close

वनप्लस ११ मा एन्ड्रोइड १४ को अनुभव लिन सकिने

टेकपाना टेकपाना

जेठ १, २०८० १२:४१

वनप्लस ११ मा एन्ड्रोइड १४ को अनुभव लिन सकिने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसको पछिल्लो फ्ल्यागशिप फोन 'वनप्लस ११'मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने भएको छ । कम्पनीले याे स्मार्टफाेनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध भएको घोषणा गरेको हो ।

यसको अर्थ अब प्रयाेगकर्ताले 'डेभलपर प्रिभ्यु प्रोग्राम' अन्तर्गत आफ्नो वनप्लस ११ फाइभजी फोनमा एन्ड्रोइड १४ को अनुभव लिन सक्नेछन् ।

“वनप्लसले गुगलसँग सहकार्य गरेर प्रयोगकर्तालाई एन्ड्रोइड १४ मा आधारित अक्सिजन ओएस उपलब्ध गराउन काम गरिरहेको छ," वनप्लसका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) किन्डर लिउले विज्ञप्तिमा भनेका छन्, "गुगलसँग थप सहकार्य गरेर वनप्लस ११ डेभलपर्समा एन्ड्रोइड १४ उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं ।"

वनप्लस ११ फाइभजी ओप्पोले सार्वजनिक गरेको पछिल्लो फ्ल्यागशिप फोन हो । जुन अहिलेको शक्तिशाली चिपसेटका रूपमा परिचित स्न्यापड्रागन ८ जेन टुद्वारा सञ्चालित छ ।

फोनमा १६ जीबीको र्‍याम, १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्च सुपर फ्ल्युड एमोलेड डिस्प्ले, १०० वाट सुपर भोक चार्जर, थर्ड जेन ह्यासलब्लाड क्यामेरा रहेको छ । वनप्लस ११ मा एन्ड्रोइड १४ को बेटा वान भर्सन कसरी प्रयोग गर्ने भन्ने जान्न यहाँ क्लिक गर्नुहोस् । 

एन्ड्रोइड १४ गोपनीयता, सुरक्षा, पर्फर्मेन्स, डेभलपर प्रडक्टिभिटी तथा युजर कुस्टमाइजेसनमा केन्द्रित रहेकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १३:५