close

एप्पलको भिजन प्रो हेडसेट सार्वजनिक, मूल्य साढे ४ लाख बढी

टेकपाना टेकपाना

जेठ २३, २०८० ११:२०

एप्पलको भिजन प्रो हेडसेट सार्वजनिक, मूल्य साढे ४ लाख बढी

काठमाडौं । लामो समयपछि अन्ततः एप्पलको बहुप्रतीक्षित एआर/भीआर हेडसेट सार्वजनिक भएको छ । सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा कम्पनीले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो । 

एप्पलले उक्त हेडसेटलाई ‘स्पेसियल कम्प्युटर’ (Spatial Computer) नाम दिएको छ । यो डिभाइस पूर्ण रूपमा नयाँ अपरेटिङ सिस्टम (ओएस) डबल भिजन ओएसमा आधारित छ । जसको डिस्प्ले सिस्टममा दुई करोड ३० लाख बढी पिक्सेल रहेका छन् ।

यसको अर्थ यसमा फोरके टिभीभन्दा राम्रो अनुभव पाउन सकिने कम्पनीको दाबि छ । यसमा दुई ओटा माइक्रो ओएलईडी स्क्रिन छ ।

कम्पनीका अनुसार यसमा क्याटाडायोप्ट्रिक लेन्सहरू रहेका छन्, जसमा आवश्यकता अनुसार सार्पनेस र क्लियारिटी बढाउन वा घटाउन सकिन्छ । मानिसहरूलाई प्रष्टसँग देख्न सहयोग पुर्‍याउने गरी यसमा भिजन करेक्सन फिचर उपलब्ध गराइएको छ ।

एम टु चिपसेटको कस्टम डुअल कोर भर्सनमा आधारित यसमा आर वान चिपसेट, १२ ओटा क्यामेरा, पाँच ओटा सेन्सर र छ ओटा माइक समावेश गरिएको छ ।

यसले प्रयोगकर्तालाई भिडिओमा भएका हरेक कुरा आफ्नै अघि भएको अनुभव दिने कम्पनीले जनाएको छ । आर वान चिपले तस्वीरलाई १२ मिलिसेकेन्डमा डिस्प्लेमा स्ट्रिम गर्छ । यो मानिसले आँखा झिम्काउनेभन्दा आठ गुणा तीव्र स्पिड हो ।

यसमा दुई घण्टाको ब्याट्री लाइफ रहेको छ । डिभाइस अनलक गर्न यसमा अप्टिकल आईडी फिचर उपलब्ध गराइएको छ, जसले आँखाको रेटिना पहिचान गरी डिभाइस अनलक गर्छ । यसले डिभाइसलाई उत्तिकै सुरक्षा प्रदान गर्ने बताइएको छ ।

यूआईको कुरा गर्नुपर्दा भिजन ओएस यूआईलाई आँखा, हात र आवाजले नियन्त्रण गर्न सकिन्छ । भौतिक रूपमा छोएर कन्ट्रोल गर्नका लागि यसमा कुनै किसिमका बटन उपलब्ध छैनन् ।

त्यस्तै हेडसेटबाटै आँखाले हेरेर एप ब्राउज गर्न, औंलाहरू चलाएर सेलेक्ट गर्न, हातका नाडीकाे सहायताले स्क्रोल गर्न सकिन्छ । साथै यी सबै कुरा भ्वाइसबाटै कन्ट्रोल गर्न सकिने जनाइएकाे छ ।

यो हेडसेटलाई चस्माका रूपमा पनि प्रयोग गर्न सकिन्छ । जसलाई एप्पलले 'आइ साइट' फिचर नाम दिएको छ । यस फिचरमार्फत तपाईंले हेडसेट प्रयोग गरिरहेको अवस्थामा त्यसलाई पारदर्शी बनाउन सक्नुहुन्छ । बाहिरबाट तपाईंका अघि रहेका मानिसहरूले तपाईंको आँखा देख्न सक्छन् भने तपाईं पनि बाहिरका कुराहरू देख्न सक्नुहुन्छ ।

यस डिभाइसका लागि कम्पनीले छुट्टै एप स्टोर पनि उपलब्ध गराएको छ, जहाँबाट हजारौं आईफोन र आईप्याड एपहरू प्रयोग गर्न सकिन्छ ।

त्यस्तै हेडसेटबाट फेसटाइम कलहरू लिन सकिन्छ । जहाँबाट वास्तविक रूपमा कुरा गरिरहेको अनुभव हुने कम्पनीले जनाएको छ । कलको समयमा भिजन प्रो लगाएका प्रयोगकर्ताहरू ‘पर्सोना’ का रूपमा प्रतिबिम्बित हुन्छन् ।

पर्सोना प्रयोगकर्ताको डिजिटल स्वरूप हो । यो एप्पलको सबैभन्दा अत्याधुनिक मसिन लर्निङ प्रविधिहरू प्रयोग गरी तयार पारिएको फिचर हो । जसले वास्तविक समयमा अनुहार र हातको चाललाई दर्शाउँछ । यसबाट तपाईं एकै पटक फिल्म हेर्न, एप ब्राउज गर्न र प्रेजेन्टेसन दिन समेत सक्नुहुन्छ ।

भिजन ओएसमा रहेको थ्रीडी इन्टरफेसले एपलाई आफ्नै अगाडि भएको अनुभव दिन्छ, जसलाई म्याजिक किबोर्ड प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

भिजन प्रोले कुनै पनि स्पेसलाई निजी फिल्म थ्रेटरका रूपमा प्रयोग गर्ने अनुमति दिन्छ । यसको अर्थ तपाईंले भिजन प्रोमा १०० फिट चौडाइ भएको भर्चुअल स्क्रिन बनाउन सक्नुहुन्छ । उक्त स्क्रिनमा १०० ओटाभन्दा बढी एप्पल आर्केड गेमहरू खेल्न सकिन्छ ।

यस डिभाइसमा कम्पनीले आफ्नो पहिलो थ्रीडी क्यामेरा समेत उपलब्ध गराएको छ । यसका माध्यमबाट फोटो तथा भिडिओ खिच्न सकिन्छ । उक्त डिभाइसबाट खिचिएको फोटो तथा भिडिओलाई आईक्लाउडमा हेर्न सकिने उल्लेख छ । 

यस डिभाइसमा अल्मुनियमको फ्रेम रहेको छ, जसलाई आफ्नो अनुहारको आकार अनुसार एडजस्ट गर्न सकिन्छ । 

यो हेडसेट डिभाइस सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुने बताइएको छ । सन् २०२४ पछि अन्य देशमा उपलब्ध हुने यो हेडसेटको मूल्य तीन हजार ४९९ अमेरिकी डलर (करिब चार लाख ६१ हजार रुपैयाँ) ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० ११:५०