close

मेटाभर्सले यसरी परिवर्तन गर्दैछ जापान र कोरियाका कक्षाकोठा

टेकपाना टेकपाना

जेठ ७, २०८० १०:६

मेटाभर्सले यसरी परिवर्तन गर्दैछ जापान र कोरियाका कक्षाकोठा

काठमाडौं । दक्षिण कोरिया र जापानका शैक्षिक संस्थाहरूले भर्चुअल रियालिटी (भीआर) एपहरू प्रयोग गर्दै आइरहेका छन् । यी देशका पाठ्यक्रममा मेटाभर्सलाई पनि समावेश गरिएको छ । प्रविधिको सदुपयोग गर्दै यी दुई देशले शिक्षामा कसरी मेटाभर्स प्रयोग गरिरहेको छ भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ: 

दक्षिण कोरियामा, पोहाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (पोस्टेक) लाई "मेटाभर्सिटी" मा रूपान्तरण गरिएको छ । अर्थात् विश्वविद्यालयले मेटाभर्समा आफ्ना कक्षाकोठालाई समावेश गरेको छ भने आउने पाठ्यक्रममा साइबर स्पेसको विषय पनि राख्ने योजना बनाएको छ ।

यस उद्देश्यका लागि विश्वविद्यालयले विद्यार्थीलाई आवश्यक उपकरण र कार्यक्रमका लागि वार्षिक रूपमा तीन लाख डलर लगानी गर्दैछ भने मेटाभर्स कक्षाका लागि पाँच लाख डलर विनियोजन गरेको छ । 

यस्तै एन एन्ड एस हाई स्कुलहरू जापानका सबैभन्दा ठूलो अनलाइन हाई स्कूलहरू हुन् । सात हजारभन्दा बढी विद्यार्थीहरूले यहाँ भीआर प्रयोग गरेर पढ्न सक्छन् । यहाँका कक्षाकोठालाई पनि मेटाभर्समा परिणत गरिएको छ ।

मेटाभर्स र भीआरमा लगानी 

दक्षिण कोरिया र जापान हाल डिजिटल साक्षरता प्रवर्द्धन गर्ने काममा क्रियाशील छन् । सन् २०२२ मा दक्षिण कोरियाको विज्ञान मन्त्रालयले मेटाभर्स इकोसिस्टम प्रवर्द्धन गर्न १६ करोड ६० लाख डलर लगानी गर्न घोषणा गरेको थियो । यो लगानीले विशेषज्ञहरूलाई तालिम दिनका लागि "मेटाभर्स एकेडेमी" स्थापना गर्ने पनि योजना बनाइएको छ । 

-एजेन्सीकाे सहयाेगमा

गत वर्ष जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि यस्तै बयान दिएका थिए । उनले आफ्नो देश मेटाभर्स लगायत विभिन्न प्रविधिको प्रयोगलाई विस्तार गर्न चाहन्छ र सोही अनुसार सहयोग प्रदान गर्ने योजना रहेको बताएका थिए । 

अन्य देशहरूले पनि शिक्षामा भीआरकाे प्रयोग सुरु गरेका छन् । विश्वव्यापी रूपमा, शिक्षण उपकरणको रूपमा भीआरको प्रयोग बढ्दो छ । पोल्याण्डमा, मेटा, भीआर हिरोज र नेसनल रिसर्च इन्स्टिच्युटले शिक्षकहरूलाई नयाँ प्रविधिहरू कसरी प्रयोग गर्ने भनेर सिकाउन सहकार्य गरिरहेको छ ।

साथै क्यालिफोर्नियाको एउटा विद्यालयले एउटा भीआर प्रयोगशाला नै स्थापना गरेको छ । जर्मनीले शैक्षिक संस्थाहरूमा शिक्षण उपकरणको रूपमा भीआरलाई प्रयोग गर्ने काम गरिरहेको छ । भीआर सिकाउन शिक्षकहरूलाई तालिम दिन हनोभरमा एउटा शिक्षा केन्द्र खोलिएको छ भने अन्य कामहरू पनि यो देशले गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १०:१४