close

इन्टरनेटको मूल्य बढाउने अनुचित कार्य तत्काल रोक्न सांसद पौडेलको माग

टेकपाना टेकपाना

जेठ ८, २०८० १४:१५

इन्टरनेटको मूल्य बढाउने अनुचित कार्य तत्काल रोक्न सांसद पौडेलको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सेवाप्रदायकहरू मिलेर रातारात  इन्टरनेटको मूल्य बढाउने कुरा सुनिएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । साेमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा पौडेलले इन्टरनेटको मूल्य बढाउनुभन्दा  गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

सरकारले सबै क्षेत्रलाई प्रविधिसँग जोड्ने राष्ट्रिय अभियान सुरु गरेको बेला अनिवार्य सेवा इन्टरनेटमा मूल्य बढाउनु उचित नभएको उनकाे भनाइ थियाे ।

"प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ । अहिले उपलब्ध सेवामा गुणस्तर, गति क्षमता केही पनि छैन ।  सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने सर्त समेत पालना गरिएको छैन," उनले भने, "इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर वृद्धि गराउनुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ ।"

इन्टरनेट कम्पनीहरूले मिलेमतोमा मूल्य बढाउने अनुचित कार्यलाई तत्काल रोक्न  र उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तर सेवा उपलब्ध गराउने वातावरण निर्माण गराउन पौडेलले सरकारको ध्यानाकर्षण गराए ।

"आमसेवाग्राहीलाई मारमा पर्ने गरी सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई समेत बेवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन," उनले भने । 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १५:३