च्याटजीपीटी आएसँगै विश्वभर एआई प्रविधिले व्यापक चर्चा पाइरहेको छ । साथै एआई प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने कुरा पनि धेरैले अहिले नजिकबाट महसुस गर्न थालेका छन् । नेपाली प्रविधि कम्पनी फ्युज मसिनले पनि विगत लामो समयदेखि यही प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ । सोही कम्पनीका संस्थापक डा. समीर मास्केसँग एआई प्रविधि विकासका पछिल्ला आयाम, विश्वमा भइरहेको प्रयोग, सम्भावना, निम्त्याउन सक्ने जोखिम, नियमन आदि सवालमा टेकपानाका लागि गोपाल साउदले गरेको कुराकानीको सम्पादित अंश ।
ओपन एआई तथा च्याटजीपीटी आएपछि अहिले एआई विश्वव्यापी रूपमा निकै चर्चाको विषय बनेको छ । यो सन्दर्भमा एआई तथा मसिन लर्निङ प्रविधिको अहिलेको अवस्थालाई कसरी नियाल्नु भएको छ ?
ऐतिहासिक रूपमा अहिले एआईले एकदमै चर्चा परिचर्चा पाइरहेको छ । पहिले एआईले गर्दै नगर्ने कामहरू अहिले गर्नसक्ने भएको छ । खासगरी ठूलो ल्याङ्ग्वेज मोडलको रूपमा च्याटजीपीटी अगाडि आएको छ । यसले सारांश लेखिदिन, कोडिङ गरिदिने, गृहकार्य गरिदिने र जाँच दिने जस्ता काम गर्न सक्छ ।
यस बाहेकका अन्य थुप्रै काम पनि यसले सम्पन्न गर्ने सामर्थ्य राख्छ । च्याटजीपीटीले सन् २०२३ मा एआई प्रविधिलाई परिपक्व भएको कुरा सबै माझ छर्लङ्ग पारिदिएको छ ।
व्यवसायका लागि लगानीको प्रतिफल (आरओआई) दिने तहमा यो प्रविधि विकसित आएको छ । सामान्यतया पहिले जस्तो रमाइलोका लागि मात्र नभएर यो साच्चिकै सोलुसनको रूपमा प्रयोग गर्न मिल्ने तहमा विकसित भएको छ ।
जस्तै मिडिया क्षेत्रमा च्याटजीपीटीले लेख रचना सिर्जना गरिदिन सक्छ । अङ्ग्रेजीमा मात्र नभएर हिन्दी र नेपालीमा पनि यसले केही हदसम्म त्यस्तो काम गर्न सक्छ ।
कुनै पनि प्रविधि परिपक्व भएपछि ठूलो जनसङ्ख्याले त्यसलाई आत्मसाथ गर्न थाल्छ । त्यसै अनुरूप एआई पनि ठूलो दायरामा प्रयोग हुने चरणमा पुगेको छ ।
एआई टुलहरू आम मानिसको पहुँचमा आएको भएरै यो प्रविधि यति धेरै लोकप्रिय भएको होला । तर तपाईंको बुझाइमा ठूलो जनसङ्ख्यालाई प्रभावित पार्नसक्ने र निकै आशा गर्न सकिने एआई टुल कुन हो ?
अहिलेको लागि त च्याटजीपीटी नै हो । तर त्यसमा अहिले अटो जीपीटी भन्ने पनि आएको छ । अटोजीपीटीलाई प्रश्न सोध्न मात्र होइन कि अत्यन्तै उच्च स्तरका काममा लगाउन सकिन्छ ।
मलाई मेरो बच्चाको जन्मदिनको पार्टीको योजना बनाइ देऊ भनेर अटोजीपीटीलाई अह्राउने हो भने त्यसले केही प्रश्न सोधेर आवश्यक योजना बनाइदिन सक्छ ।
वर्तमान विश्वमा अहिले एआई तथा मसिन लर्निङ प्रविधि कहाँकहाँ कसरी प्रयोग भइरहेको छ ?
