close

च्याटजीपीटी निर्मातालाई छैन मस्कको जस्तो मंगल ग्रह जाने रहर, भन्छन्- ‘पृथ्वी नै राम्रो छ’

टेकपाना टेकपाना

जेठ १७, २०८० १९:५३

च्याटजीपीटी निर्मातालाई छैन मस्कको जस्तो मंगल ग्रह जाने रहर, भन्छन्- ‘पृथ्वी नै राम्रो छ’

काठमाडौं । साम अल्टम्यान साइन्स फिक्सन फिल्ममा जस्तो प्रविधिमा तहल्का ल्याइदिने च्याटजीपीटीका निर्माता हुन् । उनको यस्तो व्यक्तित्व हेर्दा पक्कै पनि उनी कुनै अर्को ग्रहमा मानिसको बस्ती बनाउने विषयमा कुनै न कुनै रूपमा सोचिरहेका छन् भन्ने आभास हुन्छ । तर, हालै उनले मंगल ग्रहबारे आफ्नाे धारणा राखेका छन् ।

गत हप्ता ओपनएआईका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्टम्यान युनिभर्सिटी कलेज लण्डन पुगेका थिए । उनलाई आर्टिफिसियल इन्टेलिजेन्सले मंगल ग्रहमा मानिसको जीवन स्थापित गर्न सहयोग गर्छ वा गर्दैन भनेर सोधिएको थियो ।

जवाफमा अल्टम्यानले भने, "मलाई मंगल ग्रहमा जाने वा बस्ने कुनै इच्छा छैन । यो सम्झिँदै भयानक सुनिन्छ ।"

उनले अगाडि भने, "यदि हामीले पहिले रोबोट पठाउन सक्यौं र यसलाई अलिकति सुधार गर्न सकियो भने त्यो बरु राम्रो हुन्छ । तर मलाई लाग्छ पृथ्वी साँच्चै अद्भुत छ ।"

ओपनएआईका अर्का सहसंस्थापक तथा स्पेसएक्सका सीईओ एलन मस्क भने वर्षौंदेखि मानिसलाई मंगल ग्रहमा पुर्‍याउने सम्भावित तरिकामा काम गरिरहेका छन् । सन् २०५० सम्म उनी १० लाख मानिसहरूलाई मंगल ग्रह पुर्‍याउन चाहन्छन् । त्यति मात्र नभई उनी आफ्नो बुढेसकाल मंगल ग्रहमा बितोस् भन्ने चाहन्छन् ।

"मलाई मंगल ग्रहमा मर्ने मौका दिइयो भने म त्यो मौका लिन चाहन्छु," मस्कले गत वर्ष फाइनान्स टाइम्सलाई अन्तर्वार्ता दिँदै भनेका थिए, "जब म बुढो हुन्छु, मेरा सन्तान हुर्केको देख्छु त्यो बेला म जान्छु । अहिले अन्तर ग्रह यात्रा गरेँ भने, मेरो सानो छोरा एक्स मात्र साढे दुई वर्षको छ । मलाई लाग्छ उसले मलाई धेरै मिस गर्नेछ ।"

विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका समेत सीईओ रहेका मस्क मंगल ग्रहमा रोबोट पठाउने सम्भावनामा पनि उत्तिकै आशावादी छन् । सन् २०२१ मा मस्कले टेस्लाको ह्युमनोइड रोबोटले मंगल ग्रहको जस्तोसुकै कठिन परिस्थितिमा पनि काम गर्न सक्नेमा आशावादी थिए । मस्कले टेस्लाको उक्त रोबोट सन् २०२२ को महत्त्वपूर्ण परियोजना भएको बताएका थिए ।

टेस्लाको विद्युतीय सवारीभन्दा पनि रोबोटको व्यवसायले ठूलो भूमिका खेल्ने उनकाे धारणा थियाे । यद्यपि टेस्लाको उक्त ह्युमनोइड रोबोट सार्वजनिक हुने मिति बाहिरिएको छैन ।

मस्कसहित अल्टयान र अन्य व्यक्तिहरू मिलेर सन् २०१५ मा ओपनएआई स्थापना गरेका थिए । तर, केही कारणले गर्दा ओपनएआईको बोर्ड सदस्यबाट मस्कले तीन वर्षपछि राजीनामा दिए ।

अहिले मस्क प्रायः ओपनएआईले निर्माण गरेको च्याटजीपीटीको आलोचना गरिरहेका हुन्छन् । आर्टिफिसियल इन्टेलिजेन्स मानवताका लागि खतरनाक हुने भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । यस्ता विविध कारणले मानव सभ्यता जोखिममा परेको र मानव जातिलाई जोगाउन अन्य ग्रहको विकल्प खोजिनुपर्ने मस्को विचार छ ।

यता उनीसँगै काम गरेका अल्टम्यान भने पृथ्वीलाई नै राम्रो बनाउने कुरालाई बढी जोड दिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १९:५३