काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर मर्चेन्ट एक्टिभेसन सेवा सुरु गरेको छ । डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न भन्दै बैंकले आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने व्यवसायीहरूलाई विभिन्न सुविधा सहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको हाे ।
यो योजना २०८० असार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू यस योजनामा समावेश हुनेछन् । अर्थात यो याेजनामा पहिले नै आबद्ध भइसकेका व्यवसायी नभई आवद्ध हुन चाहेका नयाँ व्यवसायीले मात्र यसको फाइदा उठाउन सक्नेछन् ।
यस योजना अन्तर्गत यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २००० रुपैयाँ बराबरका १० ओटा ह्याम्पर, त्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५-५ हजार रुपैयाँ बराबरको १०० ओटा भाउचर, हार्ड रक क्याफेको तर्फबाट १० ओटा भाउचर, बिग डिजिटलको तर्फबाट १-१ थान राइस कुकर, ब्रेकफास्ट मेकर र ह्यान्ड ब्लेन्डर साथै सीजी डिजिटलको तर्फबाट १-१ थान मिक्सर ग्राइन्डर, इन्डक्सन कुकर र ड्राइ आइरन प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकले ट्रयान्कुलिटी स्पाकोको तर्फबाट ५० ओटा भाउचर, अगेनो सेकुवाको तर्फबाट १-१ हजार रुपैयाँका चार ओटा भाउचर, हुकुट स्टोरको तर्फबाट छ ओटा घडी एवं दुई ओटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजार रुपैयाँका पाँच ओटा भाउचर, अपटाउन रेस्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको पाँच ओटा भाउचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका तीन ओटा भाउचर प्रदान गर्नेछ ।
यी उपहारहरू बैंकले २०० व्यवसायीहरूलाई उनीहरूको कारोबार रकम र कारोबार संख्याका आधारमा छनोट गरेर उपलब्ध गराउने बैंकले जनाएको छ ।
साथै बैंकको फोनपेको क्यूआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने सबै व्यवसायीहरूले एक पटक वा पटक-पटक गरी २०० भन्दा माथिको भुक्तानी लिँदा १०० रुपैयाँ क्याशब्याक प्राप्त गर्नेछन् ।
क्यूआर मर्चेन्ट सेवा लिन बैंकको वेबसाइटमा गएर 'अप्लाइ नाउ' आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये 'बी अ मर्चेन्ट' बाट अनलाइन आवेदन दिन सक्नेछन् ।