close

विवाद भएपछि कोशी प्रदेशका सांसदको ल्यापटप नलिने निर्णय

टेकपाना टेकपाना

जेठ ९, २०८० १२:३९

विवाद भएपछि कोशी प्रदेशका सांसदको ल्यापटप नलिने निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप दिने निर्णय विवादित बनेपछि सांसदले ल्यापटप नलिने भएका छन् । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पहलमा कोशी प्रदेशसभाले ल्यापटप खरिदका लागि डेढ करोड रुपैयाँ छुट्याएको थियो ।

प्रदेशसभाले ल्यापटप खरिदका लागि सूचना समेत निकाली सकेको थियो । तर यो निर्णय विवादित बनेपछि कांग्रेसका प्रदेशसभा सदस्यले कार्यालयमा निवेदन बुझाइ ल्यापटप नलिने निर्णय गरेका हुन् ।

कोशी प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले टेकपानासँग कुरा गर्दै भने, "कांग्रेसका सांसदबाट ल्यापटप नलिने निर्णय भइ सचिवालयमा चिठी आइसकेको छ । एमालेका सांसदले पनि ल्यापटप नलिने निर्णय गर्नु भएको भन्ने सुनिएको छ । सम्भवतः एक दुई दिनमा निवेदन आउँछ होला ।"

सबै सांसदले नलिने सहमति जनाएको अवस्थामा खरिद प्रक्रिया र प्रदेशसभा सचिवालयको निर्णय रद्द हुने अमात्यको भनाइ छ ।

"सबैले ल्यापटप नलिने निर्णय गर्नुभयो भने बजेट खर्च नै हुँदैन," उनले अगाडि भने, "संसद प्रविधिमैत्री बनाउने, ई-लेजिस्लेसन, ई-गभर्नेन्स बनाउने भन्ने हिसाबले माननीय ज्यू र सात ओटा सचिवालयलाई एक-एक थान ल्यापटप खरिद गर्ने निर्णय भएको थियो । अब अहिले कांग्रेस र एमालेले नलिने निर्णय गरेपछि अबको निर्णय खारेज हुन सक्छ । एमालेको औपचारिक चिठी नआइसकेकाले अहिले भन्न सकिने अवस्था छैन ।" 

माओवादीका सासंदहरूले भने सुरुदेखि नै यो निर्णयको विरोध गर्दै आएका थिए । यो निर्णय बाहिरएपछि सामाजिक सञ्जालमा पनि यसको आलोचना भएको थियो । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १२:४९