close

सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मकः न्यास-आईटी

टेकपाना टेकपाना

जेठ २६, २०८० १६:५६

सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मकः न्यास-आईटी

काठमाडौं । नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज (न्यास-आईटी) ले सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएकाे बजेटलाई स्वागत गरेको छ । बजेटले देशको आईटी क्षेत्रमा आशा र अवसर जगाएको भन्दै एसोसियनले स्वागत गरेको हो ।

बजेटमा सूचना प्रविधि क्षेत्रले देशको आर्थिक वृद्धि विकासले पुर्‍याउन सक्ने योगदानलाई स्थान दिइएको न्यास-आईटीकाे विश्लेषण छ । "हामीले नीति संशोधनका लागि राखेका केही अनुरोधहरू सरकारले सम्बोधन गरेको छ," संस्थाका अध्यक्ष रिचन श्रेष्ठले भने, "आईटी क्षेत्रको लागि न्यूनतम एफडीआई सीमा हटाइएको छ, यसले प्राविधिक कम्पनीहरूको लागि नयाँ सम्भावना ल्याएको छ ।"

यो नीतिले राष्ट्रिय र विश्वव्यापी रुपमा प्राविधिक क्षेत्रमा काम गर्नेहरूबीचको दूरीलाई कम गर्ने उनकाे भनाइ छ । साथै ज्ञानको आदानप्रदानलाई सहज बनाउने र नेपालीहरूलाई परिचालन गर्ने डायस्पोरा र नेपाली आईटी कम्पनीहरूको पहुँच विस्तार गर्नमा पनि मद्दत पुग्ने उनले विश्वास छ ।

साथै बजेटले प्राविधिक कम्पनीहरूलाई विदेशमा शाखा कार्यालय स्थापना गर्नको लागि आफ्नो राजस्वको १० प्रतिशत लगानी गर्न अनुमति दिएकाले यसबाट प्रभावकारी रूपमा व्यावसायिक गतिविधिमा थप मद्दत पुग्ने उनले उल्लेख गरे ।

"बजेट घोषणाले निजी क्षेत्र र सरकारबीच सहकार्यको आवश्यकतालाई मान्यता दिएको छ । सरकारले ल्याएका नीतिहरू कार्यान्वयन गर्नका लागि न्यास आईटी सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ," उनले भने, "सरकारले सुरु गरेको सकारात्मक परिवर्तनले नेपाललाई प्रविधिको हब बन्न मद्दत पुग्नेछ ।”

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १६:५६