close

यौन दुराचारको घटना बाहिरिएपछि ‘हेर्ने कथा’ले हटायो मदन राईको स्कुलको भिडिओ

टेकपाना टेकपाना

बैशाख २९, २०८० १२:५३

यौन दुराचारको घटना बाहिरिएपछि ‘हेर्ने कथा’ले हटायो मदन राईको स्कुलको भिडिओ

काठमाडौं । 'हेर्ने कथा' युट्युब च्यानलबाट प्रसारित सुभद्रा-मदन फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको कथा हटाइएको छ । फाउन्डेसनका सञ्चालक मदन राईले किशाेरी विद्यार्थीमाथि गरेका यौन दुराचारकाे घटना बाहिरिएपछि 'हेर्ने कथा' ले सो भिडिओ हटाएको हो ।

'हेर्ने कथा'की प्रस्तोता विद्या चापागाँईले  शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उक्त भिडिओ हटाएको जानकारी दिइन् ।

"सन् २०२० फेब्रुअरी २२ मा युट्युबमा अपलोड गरिएको 'कर्म' शीर्षकको भिडिओमा हामीले उक्त विद्यालयको दैनिकी समेटेका थियौं," सूचनामा लेखिएको छ, "भिडिओ तयार पार्न हामीले विद्यालयमा दुई दिन बिताएका थियौं । विद्यालयका सञ्चालक मदन राईसँग हाम्रो भेट भएको थिएन । हामीलाई विद्यालयका प्रिन्सिपल सूर्य राईले त्यहाँ घुमाएका थिए । उक्त कथामा हामीले त्यो स्कुलमा कसरी किताबी ज्ञानसँगै श्रम र सीप सिकाइन्छ भनेर देखाएका थियौं । विद्यार्थीहरूका आफ्ना जिन्दगीका कथा पनि समेटेका थियौं ।"

‘कर्म कथा’ प्रसारण भएपछि धेरै दर्शकले उक्त स्कुललाई आदर्श स्कुलको रुपमा लिएर आफ्ना बालबालिकालाई त्यही विद्यालयमा पढाउन थालेको 'हेर्ने कथा' काे सूचनामा उल्लेख छ ।

सेतोपाटी डटकमले बिहीबार 'आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार' शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे । उक्त समाचारमा सञ्चालक राईले यौन दुराचार जस्तो विषयलाई सामान्य ढङ्गले लिएको समाचारले आफू झस्किएको भन्दै 'हेर्ने कथा' टिमले युट्युब च्यानलमा राखेको भिडिओ हटाएको हाे ।

"यी तमाम तथ्यहरू बाहिरिसक्दा पनि हामीलाई उक्त स्कुलको कथा युट्युबमा राखिरहन ठीक लागेन," सूचनामा अगाडि लेखिएको छ, "भित्रभित्रै अँध्यारो कथा भोगिरहेका त्यहाँका नानीबाबुहरूको आवरणको कथाले दर्शक, अभिभावक र आममानिसमा भ्रम सिर्जना नहोस् भनेर हामीले उक्त भिडियो युट्युबबाट हटाउने निर्णय गरेका छौं ।"

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १३:४७