close

अब टेस्लाका सुपर चार्जर स्टेसनमा फोर्ड ईभी चार्ज गर्न मिल्ने

टेकपाना टेकपाना

जेठ १४, २०८० १८:२४

अब टेस्लाका सुपर चार्जर स्टेसनमा फोर्ड ईभी चार्ज गर्न मिल्ने

काठमाडौं । फोर्डका विद्युतीय सवारी (ईभी) धनीले छिट्टै नै टेस्लाका सुपर ईभी चार्जर स्टेसन प्रयोग गर्न पाउने भएका छन् । बिहीबार दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ट्वीटरमार्फत यसका लागि दुई पक्षीय साझेदारीको घोषणा गरेका हुन् ।

आगामी वर्षबाट सुरु हुने गरी फोर्ड ईभी धनीले सोही कम्पनीको मोबाइल एपमार्फत अमेरिकामा रहेका टेस्लाका १२ हजार सुपर चार्जर स्टेसन प्रयोग गर्न सक्ने उल्लेख छ । कम्पनीले आफ्ना फास्ट चार्जर स्टेसनलाई सुपर चार्जर स्टेसनको नाम दिएको छ ।

बिहीबार फोर्डका सीईओ जिम फार्ली र टेस्लाका सीईओ एलन मस्कले ट्वीटर स्पेस लाइभ स्ट्रिममा उक्त साझेदारी घोषणा गरेका हुन् ।

“एक कम्पनीका रूपमा फोर्डप्रति मेरो ठूलो सम्मान छ । किनभने यो कम्पनीले उत्कृष्ट सवारी साधन बनाउँदै आइरहेको छ । यस्तो पक्षमा कम्पनीलाई समर्थन गर्न पाउँदा हामी खुसी छौं,” मस्कले लाइभ स्ट्रिमका क्रममा भनेका छन् ।

फार्लीले अब निर्माण हुने फोर्डका विद्युतीय गाडीमा सीएसएस (कम्बाइन्ड चार्जर सिस्टम) चार्जरको साटो टेस्ला शैलीका चार्जिङ पोर्ट रहने घोषणा गरेका छन् ।

“हामीसँग टेस्ला जत्तिको धेरै ईभी ग्राहक छैनन् । तर, ईभीका हाम्रा जति ग्राहक छन्, उनीहरू यो साझेदारीबाट लाभान्वित हुने अपेक्षा राखेका छौं । टेस्लाले जसरी ग्राहकको अनुभवलाई प्राथमिकता दिएको छ, त्यस्तै अनुभव हाम्रा ग्राहकले पाउनेमा हामी विश्वस्त छौं,” फार्लीले भनेका छन् ।

गत नोभेम्बरमा टेस्लाका मालिक समेत रहेका मस्कले विभिन्न विद्युतीय सवारी निर्मातालाई टेस्लाको चार्जिङ पोर्ट प्रयोग गरेर सवारी निर्माण गर्न अनुरोध गरेका थिए । मस्कको अफर स्वीकार्दै टेस्लाको सुपर चार्जर स्टेसन प्रयोग गर्ने फोर्ड पहिलो सवारी निर्माता कम्पनी बनेको हो ।

फोर्डका अहिलेका विद्युतीय सवारी प्रयोग गर्ने प्रयोगकर्ताले टेस्लाको सुपर चार्जर प्रयोग गर्न एडप्टर प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १८:२५