अहिले एआईको विकाससँगै दिन प्रतिदिन यसको प्रयोग बढ्दै गएको छ । बिक्री (सेल्स) कार्यमा एआईको प्रयोग भइरहेको छ । त्यसमा कुन ग्राहकले बढी खरिद गर्न सक्छ भन्ने कुरा एआईले पूर्वानुमान गर्न सक्छ ।
इन्भेन्ट्री (स्टक) व्यवस्थापनमा यसको प्रयोग हुन्छ । इन्भेन्ट्रीलाई कसरी अप्टिमाइज गर्ने, कति खाना किन्ने वा नकिन्ने, बिक्रीको प्रक्षेपण गरेर कति इन्भेन्ट्री कायम राख्ने भन्नेमा एआईको उपयोग भइरहेको छ ।
स्टक धेरै भयो र बिक्री कम छ भने व्यवसाय घाटामा जान्छ । त्यस्तै इन्भेन्ट्री कम भयो र बिक्री हुने सामान नै भएन भने पनि घाटा लाग्न सक्छ । त्यसैले यसमा उचित सन्तुलन ल्याउन बजार तथा बिक्रीको अनुमान जरुरी हुन्छ ।
त्यसैगरी ग्राहक सेवामा मान्छेको साटो एआईले कुरा गर्ने स्थिति छ । त्यसपछि मेडिकल क्षेत्रमा विशेषगरी रेडियोलोजिस्टलाई यसले थप सशक्त बनाइरहेको छ ।
अब एमआरआई, एक्स-रेहरू, क्यान्सर डिटेक्सन आदि कार्यमा एआई प्रयोग भइरहेको छ । त्यसपछि सेल्फ ड्राइभिङ कार गुडाउन यसको प्रयोग हुन थालेको छ । यसरी यो प्रविधिको प्रयोग सबैजसो क्षेत्रमा बढ्दै गइरहेको छ ।
फ्युज मसिनले तयार पारेका एआई प्रविधिको बारेमा पनि बताइदिनु होस् न ।
हामीले मिडिया कम्पनीमा सूचना दिने एआई एजेन्ट सिस्टम, गेमिङ कम्पनीमा मूल्य अनुमान गर्ने सिस्टम, मेडिकल क्षेत्रमा इन्प्लान्ट राख्ने तथा एक्स-रे हेरेर इन्प्लान्टको आकार अनुमान गर्ने सिस्टम, शिक्षा क्षेत्रका लागि फ्युज क्लासरूम आदि जस्ता एआई प्रविधि विकास गरेका छौं ।
फ्युज क्लासरूमा कुन विद्यार्थी कमजोर छ भन्ने कुराको रिपोर्ट शिक्षकलाई दिने सिस्टम, जाँचहरू दिँदा विशेष गरेर चिट गरेको छ/छैन भनेर पत्ता लगाउने प्रोक्टरिङ सिस्टम लगायतका फिचर छन् । प्रोक्टरिङ सिस्टममा कम्प्युटर भिजन प्रविधिले परीक्षार्थीले कहाँ हेरिरहेको छ भन्ने कुराको आधारमा चिटिङ पहिचान गर्ने काम गर्छ ।
हामीले अरू पनि काम गरिरहेका छौं । केही समय अगाडि कम्पनी भित्र एआई ह्याकाथन भएको थियो, त्यसबाट छनिएका आइडियामा पनि हामीले काम गरिरहेका छौं ।
हाम्रो कार्यालयमा ‘वर्क फ्रम होम’ र ‘वर्क फर्म अफिस’ दुवैको मिश्रित अभ्यास भइरहेको छ । यस्तोमा कति जना कार्यालय आए र कति जनाले घरबाटै काम गरिरहेका छन् भन्ने कुरा थाहा हुँदैन थियो ।
हामीले सेक्युरिटी क्यामेरा सिस्टमको फिडको आधारमा कुनकुन डेस्क खाली छन् भन्ने कुरा स्वचालित रूपमा रेकर्ड राखेर त्यसको जानकारी थाहा पाउन सकिने सिस्टम विकास गरेका छौं ।
त्यस्तै प्याटर्न राइटर सिस्टम भन्ने पनि छ । यो भनेको अनुसन्धानबाट प्याटर्न निकाल्ने सिस्टम हो । यसरी एआई ह्याकाथनबाट आएका आइडियालाई पनि हामी उत्पादन तर्फ विकसित गर्दै लगिरहेका छौं ।
पछिल्लो समय एआईको प्रयोगलाई लिएर केही नैतिक प्रश्न पनि उठ्न थालेका छन् । यसलाई नियमन गर्नुपर्ने विषयमा तपाईंको धारणा के छ ?
