close

घरमै बसी स्वास्थ्य सेवा लिन सकिने एप ‘नेपमेड्स’

टेकपाना टेकपाना

जेठ ३१, २०८० १३:४

घरमै बसी स्वास्थ्य सेवा लिन सकिने एप ‘नेपमेड्स’

काठमाडौं । अनलाइनबाटै स्वास्थ्य सेवा दिने लक्ष्यसहित ‘नेपमेड्स’ (NepMeds) एप सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपमेड्सकाे एप तथा वेबसाइट सार्वजनिक गरिएको हो ।

हाल माेबाइलका लागि एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यो एप यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ । त्यस्तै डेस्कटपमा नेपमेड्स प्रयोग गर्न यहाँ क्लिक गरी वेबसाइटमा जानुपर्ने हुन्छ ।

डिजिटल जमानामा स्वास्थ्यलाई प्रविधिसँग जोड्ने उद्देश्यले प्लेटफर्म सुरु गरेको नेपमेड्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) केदार चौलागाईंले बताए । “अहिले प्रविधिलाई मानिसहरूले निकै रुचाएको अवस्था छ,” उनले भने, “स्वास्थ्य र प्रविधिलाई जोड्ने पुलका रूपमा हामी आएका हौं ।”

के हो नेपमेड्स, कसरी सुरु भयो ?

केदार चौलागाईं पेसाले सफ्टवेयर इन्जिनियर हुन् । करिब आठ वर्ष सफ्टवेयर विकासको अनुभव बोकेका उनी एउटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित प्लेटफर्म बनाउन चाहन्थे ।

“मेरो आफ्नै घरमा आमा र बुवा सुगर र प्रेसरको बिरामी हुनुहुन्छ,” चौलागाईं भन्छन्, “यो मेरो मात्र नभई सबैको घरको कथा जस्तो लाग्छ । मेरो बुवाको औषधि लिन भने म जोरपाटी बस्छु भने चाबहिल आउनुपर्छ । अनि मेरो आमाको औषधि ल्याउन म टिचिङ हस्पिटल पुग्नुपर्छ । र, हरेक महिना म यसरी चाबहिल र टिचिङ पुग्नुपर्ने बाध्यता छ ।”

यस्तो बाध्यता सबैलाई परेको हुनसक्छ भन्ने बुझेका चौलागाईंले सबै सेवा एउटैमा उपलब्ध हुने प्लेटफर्मको आवश्यकता महसुस गरे ।

चार वर्षअघि सोही एपको परिकल्पना गरिरहेका चौलागाईंको भेट विभिन्न क्षेत्र (बिजनेस तथा मेडिकल) मा आबद्ध भएका व्यक्तिहरूसँग भयो । उनले आफूले भेटेका व्यक्तिसँग कुरा गर्दै सहकार्य गरेर यस्तो प्लेटफर्म बनाउने योजना सुनाए ।

उनको योजनालाई साथ दिँदै छ जना नेपमेड्समा जोडिए । र, त्यहीँबाट नेपमेड्सको यात्रा सुरु भयो ।

के हो नेपमेड्स ?

'नेपमेड्स', नेपाली र मेडिसिनको संयुक्त रूप हो । हरेक नेपालीको हातमा मेडिकल सेवा पुगोस् भन्ने मनसायले यसको सुरु गरेको चौलागाईं सुनाउँछन् ।

यो त्यस्तो अनलाइन प्लेटफर्म हो, जहाँबाट स्वास्थ्य सेवासँग सम्बन्धित सामग्री खरिद गर्न, चिकित्सकसँग परामर्श लिन, स्वास्थ्य परीक्षणका लागि ल्याब प्याथोलोजिस्ट आफूले भनेको ठाउँमा बोलाउन सकिन्छ ।

हाल एपमा ल्याब प्याथोलोजी सेवा र चिकित्सक परामर्श सेवा थपिने क्रममा छन् ।

“हामी स्वास्थ्य सेवासँग सम्बन्धित एउटा कम्प्लिट प्याकेज भएको एप बनाउन लागिपरेका छौँ,” उनी भन्छन्, “हाल हेल्थ केयर प्रडक्ट खरिद गर्ने सेवा मात्र लाइभ छ । बाँकी दुई महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरेका छौं ।”

त्यसबाहेक एप सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी हुने चौलागाईं बताउँछन् । भन्छन्, “म औषधि खान्न अथवा म हेल्थ प्रडक्ट प्रयोग गर्दिनँ । त्यसोभए यो एप किन एप प्रयोग गर्ने भन्ने प्रश्न उठ्न सक्छ । त्यस्तोमा यहाँ यस्ता सेवाहरू पनि छन्, जो सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी हुन्छन् ।”

उनका अनुसार नेपमेड्स एपबाट ब्लड बैंकको सूचना, अस्पतालसम्बन्धी जानकारी, आपतकालीन सेवाका चाहिने एम्बुलेन्स र दमकलको पूर्ण विवरण पाउन सकिन्छ ।

यसैगरी एपमा 'हेल्थ लाइब्रेरी' भन्ने फिचर पनि समावेश छ । चौलागाईंका अनुसार स्वास्थ्यसँग सम्बन्धित विभिन्न जानकारी हेल्थ लाइब्रेरीबाट पाउन सकिन्छ ।

