close

नेपालमा सूचना प्रविधिको विकासमा सहयोग गर्न चीनलाई सञ्चारमन्त्रीको आग्रह

टेकपाना टेकपाना

जेठ २६, २०८० १९:१३

नेपालमा सूचना प्रविधिको विकासमा सहयोग गर्न चीनलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिको विकासमा सहयोग गर्न चीनलाई आग्रह गरेकी छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले यस्तो आग्रह गरेकी हुन् ।

सूचना प्रविधिको क्षेत्रबाट सम्बृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने मन्त्री भनाइ राखिन् ।

नेपालले आफ्नै भू-उपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापी रूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आईटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् ।

नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराइन् ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने भनाइ राखे ।

चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने धारणा राखे ।

डेटा एप्लिकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाइ गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताए ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८० १९:४४