एआईका कतिपय राम्रा कुरा छन् र कतिपय नराम्रा पनि छन् । त्यसमध्ये डिपफेक एउटा समस्या हो । डिप फेकका कारण सामाजिक सञ्जालमा गलत सूचनाहरू प्रसारण हुन सक्छन्, जसले गर्दा व्यक्ति, समूह र देशलाई नै नराम्रो असर पार्न सक्छन् ।
त्यस्ता सामग्रीलाई कसरी पहिचान गर्ने भन्ने विषयमा अनुसन्धान पनि भइरहेको छ । एआई सिस्टमलाई जस्तो खालको डेटामा तालिम गरायो, त्यस्तै खालको पूर्वानुमान वा काम गर्छ । यस्तोमा पक्षपाती डेटामा प्रशिक्षित गराइयो भने त्यस्तै किसिमको पक्षपाती सिस्टम विकसित हुन्छ । त्यसैले यो विषय पनि सम्बोधन गर्नुपर्ने छ ।
एउटै एआई राम्रो पनि हुन्छ, नराम्रो पनि हुन्छ । जस्तै: औषधी र रगत पुर्याउने भनेर पाँच छ वर्ष अगाडि हामीले ड्रोन सिस्टम बनाएका थियौं । अब त्यसैबाट रुस र युक्रेन युद्धमा बम खसाल्न पनि सकिन्छ । त्यसैले एआई आफैंमा नराम्रो भन्ने हुँदैन । यो प्रयोग गर्ने कुरामा भर पर्छ ।
अहिले एआईलाई नियमन गर्ने नाममा विभिन्न कम्पनी तथा देशहरूले विभिन्न टुलमाथि प्रतिबन्ध लगाइरहेको सुनिन थालेको छ । यो सन्दर्भलाई कसरी हेर्ने ?
यसलाई अलि फरक हिसाबले लिनुपर्छ । जस्तै: हामीले कम्पनीमा च्याटजीपीटी प्रयोग गर्न पाइँदैन भन्दैनौं । तर कम्पनीको कुनै पनि डेटा च्याटजीपीटीमा राख्न चाहिँ पाइँदैन भन्छौं ।
केही समय अघि सामसङको प्रसंग आएको थियो । त्यसमा उनीहरूले च्याटजीपीटीमा आफ्नो कम्पनीको प्रोप्राइटरी कोड पेस्ट गरेर ‘यसमा के समस्या छ ?’ भनेर सोधेका थिए ।
एउटा इन्टरप्राइजको रूपमा त्यो सामसङको बौद्धिक सम्पत्ति थियो । च्याटजीपीटीमा पेस्ट गरेपछि त्यो च्याटजीपीटीको भयो । यसरी त्यो अरु कम्पनीमा पनि गयो । त्यसैले यस्ता कुरालाई कसरी सम्बोधन गर्ने भनेर नियमहरू बनाउनु पर्छ ।
एआईको गलत प्रयोग सबैभन्दा ठूलो डरलाग्दो विषय हो । एआई एउटा टुल हो, उक्त टुललाई कसरी प्रयोग गर्ने भन्ने कुरा हुन्छ । उदाहरणको लागि चक्कु तरकारी काट्न पनि प्रयोग गर्न सकिन्छ र कसैको हत्या गर्न पनि ।
मेरो विचारमा एआईलाई यस्तै किसिमले हेर्नु पर्छ । अवश्य पनि यसलाई प्रयोग गर्न नियम कानून चाहिन्छ । ताकी यसको गलत प्रयोग हुन नपाओस् । साथै गलत प्रयोग हुँदा त्यसबाट सुरक्षा दिने वा जोगिने माध्यम पनि चाहिन्छ । जसले मानिसलाई कुनै पनि हानी पुर्याउन नदेओस् ।
जस्तैः नयाँनयाँ गाडी हरू विकसित हुँदै गए । स्पिड पन बढ्दै गयो । आकारमा पनि गाडीहरू ठूला हुँदै गए । सँगैसँगै नयाँनयाँ नियम पनि आए । निश्चित वातावरणमा गाडीको इफिसेन्सीको कुरा हुन्छ । बीमा चाहिने भयो । क्रयाश टेस्टको आवश्यकता पर्यो । यस्तै अन्य कुराको जरुरत होला ।
त्यस्तै एआईमा पनि टुलहरू प्रयोग हुँदा त्यहाँ नीति र सुरक्षाका प्रबन्ध आवश्यक पर्छन् । ताकि मानिसहरू समस्यामा नपरून् । चाहे त्यो प्रयोगकर्ताको हकमा होस् वा प्रयोग नगर्नेको विषय नै किन होस् ।
मसिनलाई दया, माया र नैतिकता जस्ता भावनाका कुराहरू सिकाउन कत्तिको सम्भव होला ?