“कुनै पनि प्रडक्टको सूचना विस्तृतमा चाहियो वा कुन प्रडक्टले कसरी काम गर्छ भन्ने बुझ्नुपर्‍यो भने एप उपयाेगी हुन्छ,” चौलागाईं थप्छन्, “यसलाई सर्वसाधारणदेखि नर्स वा डाक्टरले समेत प्रयोग गर्न सक्छन् ।”

विदेशी औषधिको जानकारी विभिन्न साइटमा उपलब्ध हुने भएपनि नेपाली औषधिका लागि त्यस्तो प्लेटफर्मको अभाव भएकाले नेपमेड्समा सो सेवा ल्याएको उनी सुनाउँछन् । 

जोकोहीले खरिद गर्न पाउँदैनन् औषधि

औषधि एपबाटै खरिद गर्न सकिने भएपछि त्यसको दुरुपयोग हुने सम्भावनालाई ख्याल गरेको चौलागाईं बताउँछन् ।

“औषधिलाई सधैं सबैले सही ढङ्गले प्रयोग गर्छन् भन्ने हुँदैन,” उनी भन्छन्, “त्यसैले एपबाट औषधि खरिद गर्नका लागि प्रयोगकर्ताले डाक्टरले लेखिदिएको औषधिको नामसहितको सिफारिस अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि हामी त्यसलाई पूर्ण रूपमा प्रमाणीकरण गरेर औषधि उपलब्ध गराउँछौं ।” 

औषधिसँगै कम्पनीले भ्याट बिल, त्यसैमा एक्स्पाइरी तथा म्यानुफ्याक्चर डेट समावेश गर्छ । यसरी सेवाग्राहीले आफूले प्रयोग गरिरहेको औषधिको मिति कहिले गुज्रिन्छ भन्ने कुरा हेर्न सहज हुने चौलागाईं बताउँछन् । 

चार वर्ष परीक्षणपछि एप सार्वजनिक

एप परिकल्पना गरिसकेपछि सबै सहसंस्थापकहरू आफ्नो क्षेत्रबाट उक्त प्लेटफर्मलाई अगाडि बढाउनतर्फ लागे । त्यसमा पनि सबैभन्दा पहिले बजार अवस्था बुझ्नुपर्ने  थियो ।

बजार अवस्था, आफूले डेलिभरी गर्नसक्ने सहरहरू, त्यसबाहेक काम गर्दै जाँदा आइलाग्ने अन्य चुनौतीलाई मध्यनजर गर्दै काम गर्न थाले । उनीहरूले विभिन्न व्यक्तिहरूको धारणा बुझ्दै, बजारलाई नियाल्दै देशका २५० बढी सहरमा डेलिभरी गरे ।

यसरी सबै किसिमका परीक्षण सकेपछि हालै एप सार्वजनिक गरिएकाे हाे । 

आजका दिनमा ग्रामीण क्षेत्रमा विशेषज्ञ डाक्टर पाउनु ठूलो चुनौती छ । गाउँमा विशेषज्ञ डाक्टर नपाइने, सहर धाउन खर्च बढी लाग्ने जस्ता समस्यालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रलाई लक्षित गर्दै एप ल्याएको चौलागाईंको भनाइ छ ।

“बिरामी मान्छेले भनेकै समयमा विशेषज्ञ डाक्टरसँग परामर्श गराउन सकियो भने त्यो ठूलो धर्म हुन्छ,” चौलागाईं अगाडि भन्छन्, “हाम्रो लक्ष्य नै सर्वसाधारणलाई राम्रो स्तरको स्वास्थ्य सेवा पुर्‍याउने हो ।”

कस्तो छ नेपमेड्स ? 

हाल डाक्टर कन्सल्टेन्ट र प्याथोलोजी सेवामा काम गरिरहेको भएपनि फार्मेसी अन्तर्गतका १० हजार सामग्री राखिसकेको चौलागाईं बताउँछन् ।

एपमा प्रयोगकर्ताले आफ्नो स्वास्थ्यसँग सम्बन्धित डेटा राख्नसक्ने, ब्लड बैंक, हस्पिटल, एम्बुलेन्स, हेल्थ लाइब्रेरी जस्ता फिचर प्रयोग गर्न पाउनु रोचक पक्ष हुन् ।

कम्पनीले दुई महिनाभित्र चिकित्सक परामर्श र ल्याब प्याथोलोजीको अप्सन लाइभ गर्ने योजना बनाएको छ । विस्तारै आवश्यक फिचरहरू परिमार्जन गर्दै जाने उद्देश्य राखिएकाे छ । 

प्रयोगकर्ताको विश्वास जित्न निकै संघर्ष गर्नुपरेको अनुभव सुनाउँदै चौलागाईं भन्छन्, “अहिले पनि प्रयोगकर्ताको विश्वास जित्नु चुनौतीकै विषय छ । हामी दिनानुदिन राम्रो सेवा दिएर सेवाग्राहीको विश्वास बटुलिरहेका छौं ।”

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १३:४६