close

दृष्टिविहीन मानिसले यसरी हेर्न सक्छन् चलचित्र

टेकपाना टेकपाना

जेठ ८, २०८० १६:२३

दृष्टिविहीन मानिसले यसरी हेर्न सक्छन् चलचित्र

काठमाडौं । प्रायः मानिसहरू ठूलाे स्क्रिनमा आफूले चाहेको फिल्म हेर्न चाहन्छन् । प्रविधिको विकाससँगै उदाएका थ्रीडी, भिजुअल इफेक्ट प्रविधिले त झन् फिल्म वास्तविक जस्तै बनाइदिन्छन् । त्यसबाहेक पनि फिल्ममा कलाकारको भाव, हाउभाउ, उनीहरूले गरेका विभिन्न क्रियाकलापलाई देखेर मानिसहरूले मनोरञ्जन लिइरहेका हुन्छन् ।

तर, दृष्टिविहीन व्यक्तिहरूको हकमा के हुन्छ होला ? उनीहरूले पनि चलचित्रमा भनिएका कथाहरूलाई आफ्नै शैलीले कल्पना गर्छन् । त्यसबाहेक पनि अहिले यस्तो प्रविधि आइसकेका छन्, जसले दृष्टिविहीन मानिसहरूलाई फिल्ममा के भइरहेको छ भन्ने कुरालाई वास्तविक रूपमा देखाउन सक्छन् ।

दृष्टिविहीन मानिसहरू कसरी चलचित्र हेर्छन् ?

साधारण मानिसहरू जस्तै दृष्टिविहीन व्यक्तिहरू पनि चलचित्र हेरेर मनोरञ्जन लिन सक्छन् । तर, आँखा नदेख्ने भएकैले उनीहरू स्क्रिनमा भएका विभिन्न कुरालाई महसुस गर्न पूर्ण रूपमा फिल्मको अडियोमा निर्भर हुनुपर्ने हुन्छ ।

त्यसबाहेक पनि केही फिल्ममा न्यारेटरले फिल्ममा कलाकारको अनुहारको भाव, ब्याकग्राउन्ड सिन (दृश्य), सिन परिवर्तन, डायलग भनिरहेको बेला फिल्ममा देखिएको पात्रले लगाएको लुगाको वर्णन गरेका हुन्छन् ।

सामान्यतः अडियोमार्फत न्यारेटरले स्क्रिनमा के भइरहेको छ भन्ने कुरालाई बुझ्ने तरिकाले भनिरहेका हुन्छन् । यसले गर्दा दृष्टिविहीन व्यक्तिहरूले आफ्नो काल्पनाशक्ति प्रयोग गरेर चलचित्रको प्लटलाइनलाई बुझिरहेका हुन्छन् । यो कुनै पडकास्ट वा अडियोबुक सुनेको जस्तै हुन्छ । तर, फरक कुरा यसमा डायलग र ब्याकग्राउन्ड म्युजिक हुने गर्छ ।

केही विकसित देशमा दृष्टिविहिन व्यक्तिहरूले फिल्म हलमा टिकेट लिन जाँदा अडियो डिस्क्रिप्सनका लागि अनुरोध गर्न सक्छन् । अमेरिकामा त कानूनले नै दृष्टिविहीन व्यक्तिहरूलाई हेडफोन र अडियो डिस्क्रिप्सन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

यसो त अडियो डिस्क्रिप्सनबिना दृष्टिविहीन व्यक्तिले फिल्मको मनोरञ्जन लिन सक्दैनन् भन्ने चाहिँ होइन । अडियो डिस्क्रिप्सनबिना पनि उनीहरूले ब्याकग्राउन्ड साउन्ड र डायलग सुनेर फिल्मको आनन्द लिन सक्छन् ।

कतिपय स्तरीय सिनेमा हलहरूमा थ्रीडी अडियो सिस्टम उपलब्ध गराइएको हुन्छ । जसले गर्दा फिल्मको पात्रले त्यही कोठाभित्र रहेर बोलिरहेको आभास हुन्छ ।

त्यस्तै केही सिनेमा हल यति अत्याधुनिक हुन्छन् कि, व्यक्ति बसेको सिटमा नै उक्त फिल्ममा देखिएको कुराहरूलाई भाइब्रेसनमार्फत महसुस गराउँछन् । यस्ता प्रविधिले दृष्टिविहीन मानिसहरूलाई फिल्मको वास्तविक आनन्द दिन्छन् ।

दृष्टिविहीन मानिसहरू घरमा कसरी फिल्महरू हेर्छन् ?

सिनेमा हलजस्तै घरमा पनि दृष्टिविहीन मानिसहरू अडियो डिस्क्रिप्सनको प्रयोग गरी फिल्म हेरिरहेका हुन्छन् । विशेषगरी स्मार्ट टिभीमा विभिन्न भ्वाइस असिस्टेन्ट सेटिङहरू हुन्छन् ।

यस्ता सेटिङलाई एक्सेसिबिलिटी सेटिङ पनि भन्ने गरिन्छ । जसले गर्दा प्रयोगकर्ताले अडियोको सहायताले फिल्म लगाउन र फिल्ममा भएका दृश्यलाई आवाजबाटै बुझ्न सक्छन् ।

त्यस्तै केही स्ट्रिमिङ प्लेटफर्मले पनि दृष्टिविहीन मानिसहरूलाई अडियो डिस्क्रिप्सन सुविधा दिएका हुन्छन् ।

विशेषगरी नेटफ्लिक्स, हुलु, अमेजन प्राइम भिडिओ, डिज्नी प्लस, एप्पल टिभी प्लस र एचबीओ बक्सजस्ता प्लेटफर्ममा स्ट्रिमिङ सेवा दिइएको हुन्छ । तर, सबै भिडिओ वा सिरिजका लागि भने यो सुविधा उपलब्ध नहुन सक्छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १६:५४