अहिलेसम्म इमोसनल इन्टेलिजेन्समा राम्ररी अनुसन्धान भइसकेको छैन । च्याटजीपीटी आउँदा न्यु योर्क टाइम्सको एउटा आर्टिकल भाइरल भएको थियो ।
न्यु योर्क टाइम्सका एक पत्रकारले लगातार तीन घण्टा कुरा गर्दा उनलाई एआईले मन पराएको बताएका थिए । अब त्यसलाई इमोसनल इन्टेलिजेन्सको एउटा स्तर देखाएको भन्ने कि एआईले मान्छेसँग प्रेम अथवा संवेग बारे कुरा गर्दाको अर्को स्तर भन्ने !
तर यसको अर्थ मसिनले केही अनुभव गर्छ भन्ने होइन । उसका लागि त अर्को जवाफमा कुन शब्द प्रयोग गर्दा सही हुन्छ भन्ने मात्र हुन्छ । तर प्रतिक्रिया दिने तरिका यस्तो भएको छ कि, जसले गर्दा मानिसलाई इमोसनल इन्टेलिजेन्स जस्तो लाग्न सक्छ । तर मसिनले केही अनुभव भने गर्दैन ।
भविष्यमा एआईले आफैं नयाँ किसिमको एआई अथवा कुनै रोबोट बनाउने सम्भावना चाहिं कत्तिको देख्नु हुन्छ ?
त्यो सम्भावना भने छ । फ्युज मसिनले पनि त्यसमा अलिअलि काम गरिरहेको छ । अहिले हामीले इन्जिनियरहरूलाई सहयोग गर्ने एआई सिस्टम बनाइरहेका छौं । तर इन्जिनियरहरूलाई हटाउनका लागि भने यो काम गर्न खोजेको होइन ।
एआई सिस्टमले एआईका लागि स्केलेटन कोड तयार पार्न सक्छ कि भनेर काम भइरहेको छ । जसमा एआईले नै एआई बनाउँछ । त्यसैले एआई सिस्टमले नै एआई बनाउन सक्ने विचार विस्तारै सम्भाव्य हुँदै गइरहेको छ । भविष्यमा यो कुरा सम्भव हुन्छ भनिए पनि केही हदसम्म यो कुरा अहिले पनि सम्भव छ ।
यस्तोमा क्रियटरको आशय र उद्देश्यभन्दा फरक हुने गरी एआईले आफैं आफ्नो प्रोग्रामिङ कोड पुनर्लेखन गर्ने वा परिवर्तन गर्ने अवस्था आयो भने के होला ?
यो कुरा अहिले नै सम्भव नहोला । किनभने एआईले एआई नै बनाउने भन्यौं । तर एआई सिस्टमलाई यो कोठामा भएको मान्छेको सङ्ख्या गणना गर्ने एआई सिस्टमको कोड लेख भने लेख्न सक्छ ।
अथवा एक्सिलेरेसन कोड लेख्न सक्छ । तर त्यो सिस्टमले निश्चित अङ्क नभनिकन मान्छेको सङ्ख्या गन्न भने थाल्दैन । तर एआई सिस्टमले नै ‘ल कोड अपडेड गर, कुर्सी सङ्ख्या पनि गन’ भनेर भन्यो भने गर्न सक्ला ।
यस्तोमा एआई सिस्टमले एआई सिस्टम लेख्न सक्छ । मान्छेले दिएको सल्लाह, सुझाव र आदेश नहेरिकन ‘सबैलाई यो कोठा भित्र बन्द गर भन्ने खालको कोड लेख’ भन्ने त नहोला !
