close

मुद्दा लेख्न च्याटजीपीटीको भर पर्दा वकिल आफैं कानूनी फन्दामा

टेकपाना टेकपाना

जेठ १४, २०८० १९:४९

मुद्दा लेख्न च्याटजीपीटीको भर पर्दा वकिल आफैं कानूनी फन्दामा

काठमाडौं । कोलम्बियन एयरलाइन्स विरुद्धको मुद्दा लड्नका लागि एक वकिलले च्याटजीपीटीको प्रयोग गरेपछि आफैं कानूनी फन्दामा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम द न्यु योर्क टाइम्सका अनुसार अधिवक्ता स्टेभेन स्चवार्टले आफ्ना क्लाइन्ट (ग्राहक) को घटनाको संक्षिप्‍त विवरण च्याटजीपीटीको सहायतामा तयार पारेका थिए ।

तर, च्याटजीपीटीले हुँदै नभएको घटनाको सन्दर्भ दिएको र ती वकिलले उक्त घटना जस्ताको तस्तै विवरणमा उल्लेख गरेपछि उल्टै कानूनी फन्दामा परेका हुन् । एक व्यक्तिले कोलम्बियन एयरलाइन्स विरुद्ध मुद्दा दायर गरेका थिए ।

जसमा ती व्यक्तिको पक्षमा स्टेभेन स्चवार्टले मुद्दा लड्ने भए । उनले आफ्नो क्लाइन्टको घटनाबारे अध्ययन गर्न ओपनएआईको च्याटजीपीटी प्रयोग गरे । च्याटजीपीटीले उनको क्लाइन्टको जस्तै केही घटनाको उदाहरण पनि दियो ।

उक्त घटनाहरू पुस्टि गर्न ती वकिलले च्याटजीपीटीलाई गलत जवाफ त होइनन् भनी प्रश्न गरे । जब च्याटजीपीटीलाई ती घटनाको स्रोतका बारेमा सोधियो, तब च्याटजीपीटीले उक्त घटना सत्य भएको भन्दै ‘वेस्ट ल’ (Westlaw) र लेक्सिस नेक्सिस (LexisNexis) लाई स्रोतका रूपमा प्रस्तुत गर्‍यो ।

च्याटजीपीटीबाट भरपर्दो जवाफ पाएपछि स्चवार्ट सन्तुष्ट भए । फेरि पनि शंका गर्दै उनले च्याटजीपीटीलाई उल्लेखित घटना सही हुन् वा होइनन् भनी प्रश्न गरे । त्यतिबेला पनि च्याटजीपीटीले ती घटना सत्य भएको जवाफ दियो । 

त्यसपछि विश्वस्त हुँदै ती वकिलले च्याटजीपीटीले उल्लेख गरेका घटना सबै संक्षिप्‍त विवरणमा उल्लेख गरी पेस गरे । उक्त विवरण पाइसकेपछि एयरलाइन्स पक्षका वकिलले विवरणहरू हेरे ।

र, त्यहाँ उल्लेखित घटना पहिले कहिल्यै नभएको फेला पारे । उनले विवरणमा सबै कुरा झुटो राखेको भन्दै उल्टै मुद्दा दायर गरे । 

स्चवार्टले च्याटजीपीटीले सुझाएका कुनै कन्टेन्ट गलत पनि हुन सक्छन् भन्नेमा आफू अनभिज्ञ भएको र उक्त घटनामा च्याटजीपीटीको प्रयोग गर्दा निकै पछुताएको उल्लेख गरेका छन् ।

अब उप्रान्त जेनेरेटिभ एआई टुलको विश्वास नगर्ने र आफूले उल्लेख गरेका घटनालाई पुस्टि गर्न जुनसुकै तरिका अपनाउन तयार हुने धारणा उनले राखेका छन् । उनीविरुद्ध मुद्दा परेपछि अब उक्त मुद्दा उनकै कार्यालयका पिटर लोडुकाले हेर्ने भएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १९:४९