close

कस्ता विद्यार्थीले पढ्ने काठमाडौं विश्वविद्यालयको ‘बी टेक एड ईन आईटी’ ?

टेकपाना टेकपाना

असार ४, २०८० १७:२८

कस्ता विद्यार्थीले पढ्ने काठमाडौं विश्वविद्यालयको ‘बी टेक एड ईन आईटी’ ?

काठमाडौं । स्नातक तहमा सूचना प्रविधिको विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि विभिन्न विकल्प छन् । यसमध्ये काठमाडौं विश्वविद्यालयको ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फरमेसन टेक्नोलोजी (बी टेक एड इन आईटी) पनि एक हो ।

विश्वविद्यालयले हालै यस विषयमा भर्ना खुला गरेको छ । यही सन्दर्भमा यो कस्तो कोर्ष हो, किन यो कोर्ष पढ्ने, कोर्षको अध्ययनपछिको भविष्य, शुल्क/कोटा आदि विषयबारे आज चर्चा गर्दै छौँ:

कस्तो कोर्ष हो ?

केयूको यो कोर्ष ‘स्कुल अफ एजुकेसन’को स्टिम एजुकेसन विभाग अन्तर्गत राखिएको छ । यो चार वर्षे (आठ सेमेस्टर) १३६ क्रेडिट आवरको कोर्ष हो । यसमा प्राविधिक तथा व्यावसायिक शिक्षा (टीभेट - TVET)मा आवश्यक पर्ने शिक्षक, प्रशिक्षक अभाव पूरा गर्नु यस कोर्षको उद्देश्य रहेको छ । 

प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायक संस्थामा शिक्षक, प्रशिक्षक आदिको अभाव देखिन्छ । तर त्यस्ता जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम भने छैनन् । यही सन्दर्भमा केयूले यो कोर्ष सञ्चालन गरेको यस कार्यक्रमका संयाेजक नेत्र कुमार मानन्धर बताउँछन् । विश्वविद्यालयले गत वर्ष (२०२२) देखि मात्रै यो कोर्ष सञ्चालनमा ल्याएको हो । 

सरल भाषामा बुझ्दा यो कोर्ष शिक्षा र आईटी कोर्षको मिश्रण भएको उनी बताउँछन् । यसले टीभेट क्षेत्रको जनशक्तिको माग पूरा गर्ने उनी सुनाउँछन् ।

“नेपालमा बजारमा यस प्रकारको जनशक्तिको ठूलो अभाव छ,” उनी भन्छन्, “नेपालमा यस प्रकारका जनशक्तिको ठूलो आवश्यकता छ । यस कोर्षले त्यस्ता जनशक्ति उत्पादन गर्छन् ।”

यस कोर्ष सञ्चालन गर्न  विभागले स्कुल अफ इन्जिनियरिङको ‘कम्प्युटर साइन्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभाग’सँग पनि सहकार्य रहेको छ । 

पाठ्यक्रम

कोर्षमा आईटीबाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पनि पाठ्यक्रम राखिएको छ, जसमा करिकुलम डेभलपमेन्ट, एजुकेसनल साइकोलोजी, टीभेट इकोसिस्टम इन नेपाल, डिजाइनिङ अकुपेसनल करिकुलम आदि विषय छन् ।

त्यस्तै आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई-लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत अन्य विषय पढ्नुपर्छ । त्यस्तै यस कोर्षमा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नशिप गर्नुपर्ने हुन्छ । 

विश्वविद्यालयले यस विषयमा कोर कोर्ष १८ क्रेडिट आवर, भोकेसनल पेडागोजिकल कोर्ष २० क्रेडिट, स्पेसलाइजेसन इन आईटी ८० क्रेडिट आवर  र इन्टर्नशिप तथा रिसर्च १८ क्रेडिट आवर बराबर तोकेको छ ।  कोर्ष पूरा पाठ्यक्रम तलको तालिकामा दिइएको छ:

 

पढाइ पछिको भविष्य 

यो कोर्ष सञ्चालन गर्नुको उद्देश्य नै प्राविधिक तथा व्यावसायिक क्षेत्रका जनशक्ति उत्पादन गर्नु हो । यसकारण यस क्षेत्रमा हुने सबै कामहरू उत्तीर्ण विद्यार्थीले गर्ने क्षमता राख्छन् ।