अहिले ठूलाठूला प्रविधि कम्पनीहरूले हजारौं कर्मचारी निकाल्ने अवस्थाको पछाडि एआई जस्तो प्रविधिको हात छ कि छैन होला ?
ठूलठूला कम्पनीले कर्मचारी निष्कासन गर्नुमा एआईको सम्बन्ध छैन । युरोपको आर्थिक मन्दीका कारण त्यसो भएको हो । कोभिडमा सबैभन्दा धेरै फाइदा गर्ने भनेकै प्रविधि कम्पनीहरू थिए ।
किनभने त्यतिखेर सबै कुरा डिजिटल भयो । जस्तै: जुमको शेयर मूल्य कहाँबाट कहाँ पुगेको थियो । तर अहिले निकै झरिसक्यो । यो एउटा मार्केट डाइनामिक्स मात्र हो ।
तर एआई र मसिन लर्निङ जस्ता प्रविधिले मानिसको रोजगार खोसिरहेको र यो क्रम अझ तीव्र हुने कुराहरू आइरहेका छन् । तपाईंको विचारमा प्रविधिले गर्दा कुनकुन रोजगारी बढी खतरामा देख्नु हुन्छ ?
एआईले रोजगारी दिन्छ कि लिन्छ ? जे भए पनि यसले गर्दा केही मानिसहरूले रोजगारी गुमाउँछन् । विशेष गरी एकदम दोहोरि रहने काम विस्थापित हुन सक्छन् ।
जस्तैः रिसेप्सनमा फोन उठाउने काम, कस्टमर सर्भिसमा सवाल जवाफ गर्ने काम आदि एआईले गर्न सक्छ । तर यसरी रोजगारबाट विस्थापित हुनेलाई कसरी नयाँ काम दिने र एआईको त्यो समस्याबाट बच्न कस्ता खालका सीप सिक्ने भनेर सोच्दा नयाँ खालका कामहरू पनि आइरहेका छन् ।
अहिले च्याटजीपीटीलाई कसरी प्रोम्ट गर्ने भनेर प्रोम्ट इन्जिनियरिङ भन्ने नयाँ काम आएको छ । एआईले केही हदसम्म जागिर खोस्ने कुरा सत्य हो । त्यसो भनिरहँदा पुराना जागिर खोसिए पनि प्रविधिका कारण नयाँ जागिर खुल्छन् ।
तर, जसको जागिर खोसिन्छ, उसलाई नयाँ सीप सिक्नु पर्ने हुन्छ । त्यसैले फ्युज मसिन आएको हो । हामी मात्र होइन, सबै जनाले जागिर खोसिनेहरूलाई एआई वा प्रविधिमा नै कसरी अतिरिक्त सीप दिलाउने भनेर लाग्नुपर्छ ।
नेपालले अहिले सामना गरिरहेका समस्या सम्बोधन गर्न एआई र मसिन लर्निङलाई प्रयोग गर्न सकिने सम्भावनाहरू कत्तिको छ ?
यसको सम्भावना धेरै छ । सबैभन्दा पहिलो शिक्षा क्षेत्र नै छ । अब त सबैलाई नयाँ एआई सिस्टम अर्थात् पर्सनलाइज्ड एआई चाहिएको छ । त्यो कसरी बनाउने ?
