close

एप्पल वाचले यसरी बचायो महिलाको ज्यान

टेकपाना टेकपाना

बैशाख २५, २०८० १६:३९

एप्पल वाचले यसरी बचायो महिलाको ज्यान

काठमाडौं । एप्पल वाचले एक महिलाकाे जीवन बचाएको घटना बाहिरिएकाे छ । सामाजिक सञ्जाल रेडइटकी एक प्रयोगकर्ताले एप्पल वाचका कारण आफ्नी आमाको ज्यान बचेकाे दाबी गरेकी हुन् ।

रेडइटमा Xanderpy (सानडर्पी) युजरनेम भएकी प्रयोगकर्ताले बिहीबार एक पोस्ट गर्दै एप्पल वाचले आफ्नी आमाको ज्यान बचाएको घटना सार्वजनिक गरेकी छन् । ​सानडर्पीका अनुसार उनकी आमा व्यापारिक भ्रमणका लागि फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल सहर गएकी थिइन् ।

घुम्न गएका बेला उनी आफ्ना सहकर्मीसँग एक होटेलमा बसेकी थिइन् । होटेलमा आफ्नो कोठामा बसिरहँदा एक्कासि उनको छाती दुख्न थाल्यो ।

अस्वाभाविक रूपमा छाती दुख्न थालेपछि उनले सोही होटेलमा रहेकी आफ्नो अर्को साथीलाई मेसेज पठाएर कोठामा आउन अनुरोध गरिन् । मेसेज पठाएलगतै उनी ढलिन् ।

मेसेज पाएको केही मिनेटपछि उनकी साथी कोठामा आइन् । कोठामा पुग्नासाथ उनले आफ्नो साथी ढलेको देखिन् । उनी ढले पनि उनको हातको स्मार्टवाचबाट ९११ (इमर्जेन्सी नम्बर) मा कल गएको थियो । उनले साथीलाई उठाउँदा उठाउँदै एम्बुलेन्स बाटोमा आइसकेको थियो ।

त्यसपछि एम्बुलेन्सका मान्छे र बिरामी महिलाका साथीले उनलाई अस्पताल पुर्‍याए ।

"मेरी आमाको मुटुको धमनी फुटेको रहेछ," रेडइटमा सानडर्पीले लेखेकी छन्, "आमाको अवस्था यति खराब भइसकेको थियो कि, उहाँलाई बचाउन जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्ने थियो ।"

अस्पताल पुर्‍याएपछि चिकित्सकले उपचार तथा शल्यक्रियाका काम अगाडि बढाए । त्यसको केही दिनपछि सानडर्पीकी आमाको होस् खुल्यो । होस् आएपछि जब उनलाई एप्पल वाचमा ९११ मा कल गरेको हो वा होइन भनेर सोधियो । उनले आफूले साथीलाई मेसेज गरेको र त्यसपछि केही थाहा नभएको उत्तर फर्काइन् ।

"यसबाट महिला ढलेर हलचलै नगरेपछि इमेर्जेन्सी नम्बरमा कल गरेको कुरा पत्ता लगायौं," उनले रेडइटमा लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, "मैले स्मार्टफोन तथा स्मार्टवाचमा आएका प्रविधिका कारण मानिसहरूको ज्यान बाँचेको घटना पढेकी थिएँ । तर, त्यो बेला मलाई ती घटना केबल चर्चाका लागि राखिएका हुन् भन्ने लाग्थ्यो । अहिले मेरो सोचाइ पूर्ण रूपमा परिवर्तन भइसकेको छ । एप्पल प्रविधिले म र मेरो परिवारलाई ठूलो उपकार गरेको छ । एप्पलको यही फिचरले मलाई एप्पलको जीवनभरको प्रयोगकर्तासमेत बनाएको छ । र, यसले मानिसको जीवन कसरी बचाउन सक्छ भन्ने कुरालाई दर्शाएको छ ।"

उनको पोस्टमा एक कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, "तिम्री आमा धेरै नै भाग्यमानी हुन् । मैले एउटा तथ्याङ्क हेरेको थिएँ, जहाँ महाधमनी फुटेका १५ प्रतिशत मानिसहरू मात्र बाँचेकाे उल्लेख थियो । तिम्री आमा बाँचेको खबरले म खुसी भएको छु । वास्तवमै एप्पलको प्रविधि मानव जीवनका लागि वरदान साबित भएको छ । म जन्मिँदै 'स्पाइन बिफड' रोगले ग्रसित थिएँ । मलाई हिँड्न छडीको सहायता चाहिन्छ । हिँड्दा हिँड्दै सन्तुलन बिग्रिएर म कहिलेकाहीँ लड्छु । त्यस्तो अवस्थामा मेरो एप्पल वाचले केही अवस्थामा मेरी श्रीमतीलाई र केही अवस्थामा इमर्जेन्सी नम्बरमा कल गरेर सहयोग गरेको छ । मेरो हातमा एप्पलको घडी भएसम्म म ढुक्क छु ।"

यदि तपाईंले एप्पल वाच लगाउनु भएको छ र ढलेपछि तपाईंको शरीरले एक मिनेटसम्म कुनै हलचल गरेन भने इमर्जेन्सी नम्बरमा कल जान्छ । र, त्यहाँ स्वचालित रूपमा प्रयोगकर्ता भएको ठाउँको लोकेसन मेसेजमार्फत जान्छ । वा प्रयोगकर्ताले इमर्जेन्सी कन्ट्याक्टमा जसको नम्बर राखेको छ, उसको नम्बरमा मेसेज जान्छ ।

यदि प्रयोगकर्ताको उमेर ६५ वर्षभन्दा बढी छ भने यो फिचर स्वचालित रूपमा अन हुन्छ । पछिल्लो समय इन्टरनेटमा यस्ता घटना सार्वजनिक भएका छन्, जहाँ एप्पलका डिभाइसले प्रयोगकर्ताको स्वास्थ्यमा भएका अस्वाभाविक गतिविधिलाई पहिचान गरेका छन् ।

डिभाइसमा भएका विभिन्न सेन्सरले प्रयोगकर्ताको हृदयको गति, रक्तचाप, शरीरको तापक्रम, शरीरमा भएको आन्तरिक परिवर्तन, ईसीजी मापन गर्ने गर्छ । यस्तो अवस्थामा प्रयोगकर्ताको शरीरमा अस्वाभाविक वा असान्दर्भिक परिवर्तन आए प्रयोगकर्तालाई त्यसको सूचना दिने कम्पनीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १८:५१