close

अब नेपाली रुपैयाँमै फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्न पाइने, सरकारलाई १३ प्रतिशत कर

टेकपाना टेकपाना

असार १०, २०८० १८:२१

अब नेपाली रुपैयाँमै फेसबुक र इन्स्टाग्राममा विज्ञापन गर्न पाइने, सरकारलाई १३ प्रतिशत कर

काठमाडौं । अब मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायतका प्लेटफर्ममा नेपाली रुपैयाँमै विज्ञापन गर्न पाइने भएको छ । एचटीटीपूल बाई अलेफ नामक मेटाको आधिकारिब बिक्री साझेदारले यस्तो व्यवस्था मिलाएको हो । 

एचटीटीपूल नेपाल सहित विभिन्न १८ ओटा देशमा मेटाको आधिकारिक बिक्री साझेदारको रूपमा रहेको छ ।  केही दिन अघि मात्र कम्पनीले काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रम आयोजना गरेको थियो ।

“नेपाली मुद्रामै फेसबुक विज्ञापन गर्न सकिने र सोही आधारमा बिल जारी गर्न सकिनेछ,” अलेफले भनेको छ, “यसले विज्ञापनदताको वित्तीय कारोबारलाई मूलधारमा ल्याउने विश्वास गरिएको छ ।”

यससँगै औपचारिक र राष्ट्रिय भाषामा समेत मेटाको विज्ञापन सपोर्ट समेत पाउन सकिने बताइएको छ ।

एसिया प्रशान्त क्षेत्रका लागि एचटीटीपूल बाई अलेफका प्रबन्ध निर्देशक सन्नि नागपोलले नेपालका लागि आधिकारिक बिक्री साझेदारको रूपमा विज्ञापन दाताका लागि स्थानीय बजार केन्द्रित सपोर्ट र  परामर्श सेवा उपलब्ध गराउने बताए । 

“बजारमा रहेका सबै विज्ञापनदातालाई मेटाका प्लेटफर्म सँग सम्बन्धित नयाँ सीप सिक्नका लागि यो क्षेत्रमा वर्कशप तथा तालिम उपलब्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं,” उनले भनेका छन् ।

यसरी गर्न सकिनेछ नेपाली रुपैयाँमै फेसबुकको विज्ञापन अलेफले नेपाली डिजिटल भुक्तानीका माध्यम जस्तै वालेट, मोबाइल बैंकिङ आदि मार्फत भुक्तानी लिएर विनिमय दर अनुसार हुन आउने अमेरिकी डलर बराबरको एउटा क्रेडिट अकाउन्ट उपलब्ध गराउनेछ ।

सोही क्रेडिटलाई मेटाका प्लेटफर्ममा विज्ञापनका लागि खर्च गर्न सकिने बताइएको छ । त्यसमा १३ प्रतिशत भ्याट जोडिने अलेफले जनाएको छ । यसको अर्थ अब नेपाल सरकारले फेसबुक विज्ञापनमा १३ प्रतिशत भ्याट समेत प्राप्त गर्नेछ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १८:२१