पर्सनलाइनज्ड एआईमार्फत ट्युटिङ/टिचिङ गर्न सकिन्छ । त्यसरी नेपाली विषय पर्सनलाइज्ड गरेर पढाउन सकिन्छ । परीक्षा दिने र जाँच्ने दुवै काम अटोमेटेड गर्न सकिन्छ ।
अर्को स्वास्थ्य क्षेत्रमा पनि एआई प्रयोग गर्न सकिन्छ । विशेष गरेर दुर्गम ठाउँहरूमा डाक्टर जान मान्दैनन् । सबै ठाउँमा रेडियोलोजिष्ट नहोलान् । त्यस्ता ठाउँमा बिरामीको रोग पहिचान गर्न एआई सिस्टम प्रयोग गरियो भने धेरैको जीवन बाँच्छ ।
कृषिमा पनि एआई प्रयोग गर्न सकिन्छ । जस्तो: ड्रोनबाट कुन बिरुवा बिरामी छ भनेर पत्ता लगाउन सकिन्छ । बैंकिङ क्षेत्रमा एआई प्रयोग गर्न सकिन्छ । अटोमेटेड केवाईसीदेखि लिएर अटोमेटेड लोन प्रिडेक्टिभ स्कोरसम्मका काम यसले गर्न सक्छ ।
लोन कसलाई दिने, कसलाई नदिने भन्ने कुरा स्वचालित गर्न सकिन्छ । यस्ता क्षेत्रहरू थुप्रै छन्, जहाँ एआई प्रयोग गर्न सकिन्छ ।
प्रदूषण कम गर्न कस्तो नीतिले कस्तो प्रभाव ल्याउन सक्छ भन्ने कुरामा एआईले सहयोग गर्न सक्ला । प्राकृतिक प्रकोप कत्तिको पूर्वानुमान गर्न सक्छ भनेर त्यति थाहा भएन ।
तर पाँच मिनेट अगाडि मात्रै भूकम्पको अनुमान एआईले गर्न सक्ने हो भने धेरैको जीवन बाँच्छ । नेपाल जस्तो देशमा त यो झन् उपयोगी हुन्छ । तर प्रकोप पछिको पुनर्स्थापनामा एआई धेरै नै प्रयोग हुनसक्छ । २०७२ को भूकम्पमा पनि ड्रोनहरू प्रयोग गरिएका थिए ।
एआई र मसिन लर्निङको क्षेत्रमा करियर सुरु गर्न चाहनेहरूलाई तपाईं के सुझाव दिन चाहनु हुन्छ ?
सबैभन्दा पहिला त आधारभूत सीप र सिद्धान्त पढ्नु पर्छ । मुख्य कुरा त शिक्षा नै हो । मसिन लर्निङ इन्जिनियर हुनलाई प्रोग्रामिङ सँगसँगै गणित पनि चाहिन्छ । गणितमा स्टाटिस्टिक, क्यालकुलस, अल्जेब्रा, प्रोब्याब्लिटी जान्नु पर्छ ।
प्रोग्रामिङमा केहीले पाइथन सिक्छ भने केहीले जाभा । तर एउटा प्रोग्रामिङ ल्याङवेज र गणितको आधारभूत ज्ञान भयो भने मसिन लर्निङ इन्जिनियर हुनलाई सजिलो हुन्छ ।
नेपालमा पनि अहिले केही कलेजले एआई कोर्ष सञ्चालनमा ल्याउन थालेका छन् । विश्वबजार र प्रविधि विकासको गतिलाई हेर्दा यो क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार पार्न केके कुरामा ध्यान दिनुपर्ला ?
कलेजहरूले साधारणतया सिद्धान्तमा मात्र होइन, वास्तविक जीवनमा नयाँ कुराहरू कसरी बनाउने भन्ने पनि सिकाउनु पर्छ । यसका लागि उद्योगसँग सहकार्य गरी तालिम दिने कुरामा कलेजले ध्यान दिनुपर्छ ।
मलाई लाग्छ, नेपाल र दक्षिण एसियामा सिद्धान्त मात्र पढाउने कुरा उस्तै छ । सिद्धान्त सिकाए पनि वास्तिविक जीवनमा हुने त्यसको प्रयोगबारे ज्ञान दिन उद्योगसँग सहकार्य गरेको देखिँदैन ।
एआईका कतिपय कुरा उद्योगमा भर पर्ने हुन्छन् । उद्योगसँग डेटा हुन्छ, शिक्षण संस्थासँग त्यसको पहुँच हुँदैन । त्यस हिसाबले शिक्षण संस्थाले उद्योगसँग सहकार्य गरेर पाठ्यक्रम पनि त्यसै अनुसार अपडेट गर्ने हो भने मेरो विचारमा राम्रो हुन्छ ।
फ्युज मसिनले यसका लागि कसैसँग सहकार्य गरेको छ ?
हामीले काठमाडौं विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक) सँग इन्टर्नशिपका लागि सहकार्य गरेका छौं ।