close

समुद्रबाट यसरी बाहिर निकालियो टाइटानिक हेर्न जाँदा दुर्घटनामा परेको पनडुब्बी (भिडिओ सहित)

टेकपाना टेकपाना

असार १५, २०८० १०:२२

समुद्रबाट यसरी बाहिर निकालियो टाइटानिक हेर्न जाँदा दुर्घटनामा परेको पनडुब्बी (भिडिओ सहित)

काठमाडौं । गत आइतबार एट्लान्टिक महासागरमा बेपत्ता भएको टाइटन पनडुब्बीको भग्नावशेष पानी बाहिर ल्याइएको छ । अमेरिकी तट रक्षकले एक विज्ञप्ति जारी गर्दै बुधबार पनडुब्बीको भग्नावशेष बाहिर ल्याइएको जानकारी दिएको हो । 

सय वर्षअघि दुर्घटनामा परेको विशाल टाइटानिक जहाजको भग्नावशेष हेर्न गत आइतबार (१८ जुन) पाँच जना यात्रुसहितको पनडुब्बीले यात्रा थालेको थियो । त्यसको एक घण्टा ४५ मिनेटमै सम्पर्क बिहिन बनेको थियो ।

अमेरिका र क्यानेडाका  तटरक्षक सेना तथा उद्धारकर्ताले लगत्तै त्यसको खोजी कार्य सुरु गरेका थिए । खोजी कार्य सुरु भएको पाँचौं दिनमा पनडुब्बीको टुक्रा फेला परेपछि खोजीकार्य स्थगित गरी यात्रुको निधन भएको घोषणा गरिएको थियो ।

पनडुब्बीको भग्नावशेष फेला पार्न पानीभित्र रिमोट्ली अपरेटेड भेहिकल (आरओभी) पठाइएको थियो । उक्त आरओभीले फेला पारेको भग्नावशेष बुधबार बाहिर निकालिएको हो ।

तट रक्षकका अनुसार हालसम्म टाइटानिकको भग्नावशेष भएको ठाउँबाट १६०० फिट टाढा पनडुब्बीका पाँच ओटा ठूला टुक्राहरू भेटिएका छन् ।

सो पनडुब्बीको भग्नावशेषभित्र मानव अवशेष रहेको समेत बताइएको छ । ती मानव अवशेष अमेरिकी स्वास्थ्यकर्मीले विश्लेषण गर्ने विज्ञप्तिमा भनिएको छ । 

हाल सो घटनाको प्रारम्भिक अनुसन्धान भइरहेकाले त्यसबारे सम्पूर्ण जानकारी बाहिर आइसकेको छैन । फेला परेका प्रमाणहरू तट रक्षकको मरिन बोर्ड अफ इन्भेस्टिगेसन (एमबीआई) ले थप विश्लेषण र परीक्षणका लागि अमेरिकी बन्दरगाहमा पठाउने तयारी गरेको छ ।

एमबीआईका अध्यक्ष क्याप्टेन जेसन न्युबाउरले एक विज्ञप्तिमा भनेका छन्, “टाइटनको विनाशकारी क्षतिको कारणहरू बुझ्न र यस्तै त्रासदी फेरि दोहोरिन नदिने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी छ ।”

पनडुब्बीमा पाकिस्तानी मूलका ४८ वर्षीय ब्रिटिश धनाढ्य दाउद शाहजादा र उनका १९ वर्षीय छोरा सुलेमान, ५८ वर्षीय  बेलायती अर्बपति हमिश हार्डिङ, ७७ वर्षीय अन्वेषक पल-हेन्री नार्गेओ र टाइटानिकसम्मको यात्रा गराउने ओसनगेट कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ) ६१ वर्षीय स्टक्टन रश सवार थिए । 

सम्बन्धित समाचारः

टाइटानिक जहाजको भग्नावशेष हेर्न समुद्रको १२,५०० फिट गहिराइमा गएका पाँचै यात्रुको मृत्यु

डराउँदा डराउँदै बुबाको खुसीकै लागि समुद्र मुनीको यात्रामा गएका थिए १९ वर्षीय किशोर

‘टाइटनिक हेर्न जाँदा बेपत्ता भएको पनडुब्बी ३० डलरको गेमिङ कन्ट्रोलरबाट चलेको थियो’

टाइटानिक हेर्न जाँदा डुबेको पनडुब्बी यात्राका लागि आमन्त्रित थिए मिस्टर बिस्ट, भाग्यले बाँचे

अनुसन्धानमा यस्तो देखियो टाइटानिक हेर्न समुद्रमुनि गएको पनडुब्बी दुर्घटनाको कारण

शताब्दीअघि १५०० को मृत्यु हुनेगरी डुबेको टाइटानिकले यसरी लियो थप ५ जनाको ज्यान


 

पछिल्लो अध्यावधिक: असार १५, २०८० १०:२२