नपढ्ने तर कहिलेकाँही मात्र पढ्न रुचाउनेहरूले प्रति लेख शुल्क तिर्न सक्नेछन् भने सधैं आर्टिकल पढ्न रुचाउनेहरूले मासिक शुल्क तिर्न सक्नेछन् । कम्पनीको यो रणनीतिले मिडिया सङ्गठन र पाठक दुवैलाई फाइदा हुने मस्कको विश्वास छ ।

यो फिचरले कसरी काम गर्छ भन्ने कुराको विवरण बाहिर आएको छैन । मस्कले भने आगामी महिना यो फिचर आउने उल्लेख गरेका छन् । सम्भवतः ‘मे’ महिनाको अन्तिममा वा जुनको सुरुवातमा यो फिचर सार्वजनिक हुनेछ । 

यसअघि मिडिया वा विशेष व्यक्तिले आफ्नो ट्वीट सीमित प्रयोगकर्तालाई देखाए बापत शुल्क लिने गरेका थिए । जसलाई कम्पनीले ‘सुपर फलोज’ (Super follows) नाम दिएको थियो । तर, यो फिचरलाई हटाएर कम्पनीले अब सब्स्क्रिप्सन फिचर ल्याएको छ । 

यसअन्तर्गत प्रयोगकर्ताले सेलिब्रेटी वा मिडियाका विशेष ट्वीट हेर्नका लागि उनीहरूलाई सब्स्क्राइब गरेको हुनुपर्छ । सब्स्क्राइब गर्नका लागि अडियन्सले केही शुल्क तिर्नुपर्ने हुन्छ । मस्कले भने यो फिचर प्रयोग गर्ने क्रियटरबाट ट्वीटरले १२ महिनासम्म कुनै शुल्क नलिने घोषणा गरेका छन् ।

यसैलाई परिष्कृत गरेर नयाँ फिचर आउने हो वा पूर्ण रुपमा नयाँ फिचर आउने हो भन्ने विषयमा भने कुनै जानकारी आइसकेको छैन । 

पछिल्लो समय कम्पनीले आफ्नो आम्दानी बढाउनका लागि यस्ता प्रिमियम फिचरहरू ल्याइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८० १७:३४