काठमाडौं । २०२३ को दोस्रो त्रैमासिकमा विद्युतीय कार निर्माता टेस्लाले चार लाख ६६ हजार १४० युनिट कार बिक्री गरेको छ । कम्पनीले प्रतिद्वन्द्वी उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न अमेरिका, बेलायत, चीनलगायतका बजारमा मूल्य घटाएपछि तीन महिनाको अवधिमा उक्त सङ्ख्यामा कार बिक्री गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकका बिक्री हुने टेस्ला कारको सङ्ख्या १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले दोस्रो त्रैमासिकमा चार लाख ७९ हजार ७०० युनिट उत्पादन गरेको थियो ।
विश्लेषकहरूले यो अवधिमा चार लाख ४५ हजार युनिट टेस्ला गाडी बिक्री हुने अपेक्षा गरेका थिए । कम्तीमा चार लाख ३९ हजार ८७५ युनिट र बढीमा चार लाख ५० हजार युनिट बिक्री हुने अनुमान लगाएका थिए ।
गत वर्ष पहिलो त्रैमासिकमा टेस्लाले दुई लाख ५४ हजार ६९५ युनिट डेलिभरी गरेको थियो ।
यता २०२३ को पहिलो त्रैमासिकमा कम्पनीले चार लाख २२ हजार ८७५ युनिट डेलिभरी भएका थिए । त्यस्तै २०२२ को दोस्रो त्रैमासिकमा कम्पनीले दुई लाख ५८ हजार ५८० युनिट डेलिभरी गरेको थियो । कम्पनीले यो वर्ष १८ लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ ।