close

अन्य कम्पनीसँगै डिशहोम फाइबरनेटले पनि बढायो सस्ता इन्टरनेट प्याकेजको मूल्य

टेकपाना टेकपाना

जेठ १०, २०८० १५:२०

अन्य कम्पनीसँगै डिशहोम फाइबरनेटले पनि बढायो सस्ता इन्टरनेट प्याकेजको मूल्य

काठमाडौं । अन्य कम्पनीहरूसँगै डिशहोम फाइबरनेटले पनि बजारकै सस्ता इन्टरनेट प्याकेजको मूल्य बढाएको छ । कम्पनीले बुधबारदेखि लागू हुने गरी आफ्ना विभिन्न इन्टरनेट प्याकेजको मूल्य बढाएको हो । 

कम्पनीको नयाँ मूल्य सूचीअनुसार डिशहोम फाइबर नेटको सबैभन्दा सस्तो ७५ एमबीपीएस प्याकेज एक वर्षका लागि खरिद गर्दा मासिक ८०३ रुपैयाँ (वार्षिक ९६३० रुपैयाँ) पर्नेछ । जब कि यसअघि यो प्याकेजको मूल्य मासिक ५९५ रुपैयाँ रहेको थियो । 

त्यस्तै कम्पनीले कम्पनीले १०० एमबीपीएस गतिको इन्टरनेटको वार्षिक प्याकेज लिनेहरूका लागि मासिक ६८७ रुपैयाँबाट बढाएर ८५५ रुपैयाँ र १५० एमबीपीएसको वार्षिक प्याकेजका लागि मासिक ८२४ रुपैयाँबाट बढाएर ८८१ रुपैयाँ बनाएको छ ।

त्यस्तै २०० एमबीपीएस गतिको प्याकेजको मूल्य ८७० रुपैयाँबाट बढेर ८९९ रुपैयाँ, २५० एमबीपीएस प्याकेजको मूल्य ९१६ रुपैयाँबाट बढेर १०३५ रुपैयाँ र ३०० एमबीपीएसको मूल्य ११४५ रुपैयाँबाट बढेर ११७० रुपैयाँ पुगेको छ । 

सस्तो इन्टनरनेटको नाममा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि सेवा प्रदायकहरूले ‘प्राइस वार’ रोक्ने निर्णय गरेका छन् । सोही अनुसार पछिल्लो समय विभिन्न कम्पनीहरू आफ्ना सस्ता प्याकेजको मूल्य बढाएका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको स्वीकृत महशुल भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी जारी गरिसकेको छ । तर ‘प्राइस वार’का क्रममा बजारमा आएका सस्ता इन्टरनेट प्याकेजको ट्यारिफ नियामकबाट स्वीकृत नै भएका छैनन् ।

यस्तोमा इन्टरनेटको मूल्य बढाएको भन्दै नियामक सेवा प्रदायकमाथि कारबाही गर्नसक्ने अवस्थामा पनि छैन । यद्यपि यस अघि जस्तै महसुल दर स्वीकृत नगराई उपलब्ध गराएको विषयलाई आधार भने बनाउन सक्छ ।  

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० १५:२०