close

नौबिसेमा बिजुली बाइक चार्ज गर्न नपाएपछि उकालोमा २ घण्टा धकेल्नु पर्‍यो

सुमन शाक्य

जेठ ७, २०८० १९:२४

नौबिसेमा बिजुली बाइक चार्ज गर्न नपाएपछि उकालोमा २ घण्टा धकेल्नु पर्‍यो

म पाटनमा हस्तकला व्यवसाय गर्छु । व्यवसायका क्रममा प्राय: यात्रा गरिरहनु पर्छ । त्यसैले विद्युतीय मोटरसाइकल किन्न खोजिरहेका थिएँ । बजारमा उपलब्ध सुपर सोको, यात्री लगायतका थुप्रै ब्रान्डका बाइक हेरेँ ।

सिङ्गल ब्याट्री, कम मूल्य आदिले मलाई कोमाकी रेञ्जर मन पर्‍यो । त्यसपछि यो बाइक किनें । छुटको समयमा किन्दा मलाई ४ लाख २० हजार रुपैयाँ परेको थियो ।  

अहिले बाइक किनेको चार महिना बढी भएको छ । तर मैले छ हजार किलोमिटर भन्दा धेरै गुडाइ सकें । यसबीचमा मलाई यो बाइकले निकै नराम्रो अनुभव पनि दियो ।

बाइक किनेको दुई महिना पछि नै ब्याट्रीमा समस्या आयो । मैले कम्पनीलाई त्यसको जानकारी दिएँ । तर सो मोडलको ब्याट्री नभएपछि कम्पनीले अर्कै ब्याट्री राखिदियो । 

त्यसले ९० किमि रेञ्ज दिने कम्पनीले बताएको थियो । तर त्यो कम एम्पिएरको ब्याट्री थियो ।  

बाइकको उक्त समस्या टरेपछि आफ्नो गाउँ त्रिलेश्वर (नुवाकोट) जाँदा त्यही ब्याट्रीका कारण दु:ख पाएँ । कम्पनीले भने जति (९० किमि) रेञ्ज दिन्छ होला भनेर म पाटनबाट यात्रामा निस्केको थिएँ । 

पाटनबाट गाउँ जाँदा कुनै समस्या भएन । तर आउँदा भने दुई घण्टाको बाटोमा छ घण्टा लाग्यो । खासमा घर (पाटन) बाट गाउँको दूरी ८३ किलोमिटर मात्र छ । 

तर नयाँ राखेको ब्याट्रीले जम्मा ६० किलोमिटर मात्र गुडायो । त्यसैले नौबिसेमा अड्केँ । त्यहाँ बाइक चार्ज गर्न खोजें । 

तर त्यहाँका पसलेहरूले चार्ज नै गर्न दिएनन् । त्यसपछि त्यस्तो उकालो बाटोमा दुई घण्टा बाइक धकेल्नु पर्‍यो । अलि पर पुगेर चार्जिङ स्टेसनमा चार्ज गरेँ । 

 

तर एम्पिएर कम भएकाले आधा घण्टा मात्र चार्ज गर्न पाएँ । शून्यमा झरेको ब्याट्री बल्ल २५/३० प्रतिशत चार्ज भयो । यसरी त्यहाँबाट अगाडि बढें । त्यसपछि कलङ्की नपुग्दै फेरी ब्याट्री सकियो । 

त्यहाँ पुनः एक घण्टा चार्ज गरेँ । तर त्यति चार्ज गर्दा तीन सय रुपैयाँ तिर्नु पर्‍यो । बिजुली बाइकमा मैले गरेको यात्रामा त्यो सबैभन्दा कष्टकर अनुभव थियो । म जसोतसो घर फिर्ता भएँ ।

मलाई त्यस बाइकले कम्तिमा १५० किमि र बढीमा १७५ किमि रेञ्ज दिने कम्पनीले बताएको थियो । तर अहिलेसम्म १२० किमि मात्र रेञ्ज पाएको छु । यो चार महिनामा दुई पटक सर्भिसिङ गर्न गएँ । 

तर वारेन्टी दिएको पार्टपुर्जा बाहेक अन्यको पैसा लाग्ने रहेछ ।  सर्भिसिङ गराउँदा बाइकको मोटर र ब्याट्रीको मात्र शुल्क लागेन । मलाई कम्पनीले यो बाइकको मोटरमा एक वर्ष, ब्याट्री र कन्ट्रोलरमा तीन वर्ष  वारेन्टी दिएको छ । 

कम्पनीले दिने सर्भिसिङमा मेरो गुनासो छैन । बाइकको कुनै पार्टपुर्जाको वारेन्टी दाबी गर्दा भने प्रक्रिया निकै लामो हुँदो रहेछ । म आफैंलाई ब्याट्रीको वारेन्टी दाबी गर्दा दुई हप्ताभन्दा बढी समय लागेको थियो । यसमा भने गुनासो छ ।

अब बाइकको कुरा गर्दा शून्यदेखि १०० प्रतिशत चार्ज हुन चारदेखि पाँच घण्टा लाग्छ । बाइकमा रिभर्ससहित पाँच ओटा मोड छन् । ग्राउन्ड क्लियरेन्स, हेडलाइट, सिट आदि सबैमा चित्त बुझेकै छ । 

तर खर्च गरेको रकम अनुसार सस्पेन्सन अलि कमजोर भएको जस्तो लागेको छ । त्यस्तै मलाई यो बाइकको बडी बिल्डिङमा अलि चित्त बुझेको छैन । कम्पनीले अलि कमसल खालका सामग्री राखेको अनुभव हुन्छ । 

यद्यपि दिनको ४० देखि ६० किलोमिटर दगुर्ने मलाई पेट्रोलियम बाइकको तुलनामा खर्च कम गर्न सहयोग पुगेको छ । यत्रो कुदाउँदा समेत चार महिनामा ३५ हजार मात्र खर्च भएको छ । 

यी सबै आधारमा यो बाइकलाई म १० मा ७.५ अङ्क दिन्छु । 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १९:२६