काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि. कानूनी रुपमा दर्ता भएको छ । सार्वजनिक भएको एक वर्षपछि सोमबार यात्री सरकारी निकायमा दर्ता भएको हो ।
यसअघि नेपालमा उत्पादित सवारीको दर्ता व्यवस्था नहुँदा यात्रीले बजार विस्तार गर्न सकेको थिएन । कम्पनीले ६ महिनादेखि उत्पादन कार्य नै रोकेको थियो ।
यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषयलाई लिएर धेरै आलोचना भएको थियो ।
लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हाे ।
साे निर्देशिकामा थपिएकाे नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यात्रीले पहिलो पटक आफ्नो बाइक दर्ता गरेको हो । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यात्री पी-१ बाइक दर्ता भएको जानकारी दिएको छ ।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइक दर्ता भएसँगै यात्री नेपालमै उत्पादित सवारीमध्ये पहिलाे दर्ता हुने कम्पनी बनेकाे छ ।
कम्पनीले यो इतिहास रच्न सहयोग गर्ने आफ्ना विशेष प्रयोगकर्तालाई कृतज्ञता प्रकट गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८० २२:३८
