close

स्न्यापच्याटमा भेट, ब्ल्याकमेल गर्न अश्लील हर्कतका भिडिओ नाबालिकाका बुबाको मेसेजमा

टेकपाना टेकपाना

जेठ ९, २०८० १९:३

स्न्यापच्याटमा भेट, ब्ल्याकमेल गर्न अश्लील हर्कतका भिडिओ नाबालिकाका बुबाको मेसेजमा

काठमाडौं । अनलाइनमा नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका २१ वर्षीय मनिष भुजेल रहेका छन् । 

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार भुजेललाई पोखराबाट पक्राउ गरेको हो । ब्यूरोका अनुसार पीडितका बुबाले १० दिनअघि आफ्नो समस्या राख्दै उजुरी दिएका थिए । 

उक्त उजुरीमा पीडकले सबैभन्दा पहिले स्न्यापच्याट मार्फत आफ्नी नाबालिग छोरीसँग चिनजान गरेको उल्लेख छ । पीडितका बुबाका अनुसार पछि कुरा हुँदै जाँदा पीडक नाबालिकासँग भाइबरमा जोडिएर भिडिओ कलमा कुराकानी गर्न थाले । 

अनलाइन कुराकानीकै क्रममा पीडकले विभिन्न प्रलोभन देखाई बालिकालाई भिडिओ कलमा अश्लील हर्कत गर्न लगाए । उक्त कुराकानी र अश्लील क्रियाकलापको स्क्रिन रेकर्ड राखेका पीडकले बालिकालाई बारम्बार त्यसरी नै कुरा गर्न बाध्य पार्न थाले । 

बालिकाले पीडकले भने जस्तो नगरेपछि पीडकले धम्कीपूर्ण मेसेज पठाउने, साथै छोरीको बारेमा आफूलाई विभिन्न अनर्गल कुराकानी गर्ने गरेको पीडितका बुबाको आरोप छ ।

उजुरीमा पीडकले त्यस्ता मेसेज पठाउँदा आफ्नी नाबालिग छोरीलाई अनावश्यक मानसिक तनाव दिएको निवेदक बुबाले बताएका छन् । उजुरी प्राप्त भएपछि साइबर ब्यूरोको टिमले अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।

भुजेलमाथि विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।


 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १९:३