close

डिजिटल नेपाल निर्माणका लागि जनशक्ति तयार पार्नु आजको आवश्यकता होः मन्त्री शर्मा

टेकपाना टेकपाना

माघ १२, २०८० १७:५२

डिजिटल नेपाल निर्माणका लागि जनशक्ति तयार पार्नु आजको आवश्यकता होः मन्त्री शर्मा

काठमाडौं । डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र परिचालन गर्ने जनशक्ति तयार पार्नु आजको आवश्यकता भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् । आजदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सुरु भएको २०औं लाेकस प्रविधि मेला उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले डिजिटल नेपाल निर्माणका लागि जनशक्ति तयार पार्न अपरिहार्य रहेको बताइन् ।

“एकातिर देशमा सबैतिर डिजिटल पूर्वाधार तयार पार्न सकिरहेका छैनौं,” मन्त्री शर्माले भनिन्, “अर्कोतिर शिक्षा, चेतना, आर्थिक अवस्था आदिका कारणले पनि सबै नागरिकले समान रूपमा सूचना प्रविधिको प्रयोग गर्ने अवस्था सिर्जना गर्न सकिरहेका छैनौं । डिजिटल नेपालका लागि यी चुनौतीको सम्बोधन गर्नुपर्ने छ ।” 

परिवर्तनशील प्रविधिहरूलाई निर्देशन गर्ने कानूनहरू अत्यन्तै पुराना भएको पनि उनको भनाइ थियो । “सूचना सञ्चार र प्रविधिको क्षेत्रमा धेरै चुनौती छन् । यसलाई आवश्यक नीति योजना बनाएर कम गर्न सकिन्छ । सञ्चार तथा प्रविधि मन्त्रालय यसका लागि काम गरिरहेको छ,” उनले भनिन् ।

त्यस्तै पछिल्लो समयमा विकसित भएका रोबोटिक्स, एआई, आईओटी, ब्लकचेन आदि क्षेत्रमा पनि राज्यको धारणा स्पष्ट हुन आवश्यक रहेको उनले उल्लेख गरिन् । 

माघ १२-१४ सम्म हुने लोकस मेलामा डिजिटल नेपालका पाँच क्षेत्र शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा र सहरी पूर्वाधार सम्बन्धी विद्यार्थी परियोजना प्रदर्शनीमा राखिएका छन् ।​ यसबाहेक सफ्टवेयर/हार्डवेयर फेलोशिप, फोटोग्राफी प्रतियोगिता लगायतका अन्य कार्यक्रम हुनेछन् । कार्यक्रमबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १८:५