त्यस्तै कोर्षमा आईटीका विभिन्न विषय पनि पढ्नुपर्ने भएकाले विद्यार्थीले यस क्षेत्रमा समेत करियर बनाउन सक्छन् । अध्ययनपछि विद्यार्थीले टीभेट सञ्चालन गर्ने, त्यहाँ तालिम प्रदान गर्ने जनशक्तिका रुपमा काम गर्न सक्छन् ।

कोर्ष अध्ययनपछि विद्यार्थीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यू ६) बराबर योग्यता पाउँछन् । यो पनि कोर्षको एक आकर्षण भएको प्रोग्राम कोर्डिनेटर मानन्धर  सुनाउँछन् । समग्रमा विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा निम्न काम गर्न सक्छन्:

-आईटी प्रोफेसनल 

-इन्स्ट्रक्टर

-टीभेट एजुकेटर

-टीभेट करिकुलम डेभलपर 

त्यस्तै यो कोर्षको अध्ययनपछि विद्यार्थीले स्नातकोत्तर तहमा विभिन्न आईटी प्रोग्राम, टीभेट, शिक्षा, सामाजिक विज्ञान आदि विषयको अध्ययन गर्न सक्छन् ।

कहाँ कहाँ हुन्छ पढाइ ?

प्राय: केन्द्रिय विभागमा मात्रै अध्यापन गराउने केयूले यस कोर्ष भने अन्य  कलेजहरूमा ‘एक्सटेन्डेड प्रोग्राम’का रुपमा सञ्चालन गरिरहेको छ ।

हाल केयूको यो कोर्ष सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) सिन्धुली, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) बुटवल र अस्पायर कलेज विराटनगरमा यो कोर्ष सञ्चालन भइरहेको छ ।

त्यस्तै यही शैक्षिक वर्षबाट जानकी कलेज फर प्रोफेसनल स्टडिज धनुषा र ललितपुरमा रहेको केन्द्रीय विभागमा समेत यो कोर्ष सञ्चालन हुने भएको छ । 

विद्यार्थी मूल्याङ्कन 

यस कोर्षमा सैद्धान्तिक विषयमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्कन हुन्छ । त्यस्तै प्रयोगात्मक विषयमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत बाह्य मूल्याङ्कन गरिन्छ । यद्यपि यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले पढ्दै काम गर्न सक्ने प्रोग्राम कोर्डिनेटर मानन्धर बताउँछन् ।

तर त्यो भने विद्यार्थी मूल्याङ्कन अन्तर्गत पर्दैन । “दोस्रो/तेस्रो सेमेस्टर पछि विद्यार्थीहरूले पढाइसँगै शिक्षण, प्रशिक्षण आदि क्षेत्रमा काम गर्न सक्छन्,” उनी अगाडि भन्छन्, “त्यसको व्यवस्था विश्वविद्यालय तथा कलेजले मिलाउने गर्छ । यसो हुँदा उनीहरूले आय पनि गर्न सक्छन् ।”

भर्ना योग्यता 

यस कोर्षमा १२ कक्षा अथवा सीटीईभीटीबाट डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना गर्न सक्छन् । यस कोर्षमा जुनसुकै सङ्काय अध्ययन गरेका विद्यार्थीले भर्ना लिन पाउँछन् । यो एक ओपन स्ट्रिम विषय हो ।

तर कक्षा १२ मा सबै विषयमा 'डी प्लस', १.८ सीजीपीए अथवा ‘सेकेन्ड डिभिजन’ ल्याएको हुनु पर्छ । तर विद्यार्थीमा आईटीको आधारभूत सीप भइदिए राम्रो हुने शिक्षकहरू बताउँछन् ।

कोटा र शुल्क 

यस विषय पढाइ हुने कलेज अनुसार कोटा फरक-फरक छ । तर सिन्धुलीको एससीटीआईमा विद्यार्थी कोटा १५ र बाँकी कलेजमा ३० तोकिएको छ । त्यस्तै यस कोर्षको शुल्क भने पाँच लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० १७:२८