close

युद्ध सम्बन्धी भ्रामक सामग्री नहटाएको भन्दै टेलिग्राम र भाइबरलाई रुसको कारबाही

टेकपाना टेकपाना

असार ९, २०८० ९:३३

युद्ध सम्बन्धी भ्रामक सामग्री नहटाएको भन्दै टेलिग्राम र भाइबरलाई रुसको कारबाही

काठमाडौं । मेसेजिङ एप टेलिग्राम र भाइबरले युद्ध सम्बन्धी गैरकानूनी सामग्रीहरू हटाउन नसकेको भन्दै रुसले कारबाही गर्ने घोषणा गरेको छ । मंगलबार मस्कोस्थित अदालतले यी दुई कम्पनीलाई कारबाही स्वरुप जरिवाना तिराउने निर्णय गरेको हाे ।

अदालतले टेलिग्रामलाई ४० लाख रुबल र भाइबरलाई १० लाख रुबल जरिवाना तिराउने घोषणा गरेको छ । सन् २०१३ देखि सञ्चालनमा रहेको टेलिग्राम रुसमा अत्यधिक मात्रामा प्रयोग हुने मेसेजिङ एप हो । रुसको रक्षा मन्त्रालयदेखि लिएर पत्रकार, प्रतिपक्षी, अभियन्ता लगायत सबैले टेलिग्राम प्रयोग गर्छन् । 

यसरी सरकारीदेखि गैरसरकारी संस्था तथा व्यक्तित्व जोडिएको टेलिग्राममा रुसी सेनाको विषयमा गलत समाचार फैलाउने च्यानलहरू बन्द नगरेको भन्दै कम्पनीलाई कारबाही गर्ने निर्णय भएको हो ।

टेलिग्रामका ३२ च्यानलमा 'युक्रेनमा रुसको विशेष सैन्य अपरेशन' शीर्षकमा भ्रामक समाचार फैलाइएकोले उक्त च्यानल बन्द गर्न रुसी सरकारले टेलिग्रामलाई निर्देशन दिएको थियो । तर टेलिग्राममले यो निर्देशन मान्न अस्वीकार गरेपछि कारबाही भोग्नु परेको हो ।

पछिल्लो समयमा रुसले सञ्चार माध्यमहरूमाथि निगरानी बढाएको छ । युक्रेनसँगको युद्ध चक्रिएसँगै रुसी सरकारले मिडियामाथिको निगरानीमा कडाई गरेको हो । 

पछिल्लो अध्यावधिक: असार ९, २०८० ९:३९