close

क्यामेरा पारखीका लागि सोनीले ल्यायो नयाँ स्मार्टफोन, मूल्य २ लाख रुपैयाँ

टेकपाना टेकपाना

बैशाख २९, २०८० १३:३४

क्यामेरा पारखीका लागि सोनीले ल्यायो नयाँ स्मार्टफोन, मूल्य २ लाख रुपैयाँ

काठमाडौं । सोनीले आफ्नो फ्ल्यागशिप फोन 'सोनी एक्सपेरिया वन भी' र 'सोनी एक्सपेरिया टेन भी' सार्वजनिक गरेको छ । क्यामेरामा बढी केन्द्रित यी मोडेल कम्पनीले बिहीबार विश्व बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले एक्सपेरिया वान भीलाई फ्ल्यागशिप फोनका रूपमा र एक्सपेरिया टेन भीलाई मिड-रेन्ज फोनका रूपमा परिचित गराएको छ । पछिल्लो पुस्ताको शक्तिशाली चिपसेट स्न्यापड्रागनद्वारा सञ्चालित यी फोनमा उत्कृष्ट क्यामेरा भएको कम्पनीको दाबी छ ।

यस्तो छ सोनी एक्सपेरिया वान भी

यस फोनमा १२० हर्ज रिफ्रेशरेट भएको ६.५ ईन्च ओएलईडी डिस्प्ले छ । १६४४*३८४० पिक्सेल रेजोलुसनको उक्त डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १३ मा आधारित यो फोन क्वालकम एमएस ८५५० -एबी स्न्यापड्रागन ८ जेन २ चिपसेटद्वारा सञ्चालित छ । यस फोनमा १२ जीबी र्‍याम उपलब्ध गराइएको छ भने २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे विकल्प छ ।

फोनको पछाडिपट्टि तीन ओटा क्यामेरा छन्, जसमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सलेको अल्ट्रावाइड क्यामेरा सेन्सर रहेको छ । सेल्फीका लागि भने यसमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, ब्यारोमिटर, कम्पास, कलर स्पेक्ट्रम जस्ता सेन्सरले भरिपूर्ण यस फोनमा सोनी अल्फा क्यामेरा सपोर्ट रहेको छ ।

५००० एमएएच क्षमताको ब्याट्री रहेकाे फोनमा कम्पनीले ३० वाटको फास्ट चार्जर उपलब्ध गराउने जनाएको छ, जसलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको छ । त्यस्तै यसमा रिभर्स वायरलेस तथा वायरलेस चार्जरको सुविधासमेत रहेको छ ।

कम्पनीले यो फोन एक पटकको चार्जमा ११५ घण्टा अर्थात् साढे चार दिनसम्म टिक्ने उल्लेख गरिएको छ । जसको अपेक्षित मूल्य युरोपमा १३९९ युरो (करिब दुई लाख रुपैयाँ ) कायम गरिएको छ । फोन जुन महिनामा बजारमा उपलब्ध हुने बताइएको छ ।

सोनी एक्सपेरिया टेन भी

सोनीले सार्वजनिक गरेको अर्को मिडरेन्ज फोन हो, 'सोनी एक्सपेरिया टेन भी' । यस मोडेलमा ६.१ ईन्च ओएलईडी डिस्प्ले छ । १०८०*२५२० पिक्सेल रेजोलुसनको उक्त डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १३ मा आधारित यो फोन क्वालकम एमएस ६३७५ स्न्यापड्रागन ६९५ चिपसेटद्वारा सञ्चालित छ । यस फोनमा ८ जीबी र १२ जीबीको र्‍याम भेरियन्ट र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट रहेको छ ।

फोनको पछाडिपट्टि तीन ओटा क्यामेरा रहेका छन् । जसमा ४८ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको टेलिफोटो र ८ मेगापिक्सलेको अल्ट्रावाइड क्यामेरा सेन्सर रहेको छ । सेल्फी पारखीका लागि भने यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यस मोडेलमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सेन्सर प्रयोग गरिएका छन् । ५००० एमएएच क्षमताको यस फोनमा कम्पनीले कति वाटको चार्जर उपलब्ध गराउने भन्ने खुलाएको छैन ।

यो फोनको अपेक्षित मूल्य युरोपमा ४५० युरो (करिब साढे ६४ हजार रुपैयाँ ) कायम गरिएको छ । यो मोडेल पनि जुन महिनामा बजारमा उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १३:३४