काठमाडौं । युरोपेली संघले पहिलेदेखि नै ब्याट्री फेर्न मिल्ने स्मार्टफोनको उत्पादन तथा बिक्री गर्नुपर्ने विषय उठाउँदै आएको छ ।
आजभन्दा एक दशक अगाडिसम्म ब्याट्री झिक्न मिल्ने फिचर भएको स्मार्टफोनहरू बजारमा हुने गर्थे । तर समयसँगै कम्पनीहरूले ब्याट्री झिक्न नमिल्ने स्मार्टफोन उत्पादन गर्न थाले । यसको सुरुवात एप्पलले गरेको थियो ।
एप्पलले ब्याट्री झिक्न नमिल्ने फोन सार्वजनिक गरेसँगै बिस्तारै अन्य कम्पनीहरूले पनि यही कुरालाई पछ्याउदै गयो । तर अब भने फेरी यस्तै स्मार्टफोन बजारमा आउन सक्ने सम्भावना बढेर गएको छ । संघले हालै ब्याट्री फेर्न मिल्ने स्मार्टफोन उत्पादनको पक्षमा एउटा विधेयक पारित गरेको छ ।
शनिबार बसेको संघको बैठकले उक्त विधेयक पारित गरेको हो । प्रयोगकर्ताले आफ्नो डिभाइसको मर्मत आफै गर्न पाउनुपर्ने लगायतका विभिन्न नियमसहित ब्याट्री झिक्न मिल्ने स्मार्टफोनको उत्पादन गर्नुपर्ने कुरालाई विधेयकले सम्बोधन गरेको छ ।
यो नीतिले मोबाइल कम्पनीहरूले स्वीकार गर्ने छ वा छैन भन्ने विषयमा भने जानकारी बाहिर आउन बाँकी नै छ । तर लामो समयदेखि छलफलमा रहेको यो नीतिलाई संघले भने पारित गरेको हो । संघका अनुसार यो नियम सन् २०२७ देखि लागू हुनेछ ।