close

चन्द्रमामा मानव अवतरण गराउने नासाकाे तेस्रो परियोजनामा छानियो जेफ बेजोसको ब्लु ओरिजिन

टेकपाना टेकपाना

जेठ ८, २०८० १२:१३

चन्द्रमामा मानव अवतरण गराउने नासाकाे तेस्रो परियोजनामा छानियो जेफ बेजोसको ब्लु ओरिजिन

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवयुक्त तेस्रो अन्तरिक्ष यान ‘आर्टिमिस भी’ का लागि आवश्यक ‘मुन ल्यान्डिङ’ सिस्टम व्यवस्था गर्न नयाँ कम्पनी छनौट गरेको छ । अमेजनका संस्थापक जेफ बेजसको कम्पनी ब्लु ओरिजिन यसका लागि छनोट भएकाे हो ।

नासाले २०२९ काे सेप्टेम्बरसम्म मानवयुक्त अन्तरिक्ष यान  'आर्टिमिस भी' प्रक्षेपण गर्ने योजना बनाएकाे छ । यस अन्तर्गत 'आर्टिमिस भी' का चालक दलहरुलाई चन्द्रमाको सतहमा लैजान आवश्यक ल्यान्डिङ क्राफ्ट निर्माणका लागि नासाले बेजोसको ब्लु ओरिजिन कम्पनीलाई जिम्मा दिएकाे हो । 

यसअघि बेजोसकै कम्पनीले ब्लु मुन ल्यान्डर परियोजनामा समेत काम गरेकाे थियो । साेही कम्पनीले ल्यान्डिङ सिस्टम समेत निर्माण गर्ने भएका हो । यसका लागि नासाले सो कम्पनीसँग तीन अर्ब ४० करोड डलरको सम्झौता गरेको छ । यस परियोजनामा डाइनेटिक तथा नर्थरोप ग्राम्यान लगायतका कम्पनीले पनि प्रस्तावना बुझाएका थिए । उनीहरुलाई पछि पार्दै ब्लु ओरिजिनले यो परियोजना हात पारकाे हाे ।

यस परियोजना अन्तर्गत ओरिजिन क्याप्सुलले चार जना अन्तरिक्षयात्रीलाई चन्द्रमामा पुर्‍याउनेछ । चन्द्रमामा पुगिसकेपछि चालक दलका दुई सदस्यले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न गेटवे स्पेस स्टेशनसँग जोडिएको ब्लु ओरिजिन ल्यान्डर प्रयोग गर्नेछन् । दुई हप्तासम्मको बसाइमा उनीहरूले मुन वाक (चन्द्रमा हिँड्ने), रोभर सञ्चालन गर्ने, वैज्ञानिक परीक्षण गर्नेछन् भने बाँकी दुई जना चालक दलका सदस्य गेटवेमा रही स्टेसन विस्तार र मर्मतको काम गर्ने बताइएको छ ।

यसअघि नासाले आफ्नो मानव सहितकाउ पहिलो अन्तरिक्ष यान (Artemis III) र दोस्रो (Artemis IV) लागि एलन मस्कको स्पेसएक्सलाई जिम्मा दिएकाे थियो । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १३:२७