close

एक पटकको चार्जमा बिजुली कारले झण्डै २००० किलोमिटर दूरी पार गरेपछि...

टेकपाना टेकपाना

जेठ २४, २०८० १८:६

एक पटकको चार्जमा बिजुली कारले झण्डै २००० किलोमिटर दूरी पार गरेपछि...

काठमाडौं । विद्युतीय सवारीमा रेञ्ज एन्जाइटी ठूलो समस्या हो । केही गरी चार्ज सकियो भने सवारी धनीलाई सवारी रोकेर लामो समयसम्म ब्याट्री चार्ज गर्नुपर्ने बाध्यता हुन्छ । यही बाध्यतालाई न्यूनीकरण गर्न वैज्ञानिकहरूले विभिन्न पक्षमा खोज तथा अनुसन्धान गरिरहेका छन् ।

कल्पना गर्नुहाेस् त एउटा विद्युतीय कारलाई कतै पनि नरोकी सयौं किलोमिटरको दूरी तय गर्न सकियो भने के होला ? सुन्दा असम्भव लागे पनि इजरायली स्टार्टअप कम्पनी 'इलेक्ट्रिओन' ले यो परिकल्पना वास्तविकतामा हुन्छ भनेर प्रमाणित गरिदिएको छ ।

यो स्टार्टअप कम्पनी विद्युतीय बाटो (इलेक्ट्रिफाइड रोड) बनाउने कार्यमा केन्द्रित छ । कुनै पनि विद्युतीय गाडीलाई चार्ज गर्नका लागि कतै रोकेर घण्टौं चार्ज गर्ने बाध्यतालाई हटाउने उद्देश्यका साथ ‘इलेक्ट्रिफाइड रोड’ परियोजनामा कम्पनी लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।

आफूले तयार पारेको इलेक्ट्रिफाइड रोड प्रविधिको सम्भाव्यता प्रदर्शन गर्न गत हप्ता कम्पनीले एक कार्यक्रम आयोजना गर्‍याे । विद्युतीय बाटोमा टोयोटाको एसयूभी गाडी आरएभी फोर प्राइम (Toyota SUV RAV4 Prime) लाई वायरलेस चार्जिङ प्रविधि प्रयोग गरी लगातार १९४१ किलोमिटर दूरी तय गरेको छ ।

उक्त गाडीमा वायरलेस चार्जिङ सपोर्ट गर्नका लागि क्वाइल जडान गरिएको थियो । २०० मिटर लामो विद्युतीय बाटो (इलेक्ट्रिफाइड राेड)  मा लगातार एक सय घण्टा २४ मिनेट १५ सेकेन्डसम्म गाडी चलाएर कम्पनीले उक्त दूरी पार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिजनेस इन्साइडरले लेखेकाे छ ।

यो सामान्य ईभीले एक पटकको चार्जमा तय गर्ने दूरीभन्दा पाँच गुणा बढी हो । “कम्पनीले गरेको यो परीक्षण वायरलेस चार्जिङ प्रणाली ईभीका लागि कसरी वरदान हुनसक्छ भन्ने कुराको प्रमाण हो,” इलेक्ट्रिओनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सहसंस्थापक ओरेन ईजरले बिजनेस इन्साइडरलाई भने ।

यसो त टोयोटा आरएभी फोर प्राइम पूर्ण रूपमा विद्युतीय सवारी होइन । यो एक किसिमको प्लग-इन हाइब्रिड मोडेल हो । वायरलेस चार्जिङ प्रविधिको क्षमता प्रदर्शन गर्ने क्रममा उक्त गाडी ड्राइभर परिवर्तन गर्दा मात्र रोकिएको थियो ।

वायरलेस चार्जिङको क्षमता प्रदर्शन गर्न सबैभन्दा पहिले कम्पनीले २०० मिटर गोलो बाटो तयार पार्‍यो । जसको २५ प्रतिशत भागमात्र विद्युतीय बनाइएको थियो । त्यसपछि गाडीमा वायरलेस चार्जिङ सपोर्ट गराउन क्वाइल जडान गरियो । यति गरेपछि परीक्षण सुरु भयो ।

विद्युतीय बनाइएको भागमा पुग्दा गाडीको ब्याट्री चार्ज हुन्थ्यो भने बाँकी दूरीमा त्यही चार्जको सहायताले चल्थ्यो । यसरी टोयोटाको आरएभी फोर प्राइम एसयूभीले लगातार एक सय घण्टा २४ मिनेट १५ सेकेन्डसम्म यात्रा गरेको हो । सीईओ ईजरका अनुसार हाइवे स्पिडमा पनि इलेक्ट्रिक रोडले गाडीले खपत गर्नेभन्दा बढी विद्युत प्रवाह गरेको थियो ।

सीमित रेञ्ज र अनुपयुक्त चार्जिङका कारण मानिसहरू विद्युतीय सवारी प्रयोग गर्न डराइरहेका हुन्छन् । इलेक्ट्रियोनले भने आफूले तयार पारेको इलेक्ट्रिफाइड रोड र मोडिफाई गरिएका ईभीलाई जोडर यी समस्या समाधान गर्ने दाबी गरेको छ । 

अहिले  बजारमा आएको ल्युसिड एयर ग्रान्डले एक पटकको चार्जमा सबैभन्दा बढी रेञ्ज अर्थात् ८३० किलोमिटर रेञ्ज दिएको छ । जसको मूल्य एक लाख ३८ हजार डलर (करिब एक करोड ८२ लाख रुपैयाँ) रहेको छ । 

ईजरका अनुसार प्रमुख सवारी निर्माता कम्पनीबाट बजारमा वायरलेस चार्जिङ क्षमता भएका विद्युतीय गाडी खरिद गर्न दुईदेखि तीन वर्ष पर्खिनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० ८:३५