close

भारतको टेलिफोन सेवामा जुमको प्रवेश, युनिफाइड लाइसेन्स पाएसँगै सेवा विस्तारको तयारी

टेकपाना टेकपाना

बैशाख २१, २०८० ११:५७

भारतको टेलिफोन सेवामा जुमको प्रवेश, युनिफाइड लाइसेन्स पाएसँगै सेवा विस्तारको तयारी

काठमाडौं । भिडिओ कन्फरेन्सिङ सेवा दिने कम्पनी जुमले भारतीय बजारका लागि दूरसञ्चार सेवाको लाइसेन्स हात पारेको छ । यससँगै अब जुमले भारतमा दूरसञ्चार सेवा दिने बताइएको छ । 

जुम भिडिओ कम्युनिकेसनले आफ्नो वेबसाइटमार्फत लाइसेन्स हासिल गरेको पुष्टि समेत गरेको छ । जियो, एयरटेल र भोडाफोन इन्डिया भारतका तीन ठूला दूरसञ्चार सेवाप्रदायक हुन् । 

विशेषगरी छिमेकी देश भारतको टेलिकम बजारमा जियोको दबदबा छ । तर अब यी तिनै कम्पनीलाई कडा टक्कर दिन जुम उत्रिएको छ ।  

वेब कन्फ्रेन्सिङ कम्पनी जुम भिडिओ कम्युनिकेसन्सले अल/प्यानसहितको युनिफाइड लाइसेन्स पाएको हो । यससँगै कम्पनीले भारतमा इन्टरप्राइज ग्राहका लागि टेलिफोन सेवा प्रदान गर्नेछ । 

अमेरिकामा आधारित जुम कम्पनीले पहिलेदेखि एप तथा वेबसाइटमा आधारित भिडिओ तथा भ्वाइस कल सेवा प्रदान गर्दै आएको छ । कम्पनीले भारतको दूरसञ्चार विभागबाट प्राप्त गरेको युनिफाइड लाइसेन्समा इन्टरनेसनल लङ डिस्टेन्स (आईएलडी) र नेसनल लङ डिस्टेन्स (एनएलडी) को सेवा समेत समावेश छ । 

यो लाइसेन्सको सहयोगमा कम्पनीले भारतमा सञ्चालित व्यवसायहरू तथा एमएनसी (मल्टिनेसनल कर्पोरेसन) का लागि क्लाउडमा आधारित प्राइभेट ब्रान्च एक्सचेञ्ज (पीबीएक्स) सेवा 'जुम फोन' उपलब्ध गराउनेछ । कम्पनीहरूले जुम फोनको सहयोगमा आफ्ना कर्मचारीहरूसँग उचित तरिकाले काम गर्न सक्ने जुमले बताएको छ ।

साथै यसबाट ग्राहकको अनुभवमा समेत सुधार हुनेछ । पीबीएक्स क्लाउडमा आधारित एउटा लोकल टेलिफोन एक्सचेन्ज हो, जसले कम्पनीहरूलाई विश्वका अन्य भागमा रहेका कर्मचारीहरूसँग सञ्चारका लागि एउटा माध्यमको रुपमा काम गर्छ । 

जुमले यस किसिमको सेवाका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेको छ । जसमार्फत कम्पनीले विभिन्न ४७ देशमा फोन नम्बर सहित कलिङ प्लानहरू उपलब्ध गराउँदै आएको छ ।  

जुम फोनमा इन्टेलिजेन्ट कल राउटिङ, अटो अटेन्डेन्स, इन्टरयाक्टिभ भ्वाइस रेस्पोन्स, उपस्थितिका लागि साझा लाइन, कल क्यु, कल एनालिटिक्स, भ्वाइसमेल, रेकर्डिङ तथा ट्रान्सक्रिप्सन, डेस्कटप तथा मोबाइल एप अनुभवमा सुधारका साथै सीआरएम एप्लिकेसनहरूको इन्टिग्रेसन गर्न सकिने फिचरहरू समेत छन् । 

"दूरसञ्चार विभागबाट युनिफाइड लाइसेन्स प्राप्त गर्दा हामी एकदमै रोमाञ्चित र गौरवको महसुस गरिरहेका छौं । जुम फोनको साथमा भारतमा रहेका व्यवसायहरू तथा एमएनसीहरूले लचिलो काम गर्ने वातावरणको सहयोग पाउन सक्नेछन् ।

यसले कर्मचारीहरूबीचको सहकार्य अभिवृद्धि गर्नेछ र ग्राहकको अनुभवमा स्तरोन्नति हुनेछ," जुम भिडिओ कन्फरेन्सिङका लागि भारत तथा सार्क क्षेत्रका प्रमुख एवम् महा प्रबन्धक समीर राजीले भनेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० ११:५७