काठमाडौं । निकोन ब्रान्डले विश्व बजारमा नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोन जेडएट (Nikon Z8) नाम दिइएको यो क्यामेरा भिडियो र स्थिर फोटोग्राफी दुवैको लागि डिजाइन गरिएको छ ।
कम्पनीको फ्ल्यागशिप क्यामेरा जेडनाइनको जस्तै डिजाइन भएको यो क्यामेरा भने सानो र बोकेर हिड्न सजिलो छ । यसको तौल ९१० ग्रामको छ । यसमा ३.२ इन्चको टचस्क्रिन उपलब्ध छ जसलाई ठाडो र तेर्सो गरेर प्रयोग गर्न सकिन्छ ।
यस्तै क्यामेरामा ०.५ इन्चको इलेक्ट्रोनिक भिउफाइन्डर छ भने १८ लेभलको म्यानुअल ब्राइटनेस कन्ट्रोल फिचर पनि यसमा उलब्ध छ । यो क्यामेराले निकोनको जेड माउन्टेड र एफ माउन्टेड लेन्सहरू सपोर्ट गर्छ ।
यसमा ५२.३७ मेगापिक्सेलको फुल-फ्रेम सीएमओएस सेन्सर उपलब्ध छ । साथै यसमा अधिकता ४९३ ओटा अटोफोकस पोइन्टहरू पनि रहेका छन् । भिडिओग्राफीको लागि यस क्यामेरामा ३० एफपीएसमा एटके भिडिओ खिच्न सकिन्छ । यसमा फोरके एचडी र फुल एचडीमा पनि भिडिओ खिच्न सकिन्छ ।
यी बाहेक क्यामेरामा वाइफाइ, ब्लुटुथ, यूएसबी-सी पोर्ट, एचडीएमआई आउट, अडियो इनपुट/आवटपुट लगायतका फिचर पनि उपलब्ध छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको मूल्य ४ हजार डलर (करिब ५ लाख २५ हजार रुपैयाँ) तोकेको छ ।