close

४४० किलोमिटर रेञ्ज दिने भोल्भोको सानो बिजुली कार सार्वजनिक

टेकपाना टेकपाना

जेठ २५, २०८० १६:४२

४४० किलोमिटर रेञ्ज दिने भोल्भोको सानो बिजुली कार सार्वजनिक

काठमाडौं । स्विडेनकाे कार निर्माता कम्पनी भोल्भोले आफ्नो सबैभन्दा सानो विद्युतीय गाडी 'भोल्भो ईएक्स ३०' सार्वजनिक गरेको छ । बुधबार इटालीको मिलान सहरमा एक कार्यक्रम गर्दै कम्पनीले चौंथो इलेक्ट्रिक मोडेलको गाडी सार्वजनिक गरेको हो ।

विगत लामो समयदेखि विभिन्न किसिमका इन्धनयुक्त सवारी निर्माण गर्दै आएको कम्पनी पछिल्लो समय विद्युतीय सवारी निर्माणमा सक्रिय छ । कम्पनीले सन् २०१९ मा पहिलो पटक विद्युतीय गाडी एक्ससी फोर्टी सार्वजनिक गरेको थियो ।

सार्वजनिक भएको ईएक्स ३० को लम्बाइ ४,२३३ एमएम, चौडाइ १,८३७ एमएम र उचाइ १,५५५ एमएम रहेको छ ।

मोटरका सन्दर्भमा भोल्भो ईएक्स ३० विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ, जसमा एक्सटेन्डेड प्लस, एक्सटेन्डेड अल्ट्रा र ट्वीन पर्फमेन्स अल्ट्रा रहेका छन् ।

यसमा राखिएको ६४ किलोवाट आवर क्षमताको ब्याट्रीलाई डीसी चार्जरको सहायताले २६.५ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ । गाडीमा ३१.९ क्युबिक फिट लगेज स्पेस राखिएको छ ।

सिङ्गल मोटर भेरियन्टले एक पटकको फुल चार्जमा ४४२ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस भेरियन्टको ईभीले शुन्यदेखि ९६ किलोमिटर प्रति सेकेन्डको गति ५.१ सेकेन्ड हासिल गर्छ ।  

त्यस्तै ट्वीन मोटर भेरियन्टले एक पटकको चार्जमा ४२६ किलोमिटर रेञ्ज दिने बताइएको छ ।  यसले शून्यदेखि ९६ किलोमिटर प्रति सेकेन्डको गति ३.६ सेकेन्डमा हासिल गर्छ ।

त्यसबाहेक यसमा पार्किङ गर्न सघाउने पार्क पाइलट असिस्ट, ३६० डिग्री क्यामेरा जस्ता फिचर रहेका छन् ।

ड्राइभरले गाडीको ढोका खोल्दा छेउबाट कोही गइरहेको छ भने त्यसको अलर्ट पठाउने प्रणाली पनि रहेको छ । त्यस्तै चालकलाई गाडी चलाउन सघाउने उद्देश्यले कम्पनीले यसमा 'पाइलट असिस्ट' फिचर उपलब्ध गराएको छ, जसले गाडीलाई कसरी, कुन मोडबाट चलाउने भन्ने कुरामा गाइड गर्छ ।

तीव्र स्पिडमा रहेको बेला पैदलयात्री तथा दुई पाङ्ग्रे सवारी चालक ठोकिने सम्भावना उच्च हुन्छ । यस्तो जोखिम कम गर्न गाडीमा 'कोलाइजन एभोइडेन्स सिस्टम' रहेको छ । त्यस्तै गाडी चलाउँदा चालकको ध्यान अन्त कतै छ भने यसमा रहेको ड्राइभर अलर्ट सिस्टमले चालकलाई सतर्क गराउँछ ।

कम्पनीका अनुसार चालकको आँखालाई ट्रयाक गर्न गाडीमा विभिन्न इन्फ्रारेड सेन्सर रहेका छन् । त्यस्तै गाडीको अगाडि रहेका फ्रन्ट फेसिङ क्यामेराले बाटोको निगरानी गरिरहेका हुन्छन् । यसैगरी गाडीमा भएको अर्को सेन्सरले स्टेरिङको ह्विललाई ट्रयाक गरिरहेको हुन्छ ।

यी सबै डेटालाई हरेक सेकेन्ड गाडीको एआई सिस्टमले विश्लेषण गर्छ । त्यस्तोमा यदि ड्राइभरको ध्यान अन्यत्रै केन्द्रित छ भने तत्कालै गाडीको सिस्टमले ड्राइभरलाई त्यसको जानकारी दिने कम्पनीको दाबी छ ।

कनेक्टिभिटीको कुरा गर्नुपर्दा भोल्भो ईएक्स ३० मा रियल-टाइम कनेक्सनका लागि फाइभजी प्रणाली जडान गरिएको छ । त्यस्तै हरेक सिस्टमलाई तीव्र स्पिडमा सञ्चालन गर्नका लागि यसमा क्वालकम टेक्नोलोजिज ईंकको स्नापड्रागन ककपिट प्लेटफर्म उपलब्ध गराइएको छ ।

सन् २०२४ बाट बजारमा आउने ईएक्स ३० को सुरुवाती मूल्य ३४ हजार ९५० डलर (करिब ४६ लाख रुपैयाँ ) तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १६:४२