close

फेसबुकको ब्लक लिस्टमा भएका साथीलाई ‘आममाफी’ दिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १५, २०८० १३:४५

फेसबुकको ब्लक लिस्टमा भएका साथीलाई ‘आममाफी’ दिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिलेको डिजिटल युगमा सम्बन्धहरू पनि सामाजिक सञ्जालमा निर्भर हुन थालेका छन् । हामी कोही कसैसँगको रिस देखाउनु पर्‍यो वा कोही व्यक्ति मन परेन भने उसलाई सामाजिक सञ्जालमा ब्लक गर्ने गर्छौं ।

कहिलेकाहीँ त आफ्ना नजिकका मानिसलाई घुर्क्याउनकै लागि भएपनि सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा ब्लक गर्ने चलन छ । तर कहिलेकाहीँ ब्लक गरेको लामो समय भइसकेपछि कसैप्रतिको रिस मर्‍यो अथवा कहिलेकाहीँ झुक्किएरै ब्लक भएको रहेछ भने पनि हामी उक्त मानिसलाई अनब्लक गर्न खोज्छौं । 

डिजिटल दुनियाँमा बिग्रिएको सम्बन्ध वास्तविक दुनियाँमा सुमधुर हुँदा यसलाई डिजिटल दुनियाँमा पनि सुधार्ने मौका फेसबुकले दिएको छ । तर कतिपयलाई ब्लक गरेपछि अनब्लक कसरी गर्ने भन्ने थाहा नहुन सक्छ । 

त्यसैले आज हामी तपाईंलाई ब्लक गरिएका फेसबुक फ्रेन्डहरूलाई ‘आम माफी’ दिएर अनब्लक गर्ने तरिकाबारे बताउँदै छौं: 

डेस्कटपममा अनब्लक गर्ने तरिका: 

- आफ्नो फेसबुकको न्युजफिड खोल्नुहोस् र स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको आफ्नो प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् । 

- सेटिङ्स एन्ड प्राइभेसीमा क्लिक गरेर सेटिङ्समा जानुहोस् । 

- स्क्रिनको बाँयातिर भएको प्राइभेसी अप्सनमा क्लिक गर्नुहोस् र बायाँतिर भएको 'ब्लकिङ' अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि ‘ब्लक युजर्स’ भन्ने अप्सनको दायाँतिर रहेको एडिट आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ दुई ओटा अप्सन आउँछन् । तीमध्ये दोस्रो 'सी योर ब्लक्ड लिस्ट' भन्ने अप्सनमा क्लिक गर्नुहोस् । 

- अब तपाईँले ब्लक गरेका व्यक्तिहरूको सूची देख्न सक्नुहुन्छ । आफूले अनब्लक गर्न चाहेको व्यक्तिलाई उक्त सूचीमा 'अनब्लक' गरेर पुन: फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बन्न सक्नुहुन्छ । 

मोबाइलमा अनब्लक गर्ने तरिका: 

- आफ्नो मोबाइलमा फेसबुक एप खोल्नुहोस् । 

- यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने स्क्रिनको सबैभन्दा तलपट्टि दायाँतिर भएको आफ्नो प्रोफाइल आइकनमा थिच्नुहोस् । एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको आफ्नो प्रोफाइल आइकनमा दबाउनुहोस् । 

- स्क्रिनलाई थोरै स्क्रोल गरेर ‘सेटिङ्स एन्ड प्राइभेसी अप्सन’मा ट्याप गर्नुहोस् ।

- अब सेटिङ्समा थिच्नुहोस् । 

- स्क्रिनलाई तल स्क्रोल गरेर 'अडियन्स एन्ड भिजिबिलिटी' अप्सनमा भएको ब्लकिङमा जानुहोस्  ।

- त्यहाँ तपाईँले ब्लक गरेका व्यक्तिहरूको सूची देखिन्छ । उक्त सूचीबाट आफूले अनब्लक गर्न चाहेको व्यक्तिको नामसँगै छेउमा भएको 'अनब्लक' मा ट्याप गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १३:४५