close

अब पर्यटन जस्तै नेपालका आईटी कम्पनीको पनि अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नुपर्छ

रिचन श्रेष्ठ रिचन श्रेष्ठ

असार ५, २०८१ १४:१८

अब पर्यटन जस्तै नेपालका आईटी कम्पनीको पनि अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नुपर्छ

 

“सगरमाथाको देश नेपाल पर्वतारोहणका लागि विश्वकै एक उत्कृष्ट गन्तव्य हो । तर नेपालमा सूचना प्रविधि (आईटी) को पनि काम हुन्छ र यस क्षेत्रमा पनि यो देश अगाडि छ भन्ने मलाई थाहा थिएन ।”

यो भनाई गत हप्ता बेलायतको राजधानी लण्डनमा आयोजित ‘लण्डन टेक विक २०२४’ मा ‘नेपाल प्याभिलियन’ भिजिट गरेपछि क्रम्बी युरोपका प्रबन्ध निर्देशक मिल्टन नेभिसले व्यक्त गरेको भनाईको अनुवादित रूप हो । उनको त्यो अभिव्यक्ति मेरो मस्तिष्कमा अझै ताजा छ ।

अघिल्लो हप्ता नेपालबाट विभिन्न १५ ओटा आईटी कम्पनीका प्रतिनिधिहरू लण्डन टेक विकमा सहभागी हुन बेलायत गएका थियौँ । म आफैं पनि न्यास आईटी (NAS IT) को अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिज (एक सफ्टवेयर तथा एआई डेभलपमेन्ट कम्पनी) को सीईओको हैसियतमा सहभागी भएको थिएँ ।

जुन १० देखि १२ सम्म तीन दिन चलेको उक्त प्रदर्शनीमा ५० हजार भन्दा धेरै ‘आमन्त्रित’ अवलोकनकर्ताको सहभागिता रहेको थियो । ती मध्ये नेपाली कम्पनीहरूको प्रदर्शनी स्थल ‘नेपाल प्याभिलियन’ अवलोकन गर्नेको सङ्ख्या करिब दुई हजारको हाराहारीमा थियो ।

‘नेपाल प्याभिलियन’ मा आएका मध्ये धेरैजसो पहिले नै नेपालसँग कुनै न कुनै प्रकारले परिचित भएका रहेछन् । कोही नेपाल घुम्न आइसकेका रहेछन्, त कसैका नेपालमा साथीहरू पनि रहेछन् । नेपाल र बेलायतबिच १०० वर्ष भन्दा पुरानो सम्बन्ध रही आएको छ । पुरानो दौत्य सम्बन्ध, गोर्खा सैनिक, पर्वतारोहण आदि त्यसका केही आयाम हुन् । शायद त्यसै कारणले पनि हुन सक्छ, उनीहरूमा नेपालप्रति एक प्रकारको आकर्षण देखिन्थ्यो ।

नेपालबाट जति पनि कम्पनीहरू त्यहाँ सहभागी हुन गएका थियौं, धेरैले केही न केही सिक्ने अवसर पायौं । यति मात्र होइन, बेलायतका विभिन्न स्थान तथा अन्य देशकाबाट आएका उद्यमी र लगानीकर्ताहरूसँग भेटघाट गर्ने अनि आफ्नो कम्पनीको प्रचार गर्ने मौका छोड्ने त कुरै भएन ।

नेपालबाट यति धेरै सङ्ख्यामा कम्पनीहरू सहभागी भएर यस्तो लाभ उठाएको सम्भवतः यो नै पहिलो पटक नै होला । तर मेरो मनमा एउटा सानो कुरा भने खड्क‍ी रह्यो । उक्त प्रदर्शनीमा पाकिस्तान, प्यालेस्टाइन, युक्रेन, दक्षिण अफ्रिका, माल्टा जस्ता देशका ठुला बुथहरू थिए । नेपालको भने सानो बुथ थियो। हामीले अर्को वर्षको प्रदर्शनीमा अझै धेरै पूर्व तयारीका साथ अलि ठूलो प्याभिलियन लिनुका साथै त्यसलाई आकर्षक बनाउन केही रोचक कार्यक्रमहरू पनि राख्‍न सक्छौँ । जस्तै: सगरमाथा आधार शिविरको टिकेट सहितको प्रतियोगिता, मोमो स्टल आदि । यसबाट अवलोकनकर्ता माझ नेपाल चिनाउन थप सहयोग पुग्न सक्छ ।

लण्डन टेक विकको समापन पश्चात् बेलायतस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गर्‍यो । जहाँ नेपालबाट सहभागी भएका हामीलाई मात्र नभएर बेलायतमै बसेर आईटी उद्यम गरिरहेका नेपालीलाई उक्त कार्यक्रममा निम्त्याइएको थियो । उक्त कार्यक्रममा दूतावास तथा कूटनीतिक सम्बन्धको लाभ उठाउन र नेपाललाई आईटी हबको रूपमा प्रवर्द्धन गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो मन्तव्य पनि राखे ।

नेपालमा आईटी आउटसोर्सिङका लागि ठुलो सम्भावना छ । लण्डनले नेपाली कम्पनीहरूलाई बेलायत र अन्य युरोपेली देशमा सेवा विस्तार गर्न गेट-वे प्रदान गर्छ । पूर्वी युरोप र भारत महँगो हुँदै गइरहेको बेला नेपाल कम लागतको आउटसोर्सिङ गन्तव्य बन्न सक्छ ।

साथै, देशको पर्यटन क्षेत्रमा गरिएको जस्तै ब्राण्डिङ आईटीको क्षेत्रमा पनि गर्नुपर्ने आवश्यकता अपरिहार्य बन्न थालेको छ । हामीले गरेका काम र विकास गरेका प्रोडक्टको ब्राण्डिङ गर्नुपर्नेछ । एआई लगायतका क्षेत्रमा पनि नेपाली आईटी कम्पनीहरूले धेरै काम गरिसकेका छन् । नेपाली युवाका आईटी सीप र बनाएका प्रोडक्ट विश्वस्तरमै प्रतिस्पर्धा गर्न मिल्ने खालका छन् ।

नेपाल सरकारले आफ्नो वार्षिक कार्यक्रममै आईटी कम्पनीले विदेशमा आफ्नो शाखा कार्यालय खोल्न पाउने प्रावधान ल्याउन लागेको छ । लण्डनमा स्टार्टअप कम्युनिटी उदाउँद‍ो छ र प्रारम्भिक चरणमा रहेका कम्पनीका लागि भेन्चर क्यापिटल इकोसिस्टम अत्यन्तै आकर्षक रहेको पाइयो । नेपाल सरकारको प्रावधान अनुरूप नेपाली कम्पनीहरूले बेलायतमा आफ्नो शाखा खोली उक्त वातावरणको फाइदा लिन सक्छन् ।

साथै, नेपाल सरकारले पनि नेपाली आईटी उत्पादनलाई विदेशमा प्रवर्धन गर्न आफ्ना राजदूतावास र कूटनीतिक नियोगहरूलाई पनि परिचालित गर्नुपर्छ । यसो गर्न सकेमा नेपालको आईटी क्षेत्रको सम्भावनालाई अझ उजागर गरी नेपाली आईटी उद्योगलाई थप अगाडि बढाउन सकिन्छ । जसले गर्दा सरकारले राखेको आगामी १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्य हासिल हुन सक्छ।

रिचन श्रेष्ठ

(लेखक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (NAS-IT) का अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ हुन्।)

 

पछिल्लो अध्यावधिक: असार ५, २०८१ २१:५६