close

चिनियाँले बनाए मानव मष्तिष्कको सङ्केतको आधारमा भिडिओ तयार पार्ने एआई टुल

टेकपाना टेकपाना

जेठ २६, २०८० १२:२७

चिनियाँले बनाए मानव मष्तिष्कको सङ्केतको आधारमा भिडिओ तयार पार्ने एआई टुल

काठमाडौं । नेसनल युनिभर्सिटी अफ सिङ्गापुर र द चाइनिज युनिभर्सिटी अफ हङकङका अनुसन्धानकर्ताले मष्तिष्कको सङ्केतबाट भिडिओ तयार पार्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल बनाएको दाबी गरेका छन् । 

सार्वजनिक रूपमा उपलब्ध 'एफएमआरआई' (FMRI) रिडिङको डेटाका माध्यमबाट प्रशिक्षण दिइएको सो एआई टुलले प्रयोगकर्ताको मस्तिष्कका गतिविधि रेकर्ड गरी भिडिओ बनाउने अनुसन्धानकर्ताको दाबी छ । 

अनुसन्धानकर्ताले विकास गरेको माइन्ड-भिडिओ (MinD-Video) एआई टुलले स्टेबल डिफ्युजन टुलका साथै भिडिओ देखाउँदा एफएमआरआई रिडिङमा देखिएको मानिसको मष्तिष्कको क्रियाकलापको डेटालाई संयोजन गरी भिडिओ तयार पारेको हो ।

अनुसन्धानकर्ताका अनुसार उनीहरूले विकास गरेको यो मोडेलले मानिसको मष्तिष्कको कुरालाई ८५ प्रतिशतसम्म सटीक रूपमा  भिडिओमा देखाउँछ ।  

“हाम्रो जटिल मस्तिष्कभित्र लुकेको जानकारी बुझ्ने ‘कग्निटिभ न्यूरोसाइन्स’ का लागि यो एक ठूलो उपलब्धि हो,” रिपोर्टमा लेखिएको छ, “हामीले माइन्ड-भिडिओका माध्यमबाट मस्तिष्कका कुरालाई उच्च गुणस्तरका भिडिओमा देखाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छौं ।”

यसअघि अनुसन्धानकर्ताले ब्रेन वेभ (मष्तिष्कमा उत्पन्न हुने तरङ्ग) लाई एआईले विश्लेषण गरी तस्वीर बनाएको रिसर्चलाई आधार मानेर नयाँ रिपोर्ट तयार पारिएको बताइएको छ । 

रिसर्चरले वेबसाइटमा वास्तविक भिडिओ र एआईले तयार पारेको भिडिओमा के-कस्ता भिन्नता छन् भन्ने देखाएका छन् । गिफ फाइलमा उपलब्ध भिडिओलाई हेर्दा एआईले बनाएको भिडिओ वास्तविक जस्तै देखिन्छ । तर, भिडिओको रङ भने केही फरक छ । 

मष्तिष्कमा आएका कुराहरू देखाउने हेलमेट

अनुसन्धानकर्ताले पछिल्लो समय उदायका विभिन्न एआई टुलको सहायताले मष्तिष्कका गतिविधिलाई भिजुअलमा देखाउन सकिने बताएका छन् । 

अनुसन्धानकर्ताले यो अनुसन्धानको सहयोगमा भविष्यमा मानिसको दिमागमा आएका कुरा हेलमेटमा देखाउन सकिने बताएका छन् । यद्यपि यो परियोजनाबारे भने अनुसन्धानकर्ताले धेरै खुलाएका छैनन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १२:५०