close

एआईले तयार पार्‍यो रेडियो कार्यक्रम, गरियो १३ घन्टासम्म प्रसारण

टेकपाना टेकपाना

बैशाख १९, २०८० १७:५८

एआईले तयार पार्‍यो रेडियो कार्यक्रम, गरियो १३ घन्टासम्म प्रसारण

काठमाडौं । स्विजरल्याण्डको एक रेडियो स्टेसनले एआईबाट उत्पादित कार्यक्रम प्रसारण गरेकाे छ । ‘कुलर थ्री’ नामकाे रेडियाे स्टेसनले गत अप्रिल २७ मा एआईबाट उत्पादित कार्यक्रम १३ घण्टासम्म प्रसारण गरेकाे हाे ।

उक्त कार्यक्रममा समाचार बुलेटिनबाहेक अन्य शो (कार्यक्रम) एआईले सञ्चालन गरेकाे बताइएकाे छ । मानिसकाे संलग्ननता बिना बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म प्रसारण गरिएको कार्यक्रममा च्याटजीपीटी र अन्य एआई टेक्स्ट जेनेरेटरबाट स्क्रिप्ट तयार पारिएको थियो ।

त्यस्तै एल्गोरिदमबाट साङ्गीतिक कार्यक्रम र चलचित्र निमार्ण गर्ने एक कम्पनीले पाँच जना होस्ट (कार्यक्रम सञ्चालक) को आवाज क्लोन गरेको थियो । साथै हरेक २० मिनेटमा सो कार्यक्रम एआईद्वारा तयार पारिएको जानकारी दिइएको थियो ।

एआई र भविष्यमा विकास गरिने यसका अन्य एप्लिकेसनको शक्ति र कमजोरीहरू पत्ता लगाउनु सो कार्यक्रमको उद्देश्य रहेको कुलर थ्री रेडियो स्टेसनले जनाएको छ ।

उक्त परीक्षणबाट आफ्नो उद्देश्य पूरा भएको रेडियो स्टेसनले उल्लेख गरेकाे छ । परीक्षणपछि एआईको उपयोगिता धेरै भएको, तर मानिसमा हुने रचनात्मकता र भावनालाई प्रतिस्थापन गर्न नसक्ने निष्कर्ष निकालिएकाे छ ।

त्यस्तै उक्त परीक्षणबारे श्रोताहरूले धारणा लिन स्टेसनले ह्वाट्सएपमा एउटा फोरमसमेत होस्ट गरेको थियो । त्यहाँ श्रोताले टेक्स्ट र अडियोमा प्रतिक्रिया दिन सक्थे । सो फोरममा सहभागीबीच एआईले मानिसलाई प्रतिस्थापन गर्न सक्छ/सक्दैन भन्ने कुरामा नै बहस भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १७:५८